व्रत : आत्माको शुद्धीकरण

मोहनप्रसाद सापकोटा

नारी (प्रकृति) र पुरुषको महत्व, शक्ति र अधिकारका बारेमा उदाहरण दिएर लेख तन्काउन आवश्यक छैन । तर, यी दुईका कर्तव्य र उत्तरदायित्व फरक छन्, यी दुईका कर्तव्य र उत्तरदायित्व पनि समान छन् वा हुनुपर्दछ भन्ने सोचका धर्म विगतमा जन्मिँदै लोप हुँदै गए । अहिले पनि जन्मँदै र बिलाउँदै छन्, भविष्यमा पनि जन्मने र लोप हुने क्रम चलिरहनेछ ।

शरीर शुद्ध पार्न व्रत बसिन्न । नित्यकर्मबाट नै शरीर शुद्ध हुन्छ । व्रतको प्रमुख उद्देश्य आत्माको शुद्धीकरण गर्नु हो । आत्मा शुद्ध भएपछि मानिसका भावना र विचारमा शुद्धता आउँदछ भनिएको छ । ३ सय ६४ दिन पशुलाई गर्नेजस्तो व्यवहार गरेर एक दिन पति, पत्नी, पुत्र, पुत्री आदिका लागि पानी पनि नपिई कुनै व्रत बस्नु भनेर कतै लेखिएको आजसम्म मैले पाउन सकेको छैन । सोचमा शुद्धता लेराउन वा भएको शुद्धतालाई टिकाउन व्रत बसिन्छ । सोच यथावत् राख्नेले शरीर सुकाएर केही पनि लाभ हुँदैन । जानी नजानी जेजति गल्ती गरिएका हुन्छन् त्यसको असर मत्थर पार्न व्रत बसिन्छन् अर्थात् धार्मिक भाषामा पाप कटाउन व्रत बसिन्छन् । व्रत बसेका भोलिपल्टदेखि फेरी जस्ताको तस्तै गलत आदतमा चल्ने हो भने व्रत नबसे पनि हुन्छ ।

कसैका लागि कुनै प्रयोजनका लागि गरिने व्रत वा उपवासमा अन्तरआत्माले त्यसलाई समर्थन गरिरहेको छैन भने त्यो व्रतको उल्टो फल मिल्दछ । यसैले लोकाकृति बुझाउन वा देखाउन व्रत, उपवास नबसियोस्, धर्म आदि नगरियोस् । पाप कटाउन वा निश्चित उद्देश्य प्राप्तिका लागि संकल्प गरी बसिने व्रत बाहेक आत्मा शुद्धिका लागि वा सबैको कल्याणका लागि बसिने सबै व्रत यसले लिनहुन्छ र यसले लिन हुँदैन भनिएको छैन । चाहना छ तर शरीरले साथ दिँदैन भने यसमा पनि शास्त्रले वैकल्पिक व्यवस्थाहरू गरेको छ । सक्षम व्यक्तिलाई व्रत बस्न लगाउनु, आत्मव्रत (मन शुद्ध पारेर भगवानको नाम जपेर बस्नु) गर्नु आदि जस्ता विकल्पका कुरा गरिएका छन् ।

फेरि पनि अनुरोध गर्न चाहेँ, आफूभित्र भएको गलत सोच र आदत व्रत–अवधि भर मात्र भए पनि त्याग्न सकिन्न भने बिन्ती छ व्रत, उपवास नबस्नुहोस् । यसले उल्टो असर गर्दछ । ईश्वरले त्यो कुरा मात्र सुन्नुहुन्छ जे कुरा तपाईंको मनले सोचिरहेको हुन्छ, तपाईंको नश्वर शरीरले के कसरी कति खर्च गरेर र के धर्मकर्म गरिरहेको छ त्यो महत्वपूर्ण कुरो हुँदैन । जसका लागि व्रत बसिएको भनिन्छ उसैलाई सराप्दै, उसैलाई घृणा गर्दै, उसैलाई ऋणमा डुबाउँदै तथा उसैलाई दुःख दिँदै भोलिपल्टदेखि आफू थला पर्ने गरी व्रत उपवास गर्नुपर्दछ, यस्तो अभिप्रायले बसिने कुनै व्रतको वर्णन मैलेचाहीँ कतै पाउन सकिरहेको छैन ।

