आफ्नी आमाको हत्या गर्ने अभिनेतालाई आजीवन कैद

वासिङटन । आफ्नी आमा बारबरा वेइटको हत्या अभियोगमा दोषी ठहराइएका अभिनेता ¥यान ग्रान्थमलाई अदालतले आजीवन कारावास सजाय सुनाएको छ । किशोरहरूको कथावस्तुमा आधारित नाटक ’रिभरडेल’मा जेफरी अगस्टिनको भूमिका निभाएका २४ वर्षीय ग्रान्थमलाई भ्यानकोभरस्थित ब्रिटिस कोलम्बिया सर्वोच्च अदालतले सन् २०२० मा आमाको हत्या गरेको अभियोगमा सजाय सुनाएको हो ।
सरकारी वकिलहरूले उनले क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको पनि हत्याको षडयन्त्र रचेको बताएका छन् ।
अदालती सुनुवाइमा उनले भ्यानकोभरदेखि उत्तरमा पर्ने आफूहरूको घरमा पियानो बजाइरहेकी आमाको टाउको पछाडि गोली हानेर हत्या गरेको स्वीकारेका थिए ।

हत्या गरिसकेपछि क्यानडाली अभिनेता ग्रान्थमले आफ्नो गो–प्रो क्यामेराबाट आफ्नी आमाको शवको फिल्म खिच्दै भनेका छन्, “मैले उनको टाउको पछाडि गोली हाने । केही क्षणपछि उनले मैले गोली हानेको भनेर थाहा पाउन सक्थिन् ।“
त्यसपछि घन्टौँसम्म बियर र गाजा पिएर कारमा तीनवटा बन्दुक, गोलीगठ्ठा र १२ वटा मोलोतोभ ककटेल र अन्य क्याम्पिङ सरसामानहरू लिएर उनी ट्रुडोको रिड्यु कटेज निवासतर्फ लागेका थिए ।

भ्यान्कोभरको एउटा प्रहरी चौकीमा गएर ’आफुले आमाको हत्या गरेको’ स्वीकार्नुअघि उनले होप सहरबाट पूर्व करिब २ सय किलोमिटर ड्राइभिङ गरेका थिए । ग्रान्थमले आत्मसमर्पण गर्नुअघि भ्यान्कोभरको लायन्स गेट ब्रिज वा आफूले विगतमा अध्ययन गरेको सिमोन फ्रेजर युनिभर्सिटीमा सामूहिक हत्या गर्नेबारे सोचेको सम्बन्धमा पनि अदालतमा सुनुवाइ भएको थियो । उनका वकिलहरूले आमाको हत्या गर्नु अघिसम्म डिप्रेसन र चिन्ताग्रस्त रहेका उनले अरूलाई चोट पु¥याउने र आत्महत्या गर्नेबारे इच्छा लागेको बताएको जानकारी दिएका थिए । सजाय भुक्तानको पहिलो १४ वर्षसम्म उनले क्षमादानका लागि आवेदन दिन पाउने छैनन् ।

प्रतिक्रिया