नक्सा पास बिना नै अघि बढ्यो राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परियोजना

नगर प्रमूख भन्छन् : ‘छ महिना डिपिआर त्यसपछि नक्शाको कुरा आउँछ’

काभ्रे । भारत सरकारको अनुदान सहयोगमा काभ्रेमा निर्माण हुन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको काम नक्शा पास बिना नै अघि बढेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले शुक्रबार काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका लागि संयुक्त रुपमा (भूमी पूजन) शिलान्यास गरेका छन् ।

यसअघि उक्त परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र प्रधानमन्त्री मोदीले गरेका थिए । भारत सरकारको १० अर्बको नेपाली रकम अनुदानमा निर्माण हुने यो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरु मध्येकै एक हो । उक्त परियोजना भारत स्वतन्त्र भएको ७५ औँ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको एई इण्डीया आजादीका अमृत महोत्सवकै एक हिस्साको रुपमा रहेको मानिन्छ ।
परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १।१० लाख वर्गमिटरको क्षेत्रफल रहनेछ । स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरुको निर्माण गरिने बताइएको छ । परियोजना दिगो विकास मापदण्ड अनुरुप निर्माण हुने र वातावरण एवं उर्जामैत्री हुने समेत उल्लेख गरिएको छ । आधुनिक सेवा सुविधा सहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नै बताइएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समय भित्रै निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरेका छन् । उनले भारत र नेपालबीचको घनिष्ठ सम्बन्धको अर्को महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको उक्त प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताएका छन् । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि खाँणले भारत सरकारलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले भारत र नेपालबीच बहुआयमिक तथा बहुपक्षीय विकास साझेदारी रहेको, जसले दुई देशका जनताबीच रहेको निकटतालाई दर्शाएको र यस परियोजनाको कार्यान्वयनले नेपाल सरकारको प्रयासमा भारत सरकारको सदैव सहयोग रहने कुरालाई प्रतिबिम्बित गरेको बताएका छन् ।

नक्शा पास नै नगरी परियोजना र भवन निर्माणका कामहरु सुरु गरिएको हो ? भन्ने प्रश्नमा पनौती नगरपालिकाका नगरप्रमूख रामशरण भण्डारीले भने –‘ पहिला ६ महिना डिपिआर त्यसपछि नक्शाको कुरा आउँछ’ ६ महिना भित्र डिपिआर तयार गरेपछि यही कम्पनीले निर्माण र डिपिआर गर्ने, एआई गर्ने गरी सम्झौता भएको रहेछ । अबको ५ महिना भित्र यही कम्पनीले डिपिआर पूरा गरेपछि बल्ल निर्माणको चरणमा जान्छ, अहिले भएको शिलान्यास केवल डिपिआरको चरणमा मात्रै गएको हो, उनीहरुसँग बसेर थप कुराहरु गर्न बाँकी छ ।’

एआइजी सहकुलबहादुर थापाले त्यस बिषयमा नै होला भेटेर छलफल गरौँ भनेको उनले बताए । ‘यो परियोजना धेरै बर्ष रोकिएकोले डिपिआरसँगै कामहरु पनि तिब्र जान सक्छ’ नगर प्रमूख भण्डारीले भने ‘नक्शा पास नेपाल सरकारले बनाउने त्यस्ता ठूला परियोजनाहरुमा नगरपालिकाले नपर्ने पनि कानुनहरु पनि विविध रहेछ । नक्शा पास त गर्नै पर्छ ।’

प्रतिक्रिया