एकादशी र व्रत

‘मोटरसाइकल खोई त ?’, ‘सर्भिसिङमा दिएर आएको छु ।’ ‘कारको इञ्जिनबाट अर्कै आवाज आइरहेछ सर्भिसिङ गर्ने बेला भएजस्तो छ ।’ आफू चढ्ने वाहन आदिका विषयमा खुब ख्याल गर्ने मानिस जतिखेर पनि आफ्नै इञ्जिनलाई भने ओभरलोड गरेर बसिरहेको हुन्छ । जतिखेर पनि पचाउन कठिन हुने खालका खानपिन गरेर बसिरहेको हुन्छ ।

अर्थतन्त्रको दृष्टिले त यो ठिक छ । घरैपिच्छे भट्टी छन्, मासु पसल छ, औषधि पसल पनि छन् । टोलैपिच्छे विभिन्न तालका अस्पताल छन् । अर्थतन्त्रका दृष्टिले यो विकास हो । सबैले पैसा खेलाउन र जीवन गुजारा गर्न पाएका छन् । मन लागेको कुरा खान्छ पिउँछ, बिरामी हुन्छ, औषधि किन्छ खान्छ, नभए अस्पताल जान्छ । फेरि अलि ठिक हुन्छ अनि फेरी भट्टी, होटलतिर छिर्दछ, फेरी बिरामी हुन्छ अनि फेरी त्यही क्रम दोहोरिन्छ । यसले अर्थतन्त्र खुब चलायमान हुन्छ ।

तर, समाजशास्त्रका दृष्टिले यो गलत हुन्छ । विश्वमा हामीजस्तै धेरै विद्वान भएका एकाध देशबाहेक कुनै पनि विकसित वा विकासोन्मुख देशमा यस्तो पारा देखिन्न । अर्थात् फुटपाथे होटल बढ्नु, भट्टीपसल बढ्नु, औषधि पसल बढ्नु, डाक्टर बढ्नु, अस्पताल बढ्नु भनेको विकास हुनु होइन । यो भनेको त तस्करहरूले रोगी बढाएर तस्करतन्त्र चलाउनु मात्र हो ।

व्रतका अनेक विधि छन् । व्रत दुई किसिमको हुन्छ एउटा शरीरका लागि बस्ने र अर्को धर्मका लागि बस्ने । पापको प्रायश्चितका लागि बसिने चान्द्रायण आदि तेस्रो थरीका व्रतहरू पनि धेरै किसिमका छन् । म धर्म र प्रायश्चित व्रतका बारेमा नभई शरीरका लागि बस्ने व्रतका बारेमा आयुर्वेदका केही विचारहरूको सार पस्कन चाहन्छु ।

मानिसमा हुने बलको आधार भनेकै शरीरभित्र रहेको अग्नि हो । जबसम्म खाएपिएको कुरा राम्ररी पचेर शरीरबाट नियमित रूपमा विनाअवरोध मल, मूत्र आदि बाहिर जान्छ, जबसम्म खाएपिएको कुरा पचेर बन्ने रस पच्ने क्रम राम्ररी चल्दछ तबसम्म कुनै पनि रोग शरीरमा लाग्दैन । मलमूत्र आदि विसर्जन गर्दा वा खानपिन पच्दा कुनै समस्या देखिए यसको उपचार गरी हाल्नुपर्दछ । उपचारका विभिन्न विधिमध्येको एउटा विधि हो उपवास बस्नु वा बस्न लगाउनू । खाएको कुरा नपची निस्कन्छ भने त सबैले उपवासलाई उपचारको पहिलो विधि बताएका छन् । तर, हामी त जिभ्राका बसमा हुन्छौँ त्यसैले जबरजस्ती औषधि खाएर भए पनि सेकुवा, मःमः र बियर खान पुग्दछौँ । यसले हामीलाई ठिक भएको भान मात्र दिन्छ तर अग्निको प्राकृतिक पन निष्क्रिय हुन थाल्दछ । ‘म किन पचाउनु, औषधि खाएर पचाइहाल्दछ नि’ भन्दै अग्नि उदासीन हुन थाल्दछ । रोग जन्मने प्रमुख कारण नै यही हो ।

