इरानका युवतीहरू किन जलाउँदैछन् हिजाब ?

एजेन्सी । इरानमा फेरि एकपटक महिला सडकमा उत्रिएका छन् । हिजाब हावामा फ्याँकेर धार्मिक प्रहरी विरुद्ध नारा लगाइरहेका छन् । कारण हो प्रहरीले कुटपिटबाट २२ वर्षीया मेहसा अमिनीको मृत्यु । उनको एउटै गल्ती थियो कि उनले हिजाब राम्रोसँग लगाएकी थिइनन् । महसाको मृत्युपछि कुर्दिस्तानदेखि तेहरानसम्म देशका धेरै क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ । सोमबार कुर्द क्षेत्रमा प्रदर्शनकारीमाथि सुरक्षा बलको कारबाहीमा पाँच जनाको मृत्यु भएको थियो ।

महसाको शनिबार उनको गृहनगर साकेजमा अन्त्येष्टि गरिएको थियो । उनको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका थिए । दाहसंस्कारमा सहभागी महिलाले हिजाब फुकालेर विरोध गरेका थिए ।

दाहसंस्कारमा सहभागी प्रदर्शनकारीले ‘तनसाह कि मौत हो’ नारा समेत लगाएका थिए । यो नारा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको लागि लगाइएको हो ।
सोमबारको प्रदर्शनमा ७५ जना घाइते भएको बताइएको छ । यी विरोध प्रदर्शनहरू अझै रोकिएका छैनन्, यद्यपि इरानको राज्य मिडियाले यी विरोधहरूको गम्भीरतालाई कम गरिरहेको छ । सन् २०२१ मा पानी संकटका कारण भएको विरोध प्रदर्शनपछि इरानमा आक्रोशित जनता सडकमा उत्रिएको यो पहिलो पटक हो ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानी महिलाहरूले हिजाब लगाउनु पर्ने प्रावधान लागू भएको थियो । त्यसअघि शाह पहलवीको शासनकालमा इरान महिलाको पहिरनको मामिलामा निकै स्वतन्त्र थियो ।

पहलवी शाहद्वारा हिजाब लगाउन प्रतिबन्ध

सन् १९२५ मा इरान पहलवी वंशको शासनमा आयो । पहिलो शासक रजा शाह अमेरिका र बेलायतबाट प्रभावित थिए । सन् १९४१ मा उनका छोरा मोहम्मद रेजा शाहले पनि पश्चिमी देशको व्यवहारले महिलाको समान अधिकार हुन्छ भन्थे । यी दुई शासकले महिलाको अवस्था सुधार्न धेरै ठूला निर्णय लिए ।

– ८ जनवरी १९३६ मा रजा शाहले कश्फ–ए–हिजाब लागू गरे। अर्थात् कुनै महिलाले हिजाब लगाएकी भेटिए प्रहरीले हिजाब निकालि दिन्थ्यो ।

– १९४१ मा, शाह रजाका छोरा मोहम्मद रजाले शासन लिए र काशफ–ए–हिजाबलाई प्रतिबन्ध लगाए । उनले महिलाहरूलाई आफ्नो मनपर्ने पोशाक लगाउन अनुमति दिए ।

– १९६३ मा, मोहम्मद रजा शाहले महिलाहरूलाई मतदान गर्ने अधिकार दिए र महिलाहरू पनि संसदमा निर्वाचित भए ।

– १९६७ मा, इरानको व्यक्तिगत कानून पनि सुधार गरियो जसमा महिलाहरूलाई समान अधिकार प्राप्त भयो । केटीहरूको विवाहको उमेर १३ बाट १८ वर्ष पुर्याइयो । गर्भपतनलाई कानुनी अधिकार पनि दिइयो ।

– अध्ययनमा केटीहरूको सहभागिता बढाउनमा जोड दिइयो। १९७० सम्म, इरानका विश्वविद्यालयहरूमा केटीहरूको हिस्सा ३० प्रतिशत थियो ।

शिया धार्मिक नेता अयातुल्ला रुहोल्लाह खोमेनीले शाहको यी नीतिहरूको विरोध गरेका थिए । सन् १९७८ मा उनको नेतृत्वमा २० लाख जनता शाह विरुद्ध शहीद चोकमा जम्मा भएका थिए । यसैलाई इस्लामिक क्रान्ति भनिन्छ । यसमा महिलाहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।

सन् १९७९ मा शाह रेजा पहलवीले देश छोड्नुपर्यो र इरान इस्लामिक गणतन्त्र भयो । खोमेनीलाई इरानको सर्वोच्च नेता बनाइयो । यहीँबाट इरान विश्वमा शिया इस्लामको गढ बन्यो । खोमेनीले महिलाको अधिकारलाई धेरै कटौती गरे . . .

– १९८१ मा हिजाब अनिवार्य बनाइएपछि सौन्दर्य प्रसाधनहरूमा प्रतिबन्ध लगाइयो । धार्मिक प्रहरीले महिलाको लिपस्टिक रेजर ब्लेडले खुर्किदिन थाले ।

– इस्लामिक सरकारले १९६७ को परिवार संरक्षण कानूनको सुधारलाई खारेज गर्यो, जसमा महिलाहरूलाई समान अधिकार दिइएको थियो । केटीहरूको विवाहको उमेर १८ वर्षबाट घटाएर ९ वर्षमा पुर्याइयो ।

– यद्यपि, खोमेनीको मृत्यु पछि, इरानका राष्ट्रपति रफसन्जानीले ती कडा कानुनहरूलाई केही छुट दिए र महिला शिक्षामा ध्यान दिए ।
इरानमा महिलाहरूले अनिवार्य हिजाबको विरोध जारी राखेका छन् । अप्रिल २०१८ मा तेहरानमा खुकुलो हिजाब लगाएकी एउटी महिला। जसमा उनलाई महिला नैतिकता प्रहरी अधिकारीले सार्वजनिक रूपमा कुटपिट गरेका थिए । यो घटनाले विश्वभर चर्चा पायो ।

अब फेरि एकपटक महसा अमिनीको मृत्युले इरानका महिलालाई हिजाबको विरुद्धमा आवाज उठाउने आधार दिएको छ । इरानी महिलाहरु आफ्नो हिजाब र बुर्का जलाएर सडकमा हास्दै र नाच्दै विरोध प्रदर्शन गरिरहेका छन् । यो आन्दोलन पाँचौ दिनसम्म रोकिने सम्भावना देखिएको छैन । (विभिन्न एजेन्सीको सहयोगमा)

प्रतिक्रिया