सीमापारि दसैँको रौनक, वारि सुनसान

कपिलवस्तु । दसैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि । दसँैको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरू सामान्यसरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिंगे, जितपुर, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन । दसँैलाई सस्तो, राम्रो र आकर्षक सामग्री खरिदका लागि भन्दै नेपालीहरू सीमावर्ती भारतीय बजारमा ओर्लिएपछि पुनः नेपाली व्यापारीको समस्या विगतका वर्षभन्दा कम छैन यतिखेर । सीमापारिका बढ्नी, खुनुवा, अलिगढवा लगायतका भारतीय बजारमा यतिखेर नेपालीको बाक्लो चलहपहल देखिन्छ ।

दसैँका लागि अत्यावश्यक वस्तुदेखि विलासिताका सामग्री किन्न नेपाली भारतीय बजारमा निर्भर देखिन्छन् । यसपालिको दसँैमा नेपालमा हरेक सामानमा मूल्य बढेको छ । त्यसैले पनि भारतीय बजारमा नेपाली उपभोक्ताको आकर्षण बढेको हो । मुख्यगरी नेपाली उपभोक्ताहरू लत्ताकपडा, जुत्ता चप्पल, चिनी, दाल, तेल तथा टिभी, फ्रिजसम्म किन्न भारतीय बजार धाउँछन् । सीमापारिका बजारमा पाइने वस्तु नेपाली बजारमा महँगो हुने भएकाले आफू भारतीय बजारतर्फ आकर्षित भएको बुद्धभूमि नगरपालिका–९ की मनिषा भाटले बताइन् । ‘नेपाली बजारमा ६ हजार पर्ने कुर्ता सुरुवाल भारतीय बजारमा दुई हजार बढी पर्दैन, दसँै खर्चिलो छ, बचत त गर्नै प¥यो’, इमिलियाबाट बढी किनमेलका लागि गएकी भाटले भनिन् ।

खाद्यान्न वस्तुहरू पनि सस्तो भएकाले उपभोक्ताहरू भारतीय बजारमा आकर्षित हुने गरेको देखिन्छ । जिल्लाका प्रत्येक क्षेत्रमा सरकारले सस्तो पसल सञ्चालन गरेमा उपभोक्ता भारतीय बजारमा कम जाने उपभोक्ता हकहित संरक्षण मञ्चले जनाएको छ । भारतीय बजारभन्दा पनि सस्तोमा लत्ताकपडा दिए पनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको कृष्णनगरमा कपडा पसल सञ्चालन गरेर बसेकी सीता घिमिरेले बताइन् ।

भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महसुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महँगो हुन जाने उनी बताउँछिन् । कृष्णनगर र मर्यादापुर भन्सार कार्यालयका अनुसार एक सातामा जिल्लाका विभिन्न सीमानाकाबाट कपडा र उपभोग्य वस्तुको आयात बढेको छ । दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरूको भन्सारसमेत नतिर्दा राज्यलाई समेत लाखौँ राजस्व घाटा लाग्ने गरेको छ ।

कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोख्रेलले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाए । केही वस्तु सस्तोमा दिएर अन्य वस्तुहरूमा चर्को मूल्य लिएर नेपाली उपभोक्ता ठगिने गरेको उनले बताए । ‘नेपालीको मानसिकता सीमापारि सस्तो सामान पाइने भन्ने छ, त्यसैको फाइदा उठाउँदै व्यापारीले ठग्ने गर्दछन्’, उनी भन्छन् ।

प्रतिक्रिया