शरीरका लागि बसिने व्रतमा नियमित र पचाउन कठिन हुने खालका खानपिन मात्र बन्द गर्नुपर्ने विधान छ । यतिखेर गेडागुडीका कपडछान गरिएका अरू केही पनि नहालिएका रस, फलफूलका रस र पानी (तातो वा चिसो) खानु नै भनिएको छ । अझ कुनै दैवी पात्रले बसे जसरी एक थोपा पानी पनि नपिई व्रत बस्नु भन्दछ भने त्यसलाई जीवहत्याको पाप लाग्दछसमेत भनिएको छ । अर्थात् मानवलाई कुनै पनि निहुँमा पानी पिउनबाट वञ्चित गर्नु हुन्न, हुन्न, हुन्न भनेर जोड दिइएको छ ।

त्यसो भए धर्मका लागि बसिने व्रतमा पानी पनि नपिई व्रत बस्नु भनेको के हो त ? यो भनेको सहजै बुझिन्न । बुझाउन कोशिस गर्दछु । माटो, पानी, जल, हावा र तेज संसारका सबै कुरा यी पाँच तत्वभन्दा बेग्लै अर्को तत्वले बनेका हुँदैनन् । यी पाँचै तत्वमा पाँचै तत्वको गुण हुन्छ । अर्थात् माटोमा अरू चार तत्वका, पानीमा अरू चार तत्वका गुण हुन्छन् । साधना गरेर कुनै एक तत्वबाट बाँकी अरू चार तत्वको गुण लिन सक्नु भनेकै तपस्या गर्नु हो । यसमा सफलता प्राप्त गर्नु भनेकै सिद्धि प्राप्त गर्नु हो । हामीले बस्ने व्रत यी दुबै उद्देश्यसँग मेल खाएको देखिन्न । धर्म भए पनि ठिकै छ, धर्म हुन्छ भन्छन् क्यारे, नभए शरीरलाई फाइदा त होला नि, त्यसैले व्रत बसेको । यो भन्दा बाहेक कसैका मुखबाट पनि सुनिन्न ।

शरीरका लागि बसिने व्रतमा तीन दिन पचाउन कठिन हुने कुरा खान हुँदैन । व्रत बसिने अगिल्लो दिन, व्रत बस्ने दिन र व्रत बसेपछिको दिन । रातको १२ बजेसम्म गलगिद्ध हुने गरी खाने अनि छेर्दै भोलिपल्ट व्रत बसी टोपल्ने । यस्तो व्रतको विधान धार्मिक, प्रायश्चित र शारीरिक कुनै पनि दृष्टिले सही छैन ।

एकादशीको व्रत धार्मिक दृष्टिले बसिन्छ भने द्वादशीका दिन त्यसको पारायण वा विधिपूर्वक विसर्जन नगरी फल पाइन्न । तर, अपवादमा बाहेक विधिपूर्वक धार्मिक दृष्टिले एकादशीको व्रत बस्ने मानिस मैले देखेको छैन । यसैले कुनै पनि व्रत बस्ने गर्नु हुन्छ भने धार्मिक, प्रायश्चित वा शारीरिक के प्रयोजन लागि बस्ने हो त्यो सोची शरीरको अवस्थालाई ध्यान दिँदै विधिपूर्वक बस्ने गर्नुहोस् । दुई वटा डुंगामा गोडा टेकेर चाँडै नदी तरिन्छ भन्ने सोच मनमा नपाल्नुहोस् ।

जौ र ओट्स

‘आज व्रत के खाने ?’ यो प्रश्नको जवाफमा आजभोलि सहरिया जीवनमा प्राय ‘दूध र ओट्स’ भन्ने जवाफ सुन्न थालिएको छ । कतै जाँदा हल्का खाजा खान, बिहान नास्ता गर्न वा दिउँस खाजा खानसमेत ओट्सको प्रयोग गर्ने चलन बढेको छ । किन यो व्रतमा खान हुने बनाइयो ? अनि के हो त यो ओट्स ? के आयुर्वेदमा पनि यसका बारेमा लेखिएको छ त ? केही जानकारी सेयर गर्न अनुमति चाहान्छु ।

