पुटिन गोप्य महलमा

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मस्यौदा–विरोधी प्रदर्शन सुरु भएपछि जंगलमा रहेको आफ्नो गोप्य महलतर्फ भागेको सञ्चार सुत्रले बताएको छ । ओभीडी–इन्फोले शनिबार रुसका ३२ वटा विभिन्न सहरबाट प्रदर्शनमा उत्रेका ७ सय २४ जना मानिसलाई हिरासतमा लिइएको जनाएको छ ।

तीनवटा स्रोतलाई उद्धृत गर्दै एकजना पत्रकारले कम्तीमा आगामी बिहीबारसम्म पुटिन त्यस गोप्य दरबारमा बस्न चाहेको बताएका छन् । पुटिन ब्ल्याक सीको तट छेउको गेलेन्दझिक नजिक रहेको आफ्नो गोप्य महलतर्फ भागेको खबर सबैभन्दा पहिले मेल अनलाइनले सार्वजनिक गरेको हो । पुटिनको कार्यक्रमसँग जानकार तीनवटा स्रोतलाई उद्धृत गर्दै स्वतन्त्र पत्रकार फरिदा रुसामोभाले पुटिन बुधबार सो बिदा मनाउन प्रयोग गरिने महलमा पुगेको बताएकी छन् ।

रासामोभाले टेलिग्राम पोस्टलाई भनेकी छन्, ‘पुटिनले त्यहाँ आफ्नो शरीर र आत्मा दुवैलाई आराम दिँदै छन् । साथै उनले त्यहाँ उपलब्ध विविध सुविधाको मनोरञ्जन गर्दैछन् ।’ पुटिनले सार्वजनिक रूपमै सो महल आफ्नो नभएको बताउने गरेका थिए । रुसी सरकार विरोधी अभियन्ता तथा हाल कारागारमा थुनिएका एलेक्सेइ नाभाल्नीका सहयोगीहरूले उक्त भव्य महलभित्रका सयौँ तस्बिर सार्वजनिक गरिसकेका छन् ।

गत वर्ष एक विज्ञप्तिमार्फत नाभाल्नीले भनेका थिए, ‘दरबार र वरपरका चौर सुरक्षा पर्खालले घेरिएका छन्, त्यहाँ बन्दरगाह, चर्च, उडान निषेधित क्षेत्र, वाइनको गुफा, थियटर, जिम, स्विमिंग पुल, स्पा, अक्वा डिस्को र आइस हकी रिन्क रहेका छन् ।’
भ्रष्टाचारविरुद्धको प्रतिष्ठानले राष्ट्रपति पुटिनलाई उनका भित्री वृत्तका मानिसहरूले आफूहरूलाई पहुँच र प्रभाव दिलाएबापत तिरिएको पैसाले यो महल बनाएको आरोप लगाउने गरेको छ । तर, क्रेमलिनले यो आरोप अस्वीकार गरेको छ ।

रुसामोभाले सार्वजनिक स्थलबाट हुने आफ्नो उपस्थितिलाई ढाकछोप गर्ने उद्देश्यले पुटिनले आफूले बैठक बस्दै गरेका थुप्रै भिडियो बनाउन लगाएको दाबी पनि गरेकी छन् । पुटिनले थप तीन लाख जगेडा सेना भर्ती गर्ने घोषणा गरेपछि यो प्रदर्शन सुरु भएको हो ।

प्रतिक्रिया