प्रदेशस्तरीय फूलपातीको बढाइँका लागि तयारी तीव

विराटनगर । विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि मोरङको श्री सान्सारी माताको मन्दिरमा प्रदेशस्तरीय पूmलपातीका बढाइँका लागी तयारी सुरु गरिएको छ । रंगेली नगरपालिका–७ मा रहेको सो मन्दिरमा प्रदेश–१ सरकारले विजयादशमीको फूलपातीको अवसरमा प्रदेशस्तरीय बढाइँ गर्ने निर्णय गरेपछि यसवर्ष पनि फूलपाती बढाइँका लागि मन्दिर व्यवस्थापन समितिले तयारी गरेको हो ।

विगत तीन वर्षदेखि सो मन्दिरमा प्रदेश–१ सरकारका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा मन्त्री तथा प्रदेश–१ वासीको सहभागिता प्रदेशस्तरीय बढाइँ हुँुदै आएको छ । फूलपाती बढाइँका लागि मन्दिर व्यवस्थापन समितिले तयारी तीव्र बनाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सञ्जीव श्रेष्ठले बताए ।
फूलपाती बढाइँका लागि मन्दिर सजावट, सरसफाइ, स्वागतद्वारको निर्माण मञ्च, समेनाको व्यवस्थापन तथा विभिन्न समिति, उपसमिति गठन गर्ने काम तीव्रगतिमा भइरहेको उनले बताए ।

प्रदेश–१ कै मुख्य शक्तिपीठको रूपमा रहेको सो मन्दिर दर्शनका लागी नेपाल मात्र होइन भारतबाट समेत भक्तजनको ठूलो सहभागिता रहने गरेको छ । फूलपातीमा करिब पाँच हजारभन्दा बढी भक्तजन सहभागी हुने गरेकाले त्यहीअनुसार तयारी गरिएको व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रदेश–१ को राजधानी विराटनगरदेखि २२ किलोमिटर पूर्व चिसांग खोलाको किनारमा रहेको मन्दिरमा घटस्थापनादेखि विजयादशमीको टीकासम्म भव्य पूजापाठ तथा भजन किर्तनको समेत आयोजना हुने गरेको छ । १० दिनसम्म मन्दिरभित्र दुई दर्जन ब्राम्हणहरूले २४ घन्टा पूजा पाठ गर्ने गरेका छन् ।
झण्डै एक सयवर्ष पुरानो सो मन्दिरलाई मन्दिर व्यवस्थापन समितिले व्यवस्थित बनाएपछि विगत १२ वर्षदेखि मन्दिरमा प्रत्येक दिन बोका बलि चढाउन र पूजा गर्न ठूलो संख्यामा भक्तजन आउने गरेका छन् ।

भाकलगर्दा मनोकामना पूरा हुने मन्दिरमा शनिबारका दिन भक्तजनहरूले दुई सयभन्दा बढी बोका बलि चढाउने गरेको मन्दिर व्यवस्थापन समितिका सहसचिव ईश्वर पोखरेलले बताए । भाकलगर्दा कतिपय भक्तजनहरूले बोका चढाउने तथा कतिपयले मन्दिरमा आएर परेवा उडाउने गर्दछन् ।
मन्दिरमा दर्शन गर्दा सबै मनोकामना पूरा हुने भएकाले विगतका वर्षमा जस्तै यसवर्ष पनि फूलपाती बढाइँ कार्यक्रममा सहभागी हुन पोखरेलले सबैलाई आग्रह गरे । फूलपातीका दिन बिहान ८ बजे मन्दिर परिसरबाट नेपाली सेना, नेपाल प्रहरी सशत्र प्रहरीको टोली तथा विभिन्न जाति समुदायका नृत्य झाँकीसहित भक्तजनको सहभागितामा डोलीमा राखेर फूलपाती निकाल्ने चलन छ ।

मन्दिरप्रति भक्तजनको आस्था एवं विश्वास बढेसँगै प्रदेश सरकार र रंगेली नगरपालिकाले प्रत्येकवर्ष मन्दिर व्यवस्थापन तथा पूर्वाधारका लागि बजेट छुटयाउने गरेका छन् । प्रदेश सरकारले १० करोडको लागतमा मन्दिर परिसरमा अहिले पूर्वाधार निमार्णको काम गरिरहेको श्रेष्ठको भनाइ छ ।
उनका अनुसार पूmलपाति बढाइँलाई मध्यनजर गर्दै आधा दर्जन स्वागत द्वार निर्माण गर्ने काम भइरहेको छ । झिलिमिली बत्ती तथा ध्वजा पताकाले मन्दिर सिँगारिँदै छ । फूलपातीको तयारीका लागि स्वतःस्र्फुत रूपमा स्थानीय जुटेका छन् । मन्दिरमा शारीरिक रूपमा सहयोग गर्दा माताले आशीर्वाद दिने विश्वास रहेकाले पनि सबैको सहभागिता हुने गरेको स्थानीयको विश्वास छ ।

त्यस्तै प्रदेश स्तरीय बढाइँ कार्यक्रममा राई, लिम्बु, मगर, सन्थाल, उराव तथा झागड समुदायले गर्ने लोक नृत्यले सबैलाई आकर्षण बनाउने गरेको छ । मन्दिरबाट निकालिएको फूलपाती विभिन्न ठाउँमा विश्रामका लागि व्यवस्था मिलाएको छ । मन्दिरप्रति भक्तजनको आकर्षण बढेपछि सीमावर्ती भारतबाट आएका एक जना महिला भक्तजनले केहीवर्षअघि १० दिनसम्म मन्दिर परिसरमा सुतेर शरीरमा जमरा राखेर जमरा उमारेको व्यवस्थापन समितिको भनाइ छ । प्रदेश सरकारले प्रदेशस्तरीय बढाइँ गर्ने निर्णय गरेपछि मन्दिरको महत्व अझै बढेर गएको श्रेष्ठको भनाइ छ । फूलपाती अर्थात सप्तमीका दिन बिहानदेखि विराटनगर, इटहरी, धरान तथा झापा, मोरङ, सुनवारीवाट भक्तजन फूलपाती बढाइँ कार्यक्रममा सहभागी हुन मन्दिर पुग्ने गरेका छन् ।

प्रतिक्रिया