जौका मुख्य तीन जात हुन्छन् ः जौ, मुडुले जौ र तोक्य । जौका बारेमा बताइरहन परेन । धार्मिक र पितृकर्ममा जौ नभई हुँदैन । अत्यन्त लोकप्रिय भएको हर्लिक्समा समेत जौको प्रयोग गरिएको हुन्छ । मुडुले जौका पनि अनेक उपजात हुन्छन् । नेपालका उच्च हिमाली भेगमा पाइने उवालाई पनि मुडुले जौकै एक भेद बताइएको छ । आयुर्वेदले बताएको जौको तेस्रो जात ‘तोक्य’ नै ओट्स हो । व्रतका कारण र व्रत बस्ने विधि बेग्लै छन् । ती सबै कुरा पालना गर्न कलियुगका सामान्य गृहस्थीलाई सम्भव छैन । यसैले तोक्य वा ओट्सलाई जौजत्तिकै पवित्र मानी व्रत आदिमा खाने गरिएको हो ।

शरीर एवं आहारविहार

आफू बसेको भूगोलमा प्राकृतिक किसिमले जे जस्ता खान हुने कुरा उत्पन्न हुन्छन् त्यस्ता खाने कुरालाई प्राकृतिक सात्म्य खानेकुरा भनिन्छ । आफू बसेको भूगोलअनुसार शरीरले गर्ने बाहिरी क्रियाकलापलाई सात्म्य–विहार भनिन्छ । भूगोल तथा बिहान, दिउँस, बेलुका आदि समय अनि ऋतुअनुसार गरिने प्राकृतिक खानपिन र शारीरिक क्रियाकलाप सामान्यतः शरीरले सहने गर्दछ । शरीरले सहने खालका खानपिन र विहारलाई सात्म्य भनिन्छ । शरीरले सहने भन्नुको अर्थ आँखा, नाक आदि इन्द्रिय आफूलाई र अन्य इन्द्रियलाई असर नहुने गरी खुसी हुने अवस्था हो । जस्तैः खाना खानासाथ आनन्दसँग सुत्न मन लाग्ला तर यसलाई शरीरले सहनेजस्तो देखिए पनि सात्म्य भनिन्न किन कि यसले धेरै थरी रोगहरू जन्माउने गर्दछ ।
सात्म्यले शरीरलाई के असर गर्दछ त ? मानिसको आरोग्यता, प्रगति, सन्तुष्टि, इन्द्रियमा हुने भित्री प्रसन्नता, स्वरमा आउने उत्कृष्टता, शरीरको वर्णमा हुने उत्तमता, वीर्य एवं रजमा हुने श्रेष्ठता, दिमागको ग्रहण गर्ने क्षमता र सहवासकाल आदि समयमा हुने अलौकिक आनन्द आदि भाव उसले भोग गर्ने सात्म्य आहारविहारमा भर पर्दछ ।

यसैले उपलब्ध हुन्छ भन्दैमा पेट भर्नका लागि मात्र काम लाग्ने बेमौसमी कुरा, भूगोललाई नसुहाउने कुरा, समयलाई नसुहाउने कुरा, ऋतुलाई नसुहाउने कुरा खानपिन गर्र्ने बानी नबसाल्नु होस् । आफूविरुद्ध नजाँदासम्म आफ्ना सन्तानलाई पाल्ने जिम्मा पृथ्वीले लिएकी हुन्छिन् । यसैले उपभोग गर्दा उनले समय अनुसार दिने उपहारलाई उपेक्षा नगर्नुहोस् । मानिसमा जेजस्ता अप्राकृतिक परिवर्तन देखिन्छन् त्यसको प्रमुख कारण भनेकै उसले गर्ने आहारविहारमा हुने परिवर्तन हो । इन्द्रियको दास बनेर शरीरलाई सात्म्य नहुने कुरा जतिसुकै मिठो भए पनि खाने आदत नबसाउनुहोस् । तपाईंले खाने आहार र गर्ने विहार अनुसारकै वीर्य र रज बन्दछ अनि त्यही वीर्य र रजको सम्मिश्रणबाट सन्तान जन्मन्छन् । यसैले सन्तानको कुनै दुर्गुण देखिँदा तिनलाई गाली गर्नु अघि आफूले गर्ने गरेका आहारविहारका बारेमा सोच्ने गर्नुहोस् । कागती गेडा रोपेर उम्रिएको बोटमा सुन्तला कहिल्यै फल्दैन । (काश्यप संहिता)

