दशैंमा पनि फुटपाथ व्यापारमा लचिलाे नहुने बालेनकाे संकेत

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदलयात्रीको अधिकार भएको बताएका छन् । बिहीबार एक विज्ञप्तिमार्फत शाहले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा नभइ पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्ने जनाएका छन् ।

‘सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ’, शाहको विज्ञप्तिमा भनिएको छ । फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन तथा प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै शाहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने पनि स्पष्ट गरेका छन् ।

प्रेस विज्ञप्ति


असोज १३, २०७९


काठमाडौँ


फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ । सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ । सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिवद्धता हो । यो कायम छ । यसैगरी सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पु¥याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका छाैं ।

आर्थिक बर्ष २०७९/०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको छ ।

यो नीति प्रभावकारी रुपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ । पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो । सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय हो । त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।

अन्त्यमा, सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा दोहोर्याउन चाहन्छौँ ।


धन्यवाद

प्रतिक्रिया