शारदीय दसैँ अर्थात बडादसैँ

मोहनप्रसाद सापकोटा

सृष्टिक्रम

ब्रह्मा दक्षप्रजापतिमार्फत सृष्टि अघि बढाउन हरेक प्रयास गरिरहेका थिए । उता दक्षले कहिले आपूmले सृष्टि अघि बढाऊन् भनी कल्पना गरी जन्माएकाहरू कोही जन्मनासाथ तपस्या गर्न जान्थे, कोही बिहे गर्न नै नमानी मोक्षका कुरा गर्दथे । हुन्छ नि त भनेर मानेका केही मानसिक सन्तानलाई ‘गोलो पृथ्वीको छेउकिनार पत्ता लगाएर मात्र सृष्टि गर’ भनी नारदले आएर भुलाइदिन्थे । गोलो वस्तुको छेउकिनार कहिले पो भेटिन्थ्यो र !, ती फर्केरै आउँदैनथे । सृष्टिक्रम अघि बढिरहेको थिएन ।

अन्त्यमा सृष्टिका अन्य विधिले काम नगरेपछि मैथुन विधिले सृष्टि गर्ने निर्णय गरियो । मैथुन सृष्टिका लागि प्रकृति र पुरुषलाई संलग्न गराउनुपर्ने हुन्थ्यो । पुरुष त शिव भगवान् हुनुहुन्थ्यो नै तर प्रकृतिलाई मानव रूपमा लेराउन आवश्यक थियो । त्यसैले सर्वप्रथम योगमाया अर्थात् प्रकृतिको आराधना गरी उनलाई गर्भमार्फत जन्म लिन र सृष्टिको क्रमलाई अघि बढाउन सहयोगका लागि अनुरोध गरियो ।

उनले सहमति जनाएपछि पनि कठोर साधनामार्फत त्यसका लागि योग्य शरीर बनाउन आवश्यक थियो । त्यसैले दक्षले हजारौँ वर्षसम्म कठोर तपस्या गरे । अन्तमा, पृथ्वीमा पहिलो मैथुन सृष्टिका रूपमा योगमायाले दक्षको वीर्य र वीरणीको रजमार्फत जन्म लिइन् । उनको नाम सती राखियो । अर्थात पृथ्वीमा मैथुनमार्फत गर्भबाट सर्वप्रथम जन्मिएकी एक नारी थिइन् । उनको जन्मको उद्देश्य पनि सृष्टिको क्रमलाई अघि बढाउनु नै थियो ।


यो रहस्य दक्षलाई थाहा थियो तर विरणीलाई थाहा थिएन, थाहा दिइएन पनि । त्यसैले सतीको जन्मपछि दक्षप्रजापतिले उनको स्तुति गरे । छोरी भए पनि उनी साक्षात् योगमाया वा सृष्टि–सूत्र प्रकृति भएकीले उनको पाउमा दण्डवत् गरे । पतिको सिको गरेर विरणीले पनि त्यसै गरिन् । यो सृष्टिको रहस्यमय क्रम आज पनि चलिरहेछ । त्यसैले सनातन धर्मावलम्वी मातापिताहरू आज पनि छोरीलाई गोडामा ढोगेर सन्मान गर्ने गर्दछन् । लात्तले छोइए पनि माफी माग्ने गर्दछन् ।

दसैँमा वा अन्य तीन नवरात्रमा जसले दुर्गाको रहस्यको अल्प अंश मात्रै भए पनि बुझेको हुन्छ उसले हरेक नारीलाई स्तुति नै गर्दछ आशीर्वाद दिँदैन । यसैले नारीलाई टीका लगाउँदा ‘जयन्ति मंगला काली …’ भनेर स्तुति नै गर्ने चलन चलेको हो । अब स्तुति गरिएको मन नपरेर नारीहरू आशीर्वाद नै चाहियो, भेदभाव भयो भन्न थाले । शायद कलिको प्रभावले होला ।