खानपिनबारे के भन्दछ शास्त्र ?

(क) आफ्नो जुठो कसैलाई नदिनु, कसैको जुठो पनि नखानु । (ख) जन्मेदेखि नमर्दासम्म कुनै पनि उमेरका कुनै पनि व्यक्तिले कुनै पनि अवस्थामा कहिल्यै कोचीकोची नखानु । धेरै खाँदा त्यसलाई पचाउन आवश्यक पर्ने रस अनि त्यो खाना पचि सकेपछि भन्ने रसको मात्रा बढी हुन्छ । रसग्रन्थीबाट रस बढी वा कम निस्कनु वा शरीरमा रसको उत्पादन बढ्नु भनेकै रोग हुनु हो ।

(ग) खाँदाखेरी शुद्धता पूर्व सर्त हो । खानेकुरा, त्यो बनाउन वा तुल्याउन प्रयोग हुने भाँडाकुँडा र खान प्रयोग हुने हात, मुख आदि बाहिरी अंगहरूको सफाइ गर्नु अनि मानसिकरूपमा खानका लागि तयार हुनु आदि जस्ता कुरालाई शुद्धता भनी बताइएको छ ।

(घ) खाना खाने व्यक्तिलाई दिगमिग भएमा वा आफूले खाइरहेको खाना देखेर अरू कसैले दिगमिग मानिरहेको छ भन्नेकुरा खाने व्यक्तिले थाहा पाएमा खाएको त्यो खाना पच्दैन । (खाने कुरामा कुनै फोहोरमैला छ कि भन्ने शंकाबाट उब्जने घिन, खान अनकनाउने काम, सिकसिको वा कसैको खाने शैली देखेर उब्जने घिनलाई दिगमिग भनिन्छ) ।

(ङ) कसैले खाना खाइरहेको अवस्थामा वरिपरि प्रत्यक्ष वा अप्रत्यक्ष हेरेर बस्ने व्यक्तिहरूमध्ये कोही व्यक्ति म पनि यस्तै खाना खान पाउँछु भनेर मानसिकरूपमा सन्तुष्ट छैन भने पनि खाएको खाना पच्दैन (चलनचल्तीको भाषामा यसलाई आँखा लागेको भनिन्छ) । त्यसैले सकेसम्म आएका पाहुना वा अतिथि र आफूमा आश्रित परिवारका सदस्यहरूलाई पहिले खुवाएर मात्र आफूले खाने बानी गर्नु । कतै कतै त घरमा कुनै काम गर्ने मानिस राखिएको छ भने उसलाई पनि पहिले खुवाउनु भनी लेखिएको पाइन्छ ।

(च) सकेसम्म भोजभतेरबाट टाढै बस्नु–सरसर्ती हेर्दा के भनेका होलान् यो ? जस्तो मलाई पनि लाग्दथ्यो । तर, विभिन्न शास्त्रको संकलन बढ्दै गएपछि अनि परिवेशमा घटिरहेका घटनाहरू देखेपछि गलत भनेका होइन रहेछन् भन्ने लाग्न थालेको छ । जहाँ खानेकुरा र त्यसमा प्रयोग हुने अन्य साधनको गुणस्तरको प्रत्याभूति दिने कोही हुँदैनन्, विभिन्न खानेकुराको मिश्रणबाट हुने लाभहानिको विषयमा ज्ञानको कमी हुन्छ, अनि केही भइहाले क्षतिपूर्ति दिने व्यवस्था पनि हुँदैन, त्यहाँको सामूहिक भोज (गणान्न) मा ढुक्क हुन सकिन्न । विभिन्न ठाउँमा सामूहिकरूपमा भोज खाएर मान्छे ढलेका समाचार वर्षैपिच्छे सुनिन्छन् ।

