‘नालापानी’ को ट्रेलर

काठमाडौं । नेपालको इतिहासलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘नालापानी’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक समारोहका बीच ट्रेलर सार्वजनिक गरिएको हो । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धको विषयमा केन्द्रित रही चलचित्र निर्माण गरिएको छ । चलचित्रमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई देखाइएको निर्माण पक्षले जनाएको छ ।

सार्वजनिक ट्रेलरमा नालापानी गढीमा अंग्रेज सेनाविरुद्ध नेपाली फौजले वीरतापूर्वक लडेको लडाइँलाई प्रस्तुत गरिएको छ । दुई मिनेट ४१ सेकेन्डको ट्रेलरमा अंग्रेजसँगको लडाइँलाई देखाइएको छ । चलचित्र तिहारको अवसर पारेर ४ कात्तिकदेखि देशव्यापी प्रदर्शनमा आउन तयारीमा रहेको निर्माण पक्षले जानकारी दिएको छ । रिमेश अधिकारीले निर्देशन गरेको चलचित्रमा नेपालीको वीरताको गाथालाई चित्रण गरिएको छ । निर्देशक अधिकारीले लामो समय अध्ययन–अनुसन्धान गरेर ९ वर्ष लगाइ चलचित्र बनाएको बताए । उनले चलचित्रले नेपाली वीरताको गाथा बोकेकाले एकल प्रदर्शनको अवसर मिलाइदिन पनि चलचित्र सम्बद्ध संघ–संस्था तथा राज्यसँग आग्रह गरे । उनले भने, ‘सबै दर्शकलाई ‘नालापानी’ एक युगमा एक पटक मात्र निर्माण हुने भएकाले एकपटक हेरिदिन आग्रह गर्दछु ।’

चलचित्रमा सन्तोष पन्त, देशभक्त खनाल, अर्जुनजंग शाही, मनोज शाक्य, विजय बिष्फोट, विशाल पहारी, पूजना प्रधान, जनक बर्तौला, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बालकलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलियाको अभिनय छ । यस्तै, विदेशी कलाकारमा एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र साम लगायतको अभिनय छ । चलचित्रमा भिएफएक्स अच्युत गजुरेल, छायांकन रामशरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशन कविराज गहतराजको रहेको छ । साथै, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको छ ।

राम भट्टराई र हरि उप्रेतीले लेखेका चलचित्रका गीतमा गायक राजेशपायल राई, मेलिना राई र रानी शाक्यले आवाज भरेका छन् । यो चलचित्रको एसोसियट निर्माता सपनकुमार थापा, सह–निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी रहेका छन् ।

प्रतिक्रिया