नवरात्र र चैते दसैँ

वर्षमा चार वटा नवरात्र हुन्छन् । असारमा, असौजमा, माघमा र चैतमा । सबै नवरात्रमा विशेषतः आद्यशक्ति देवीको पूजा गर्ने विधान छ । प्राथमिकताका आधारमा भन्नुपर्दा शरद् ऋतुपछि वसन्त ऋतुको नवरात्रलाई बढी प्राथमिकता दिइएको छ । यी कुरा देवी भागवतमा बताइएको छ । वंशावलीमा छास्सछुस्स मूल दसैँ पहिलापहिला चैतमै मनाइने गरिएको र पछि असोजमा सारिएको जस्ता कुरा पनि लेखिएका छन् । तर अन्य धार्मिक ग्रन्थले यसको समर्थन गरेको पाइएको छैन ।

नवरात्रको व्रत

नवरात्रको व्रत बस्न चाहनेले घटस्थापनादेखि व्रत बस्नुपर्दछ । व्रत आफ्नो शारीरिक र आर्थिक अवस्था हेरेर बस्न सकिन्छ । व्रत शरीरका भोजनसँग सम्बन्धित सबै अंगप्रत्यंगलाई दिइने आरामको विधि हो भने प्राणायामको प्राचीन र सरल विधि मुटु तथा फोक्सोलाई आराम गर्न दिइने विधि हो ।
सक्ने र मन हुनेले एक छाक मात्र वा अन्न मात्र नखाएर पनि व्रत बस्न सकिन्छ भनिएको छ । तर यो व्रत बस्नमा पनि वित्तशाठ्यता (धनको घमण्ड) हुनुहुन्न र वित्तशुद्धता (धर्मपूर्वक कमाइएको धन) हुनुपर्दछ भनी दुई कुरालाई पूर्वसर्तकारूपमा उल्लेख गरिएको छ ।

देवीलाई चढाउने फूल :

विष्णुक्रान्तां च तुलसीं वर्जयित्वाखिलं सुमम ।

दवीप्रीतिकरं ज्ञेयं कमलन्तु विशेषत ः ।

शिवमहापुराण, उमा संहिताको अध्याय ५१ को श्लोक ४८ अनुसार देवीलाई कमलको फूल विशेषरूपमा मन पर्दछ तर शंखपुष्पी (विष्णुक्रान्ता) र तुलसी बाहेकका सबै फूल देवीलाई चढाउनहुन्छ ।

दसैँको इतिहास

दसैँसम्बन्धी खोजतलासका क्रममा राजभोगमाला वंशावलीका केही कुरा भेटिएका छन् । वंशावली प्रामाणिक इतिहास होइन । तर, अरू प्रमाण नभेटिँदासम्म यसलाई पनि सह इतिहासकारूपमा लिने गरिन्छ । वर्षमा चार वटा नवरात्र हुन्छन् शरद् ऋुतुको नवरात्र त्यसमध्येको एक हो भनेर त पुराणहरूमा पनि लेखिएको छ । तर नेपालको दसैँ अलि भिन्न छ । म वंशावलीका कुरा त्यही भाषामा सेयर गर्ने अनुमति चाहान्छु ।