प्राणायाम

प्राणायाम सुरु गर्नुअघि विभिन्न कुराहरू विचार गर्नुपर्दछ । केही कुराहरू उल्लेख गर्न चाहेँ ।

(क) स्थान चयन ः बस्ने स्थान शुद्ध हुनु जरुरी हुन्छ । हेर्दा घिन लाग्ने, देख्दा रिस उठ्ने, सुन्दा झर्को लाग्ने आदि जस्ता कुरा प्राणायाम स्थलमा हुनु हुन्न । परदेशमा वा टाढा गएर गर्दा अविश्वास हुन्छ, सुनसान स्थल वा जंगलमा गर्दा भवितव्य वा केही भइहाले रक्षा गर्ने कोही हुँदैनन् । भिडभाड भएका स्थलमा गर्दा चियोचर्चो बढी हुन्छ । त्यसैले यी तीन स्थानमा प्राणायाम (आदि योग) नगर्नु । प्राणायाम गर्न जहाँ बसिन्छ त्यो स्थान धेरै अग्लो वा होचो हुनुहुन्न । नजिकै कुनै जनावर वा चराचुरुंगी हुनु हुन्न ।

(ख) काल (समय) चयन ः ‘हजुरको पेट त घटाउनुपर्ने देखियो’ सधैँ प्रशंसा गर्नेका मुखबाट यस्ता कुरा सुन्नासाथ, जगिङ, वाकिङ, रनिङ आदि दुनियाथोक सुरु गर्दछौँ हामी । योगको अभ्यास यसरी सुरु गर्न मिल्दैन । हेमन्त, शिशिर, ग्रिष्म र वर्षा ऋतुमा योगारम्भ नगर्नु, रोग उत्पन्न हुन्छ । वसन्त र शरद ऋतुमा नै सुरु गर्नु, निरोगी र सिद्धि प्राप्त हुन्छ । (योग नै नगर्नु भनिएको होइन सुरु नगर्नु भनिएको हो, ध्यान दिनुहोला)
(
ग) पथपरहेज वा मिताहार ः भात, जौको सातु, गहुँको पीठो, मुँग–मास वा चनाको पीठो बोक्रो निकालेर खानु । काँचै खान मिल्ने र खानैपर्ने सागहरू र अन्य तरकारी पकाएर खानु । आधा पेट भर्नु र आधा खाली राख्नुलाई नै मिताहार भनिन्छ । पेटलाई चार भागको कल्पना गरी आधा भाग अन्नले, अर्को एक भाग पानीले भरी बाँकी रहेको चौथो भाग हावा खेल्न छाडिदिनु पर्दछ ।

योग गर्न सुरु गर्ने व्यक्तिले यी कुरा खान हुन्न :

(१) तितो, अमिलो, नुनिलो र पिरो पदार्थ

(२) भुटिएका वा तारिएका कुराहरू

(३) दही र मठ्ठा वा मोही

(४) नौनी, घिउ

(५) उखुको सक्खर

(६) केरा, नरिवल, अनार, अमला

(७) लसुन र प्याज

(पचाउन सहज, गन्ध वा बास्नाले दिमागलाई असर गर्ने, त्रिदोष बढाउने कुरा नखाई हल्का कुरा खान पिउन सुझाब दिइएको छ) ।

अन्त्यमा

टुपी काटेर जुल्फी लर्काउन थालेको देखेर हजुरबुबा हामीलाई ‘विधर्मी (….) भयौ बज्जे हो’ भनेर हपार्नु हुन्थ्यो । नित्य कर्म गर्नु, गरेको देखाउनु, शास्त्र पढ्नु, मठमन्दिर धाउनु आदि बाहिरी कुरामा सीमित धर्मको ज्ञान यसरी नै पुस्तान्तरण हुँदै आयो । मानव जे जस्तो भूगोलमा बसे त्यही भूगोलको अनुकूल हुने गरी आफू बाँधिन र अरूलाई बाँध्न धर्म जन्माउँदै र हुर्काउँदै आए । उपलब्ध साधन र स्रोत संस्कृतिका अभिन्न अंग बनाइए ।


