यस वर्ष पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति

काठमाडौं । यही असोज १ गते सुदूरपश्चिमको अछामका विभिन्न क्षेत्रमा पहाडको माथिल्लो भागबाट पहिरो खस्यो । ती ठाउँका पहिरामा पुरिएर २२ जनाको मृत्यु भयो । उक्त घटना, यो वर्र्षकै ठूलो मानवीय क्षति भएको विपद्जन्य घटना हो । भारी वर्षापछि जिल्लाको तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिकाकाको बस्तीमा खसेको पहिराले सो क्षति पुर्याएको थियो ।

उदयपुरको बेलका नगरपालिकाबाट कोसी नदीले धार परिर्वतन गरी बस्तीमा पस्दा हजारौँ घर डुबानमा पार्यो । मानवीय क्षति भएन । दार्चुलामा महाकाली नदीले ठूलै विपत्ति निम्त्यायो । जिल्ला सदरमुकामनै प्रभावित भयो । खोटाङमा भूकम्पले सयौँ घरमा क्षति पुर्यायो । काठमाडौँ कपनमा अक्सिजन सिलिण्डर विष्फोटपछिको आगलागीमा तीन जनाको निधन र धेरै सम्पत्ति क्षति भयो । अन्य जिल्लामा केही मानवीय र भौतिक क्षति हुने गरी विपद्का घटना भए ।

मुलुकका धेरै ठाउँमा औसतभन्दा बढी वर्षा हुने आँकलन गरिएपनि तथ्याङ्कमा गत वर्षभन्दा यसपाली विपद्जन्य घटना र मानवीय क्षति न्यून देखियो । अघिल्लो वर्ष विपद्जन्य घटनामा चार सय ९० को मृत्यु भयो । यस वर्ष एक हजार सात सय ९१ विपद्जन्य घटनामा दुई सय २२ जनाले ज्यान गुमाए । अझै १३ बेपत्ता रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती घटनामा पाँच सय २७ घाइते भए । दुई हजार तीन सय २७ परिवार प्रभावित भए । ती घटनामा अहिलेसम्म एक अर्बको क्षति भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ ।

यसपालीको घटनामध्ये चट्याङबाट बढी मानवीय क्षति भयो । चट्याङले ७२ र पहिराले ५५ को ज्यान गयो । आगलागीबाट २६, जनावरको आक्रमणबाट २१ तथा बाढीबाट १५ को मृत्यु भयो । भारी वर्षा, हुरीबतास, वन डढेलोलगायतबाट मानवीय क्षति भयो । बढी घटना र बढी भौतिक क्षति आगलागीबाट भएको छ । हालसम्म मुलुकमा आठ सय ६१ आगलागीका घटना भएकोमा त्यसबाट रु ८२ करोड ७१ लाख क्षति पुगेको छ । बाढीबाट धेरै (११ जना ) बेपत्ता भए ।

यसपाली मुलकुभर बाढीका दुई सय ३९ घटना भएकोमा त्यसबाट ५५ को मृत्यु, एक बेपत्ता, ४६ घाइते र दुई सय २९ घर प्रभावित भए । पहिराले रु आठ करोड ५५ लाख क्षति भयो । चट्याङका दुई सय १९ घटनामा ७२ को निधन, एक सय ९५ घाइते, तीन सय ३३ परिवार प्रभावित र ३५ लाखको क्षति भएको जनाइएको छ । त्यस्तै आठ सय ६१ आगलागीका घटना भएकोमा त्यसमा २६ को मृत्यु, एक सय ३३ घाइते, नौ सय ८४ घर प्रभावित र रु ८२ करोड ७१ लाखको क्षति भएको छ ।

हुरीबतास र भारी वर्षाका दुई सय १५ घटना भएकोमा १४ को मृत्यु, ४५ घाइते, चारसय परिवार प्रभावित र रु पाँच करोड २५ लाखभन्दा बढीको क्षति भएको छ । एक सय ८७ वन डढेलो र जनावरको आक्रमणका घटनामा २२ को मृत्यु, ८५ घाइते, दुई सय ३१ परिवार प्रभावित र रु एक करोड ६२ लाखको क्षति भएको छ । विसं २०७७ मा बाढीबाट ४२ र पहिराबाट तीन सय एकसहित विभिन्न घट्नामा पाँच सय ९१ को मृत्यु भयो । बाढीबाट ३७ र पहिराबाट ६४ सहित एक सय एक बेपत्ता भए । – रासस

प्रतिक्रिया