राप्रपा र रविन्द्र मिश्र पक्षबीच एकता

कांग्रेसमाथि खनिए मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका निर्वतमान अध्यक्ष रवीन्द्र मिश्रको समूहबीच एकता भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार आयोजित एक कार्यक्रमबीच राप्रपा र विवेकशील साझा पार्टी त्यागेका रवीन्द्र मिश्र नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधरबीच एकताको घोषणा भएको हो ।
एकताको सहमतिपत्रमा राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देन र अर्को पक्षबाट रवीन्द्र मिश्रले हस्ताक्षर गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपा प्रवेश गरेका हुन् ।

यसअघि गत सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन् ।
सहमतिअनुसार, अब मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् । उनको नेतृत्वमा राप्रपामा प्रवेश गर्नेहरूलाई भने केन्द्रीय कार्यासम्पादन समितिलगायतमा सातदेखि १० दिनभित्र तहगत समायोजन गर्ने सहमति भएको बताइएको छ ।

प्रदेश कमिटी लगायतका अन्य कमिटीको तहगत समायोजनका लागि दुवै पक्षका दुई÷दुई जना नेताहरू रहेको कार्यदल बनाउने सहमति पनि भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा दुवैका पक्षका कमिटीहरूलाई मिलेर अगाडि बढ्न निर्देशन दिने सहमति पनि भएको छ ।

मिश्र राप्रपा प्रवेश गरेसँगै विवेकशील साझा पार्टीका प्रदेश–१ बाहेक सबै प्रदेश संयोजकले आफ्नो पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही, लुम्बिनीका अनुपमान सैंजु, गण्डकीका सुशीला केसी अधिकारी, बागमतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेस प्रदेशका धनपति महतो रहेका छन् ।

प्रदेश–१ का इन्चार्ज प्रकाशचन्द्र परियार भने विवेकशील साझा पार्टीमै छन् । उनलाई पार्टीले हालै प्रवक्ताको जिम्मेवारी दिएको छ । राजीनामा दिएका प्रदेश संयोजकमध्ये मधेसका महतोबाहेक सबैजना राप्रपामा प्रवेश गरेका छन् ।

पार्टी एकता घोषणा कार्यक्रममा मिश्रले आफूमा भन्दा नेपाली कांग्रेसमा बढी विचलन आएको टिप्पणी गरे । ‘मलाई पश्चगामी र प्रतिगामी के मात्र भनेनन्’, मिश्रले भने, ‘नेपाली कांग्रेसका नेताहरूले ममा विचलन आएको भन्नुहुन्छ, ०४६ पछि कांग्रेसमा धेरै विचलन आयो कि ममा धेरै विचलन आयो ?’

नेकपा माओवादीले ०५२ सालमा सशस्त्र युद्ध गर्दा कांग्रेसकै सरकार रहेको बताउँदै मिश्रले लाउडा, धमिजाजस्ता काण्ड पनि कांग्रेसकै पालामा भएको दावी गरे । कांग्रेसका नेता बिपी कोइरालाको आदर्श अहिले राप्रपाले बोकिरहेको दाबी मिश्रको छ ।

‘कांग्रेसको आदर्श अहिले हामीले बोकिरहेका छौँ, राष्ट्रिय मेलमिलापको नीति हामीले बोकेका छौँ’, उनले भने । कांग्रेसले गणेशमान सिंह र कृष्णप्रसाद भट्टराइलाई रुवाएर पार्टी छाड्न बाध्य बनाएको आरोप पनि लगाए । कांग्रेसले विगतमा आफ्नै कार्यकर्तामाथि आक्रमण गर्ने नेकपा माओवादी केन्द्रसँग घाँटी जोडेको बताउँदै मिश्रले प्रश्न गरे, ‘तपाईंहरूले कार्यकर्ताको घाँटी रेट्नेसँग बढी समय बिताइरहनुभएको छ कि जनतासँग ?’
उनले तराजु छोडेर हलो बोक्न आफूलाई कुनै लाज नलागेको प्रतिक्रिया पनि दिए । राप्रपा प्रवेश गर्दा आफूलाई केही व्यक्तिले खिसी गरेको बताउँदै भने, ‘मलाई तराजु छाडेर हलो बोक्न कुनै लाज लागेको छैन ।’ विवेकशील साझा पार्टीको चुनावचिन्ह तराजु हो भने राप्रपाको चुनावचिन्ह हलो हो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै राप्रपा अध्यक्ष लिङ्देनले आगामी निर्वाचनबाट राप्रपा पहिलो पार्टी बन्ने दावी गरे । उनले नागरिकले विश्वासिलो विकल्प खोजिरहेको र राप्रपा त्यही विकल्प भएको दावी पनि गरे । ‘राप्रपाले धेरै सिट ल्याउने मात्र होइन, पहिलो पार्टी बन्छ’, उनले भने, ‘मतदाताले विश्वासिलो विकल्प खोजिरहेका छन् । विकल्प खोजिरहेको मतदाताको नजरमा राप्रपा परेको छ ।’
राप्रपाले विगतमा गलत व्यवस्थापनका कारण पटकपटक चुनाव हारेकाले कार्यकर्तामा हीन मानसिकता देखिएको पनि लिङ्देनले बताए । लिङ्देनले पार्टीका नेता कार्यकर्तालाई निर्वाचन क्षेत्रमा जान र उम्मेदवारी घोषणा गर्न आग्रह पनि गरे । उनले प्रतिनिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० सिटमै राप्रपाले उम्मेदवारी दिने पनि बताए ।

प्रतिक्रिया