तर, धर्मको अर्थ सम्प्रदाय वा प्रचलन विशेषमा सीमित छैन । चराचर जगत सबै पूर्णरूपमा सत्मा टिकेको छ । सत्को अर्को अर्थ धर्म हो । सूर्यले धर्म छाडे, पृथ्वीले धर्म छाडे, अनि हावा आदिले धर्म छाडे मानिसले गर्ने धर्मको अस्तित्व नै रहँदैन, उसले धर्म गर्ने अवसर नै पाउँदैन । सृष्टिका हरेक कुराले जे कुरा प्राकृतिकरूपमा गर्दछन् वा गर्नुपर्दछ त्यो नै बृहत् अर्थमा धर्म हो ।

आफ्ना इन्द्रियलाई आफैँले नियन्त्रण गर्नु भनेर संसारभरका धर्मले सिकाउँदछ । यसो नहुँदा वा नगरिँदा समाज बिथोलिन्छ । यही समाज बिथोलिने परिस्थितिलाई पाप भनिएको छ । इन्द्रिय नियन्त्रण गर्न नसक्दा बोली, दृष्टि, श्रवण, गति आदि इन्द्रियजन्य गतिविधि विवादमा पर्दछन् । व्यक्तिले आफैँले आफूलाई स्वतन्त्र छाड्दा अर्कोको स्वतन्त्रता हनन हुन्छ । नांगिन खोज्नुलाई व्यक्तिगत स्वतन्त्रता मान्ने हो भने ऊ नांगिएको हेर्न खोज्नु वा नखोज्नु पनि व्यक्तिगत स्वतन्त्रता नै हो भनेर मान्न सक्नु पर्दछ ।

धर्ममा अधिकार र कर्तव्य दुबै समावेश भएको हुन्छ । एकथरी अधिकार खोज्ने तर कर्तव्य नगर्नेहरू धर्मलाई विकासको बाधक भनेर तर्क गरिरहने गर्दछन् । अर्काथरी धर्मलाई पेसा बनाउनेहरू हरेक कुरालाई धर्ममाथि प्रहार भयो भनेर कोकोहोलो गरिरहने हुन्छन्, तिनलाई धर्म नासिने भन्दा पनि पेसा वा व्यवसाय वा स्वार्थ नासिने पीर बढी हुन्छ । यो धर्मको उत्पत्ति भएदेखि नै चल्दै आएको परम्परा हो ।

धर्म कृत्रिम हुँदै होइन र हुन पनि हुँदैन, कृत्रिम भए टिक्दैन । हरेक धर्ममा समयसापेक्ष लचकता हुन्छ । काल, परिस्थिति र उपलब्ध स्रोत साधनका आधारमा जीवन जिउन सहज हुने किसिमले नीति र नियमहरू बनाइएका हुन्छन् । एकपटक गरुड पुराणको यो वचनलाई पनि मनन गरौँ । ‘सुक्खा तर्क स्वयंमा अप्रतिष्ठित हुन्छ । त्यसैले कुनै सिद्धान्तको स्थापना केवल तर्कका आधारमा हुन सक्दैन । वेद (श्रुति) पनि अनेक प्रकारका छन् । यस्ता कुनै ऋषि छैनन् जो फरकफरक प्रसंगमा फरकफरक सिद्धान्त उपदेश नगर्ने हुन् । त्यसैले धर्मको सार न तर्कमा अडिएको छ, न त वेदादिमा नै । यो त पूर्वजको ज्ञानमा अडिएको छ । अतः शिष्टजन जुन मार्ग अनुसरण गर्दछन्, त्यही बाटोलाई आफ्नो धर्म भनी समझिनु पर्दछ ।’ अहिले धर्मलाई आफ्नो स्वार्थ सिद्धिका लागि प्रयोग गर्ने तथाकथित शिष्टजनको संख्या बढिरहेको छ, मानिसहरू त्यस्तै व्यक्तिका पछि लागेर बहस गरिरहेका हुन्छन् ।

प्रतिक्रिया