साबा महिला च्याम्पियनसिप : नेपाल फेरि पनि उपविजेता

काठमाडौं । माल्दिभ्समा भइरहेको दोस्रो साबा (दक्षिण एसियाली बास्केटबल संघ) महिला च्याम्पियनसिपमा नेपाल फेरि उपविजेता बनेको छ । श्रीलंकाले लगातार उपाधि जित्दा नेपाल भने उपविजेता बन्यो । बुधबार भएको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि सहज जितसहित उपाधि जित्ने सम्भावना कायम राखेको थियो । तर बुधबारै राती नै श्रीलंकाले घरेलु टोली माल्दिभ्सलाई ७२–५९ ले हराउँदै च्याम्पियन बन्यो ।

च्याम्पियनसिपमा नेपाल र श्रीलंकाले दुई जित र एक हारबाट समान चार अंक नै जोडेको थियो । तर नेपाल भन्दा श्रीलंकाले बढी अंक स्कोर गरेकोले श्रीलंका अघि रहँदै च्याम्पियन बनेको हो । सन् २०१६ मा काठमाडौंमा भएको पहिलो संस्करणमा पनि श्रीलंका सबै खेल जितेर च्याम्पियन बन्दा नेपाल दोस्रो भएको थियो । यस पटक पनि भारत सहभागि नहुँदा नेपालले उपाधि जित्ने लक्ष्यसहित माले पुगेको थियो ।

नेपालसहित जम्मा चार टिम मात्र सहभागि च्याम्पियनसिप राउण्ड रोविन लिगको आधारमा खेलाइएको थियो । जसमा नेपाल पहिलो खेलमै घरेलु टोली माल्दिभ्ससँग ५१–४७ ले पराजित भयो । तर त्यसपछि नेपालले पुनरागमन गर्दै श्रीलंकालाई ५५–४९ ले हरायो भने लिगको अन्तिम खेलमा भुटानलाई ६५–२६ ले पराजित गर्यो ।च्याम्पियनसिपको अन्तिम लिग खेल माल्दिभ्स र भुटानबीच हुनेछ । भुटानले खेलेको दुई खेल नै हारेको छ । माल्दिभ्सले एक खेल जितेको छ भने एकमा पराजित भएको छ ।

प्रतिक्रिया