‘…उप्रान्त दक्षिण दिशाबाट महेश्वर ठाकुर नाम षट् शास्त्रमा पार ग¥याका ब्राह्मण विक्रमादित्य सेनका पराक्रम पूण्यप्रताप सुनि नेपालभूमिमा आया । राजाबाट उनको परीक्षा गरी गुरु पनि गरी राजाबाट र मन्त्रि बुद्धिलेनले विधि पु¥याइ मन्त्र सुनी दीक्षा ग्रहण ग¥या । ताहापछि महेश्वर ठाकुरका सम्मतले चैत्रावली नवरात्र स्वल्प गरी शरद् ऋतुका नवरात्रि प्रतिपदादेषी सप्तमीपर्यन्त चण्डिका प्रमाण प्रथम नेपालका राजा प्रजा सबले सब मान्नु भन्न्या रित् चलाया । यो दशमी कर्मसम्म राज्य ग¥यापछि हस्तिनापुरमा पनि चलायिदिया । अघि सरद ऋतुको नवरात्रि कर्म दुनियालाई चल्याको थिएन । इनै राजाका पुण्यप्रतापले हिन्दूहरूमा चलाइदिया । …अस्य पुत्र नरेन्द्रदेव भोग वर्ष १ । इनले राज्याभिषेक पाइ चांडै परलोक हुंदा भाइ श्री गुणकाम नाम ग¥याकाकन राज्याभिषेक दिया । अस्य भोग वर्ष । … इन राजाले फेरी षङ्गजात्रा अघि नभयाको मूलक्षै आगम स्थापना गर्न पाउंदा दशमीका दिन निमन्त्रण कर्म पुजा गराइ आश्विन शुक्ल परेवाका दिन, घटस्थापना जवो रोप्ने दश दिनका दशमिमा षर्गजात्रा गर्दाभया … ।’

शारदीय दसैँ अर्थात बडादसैँ

पहिलेपहिले नेपालमा चैते दसैँ अहिलेको शारदीय दसैँ मनाएझैँ धुमधामसँग मनाइन्थ्यो । शारदीय दसैँ त्यतिखेर धूमधामसँग मनाइन्नथ्यो । विक्रमादित्य सेन (नरेन्द्रदेवका पिता, गुणकामदेवका पितामह) को शासन कालमा चैते दसँैलाई छोट्याई शारदीय दसैँलाई धुमधामसँग मनाउने चलन चलाइयो भनेर राजभोगामाला वंशावलीमा उल्लेख गरिएको पाइन्छ । सोही वंशावलीले परेवाका दिन जौ रोप्ने, नौ दिन पूजा गरी त्यो जमरालाई दुर्गाको प्रसादस्वरूप दसौँ दिन शिरमा सिउरने चलन गुणकामदेवले चलाएका हुन् भनेको छ ।

‘बडा’ शब्दको अर्थ आफूभन्दा उमेरले पाको मान्यजन, जेठो वा सबैमा ठूलो वा श्रेष्ठ भन्ने हुन्छ । चैते दसैँभन्दा पहिले मनाइने र ठूलो बनाइएको वा ठानिएको हुनाले शारदीय दसैँलाई बडादसैँ भनिएको हो । एक वर्षमा शक्तिको उपासना गर्न चार वटा नवरात्र हुन्छन् । हिन्दूहरू जहाँजहाँ छन् नवरात्रभर शक्तिको पूजा गर्ने चलन त्यहाँत्यहाँ छ । तर, जमरासमेत रोपेर द्वादशीसम्म दसैँ मनाउने चलन नेपालको मौलिक परम्परा हो । यो दशहरा वा रावण विजयसँग सम्बन्धित विजयादशमी होइन । पुराणहरूमा दिइएको रावण वधको तिथिमितिसँग शारदीय दसैँको तिथिमिति मेल खाँदैन । रामले लंकातर्फ प्रस्थान गर्नुअघि शक्ति आर्जन गर्न भगवान् शिव र माता दुर्गाको अत्यन्त उल्लासपूर्ण ढंगले पूजा गरेको बयान पाइन्छ । शारदीय नवरात्र त्यसको चाहिँ प्रतीक हुन सक्छ । हामी कागको पछि कुद्दै जाँदा कुन दिनदेखि ‘ह्यापी दशहरा’ भन्न थाल्छौँ कि जस्तो लाग्न थालिसक्यो । त्यसैले यो जानकारी सेयर गर्न उचित ठाने ।

दुर्गा पूजा

आश्विनमा गरिने नवरात्रको पूजा र दसैँको टीका लगाउने प्रचलन रावणवध गरेको दिनदेखि सुरु भएको भन्ने विचार सही होइन । स्वयं भगवान् श्रीरामले यो नवरात्र–व्रत बसेर रावण मार्ने शक्ति देवीबाट पाएको प्रसंग उल्लेख भएको पाइन्छ । यो व्रत स्वयं शिवले त्रिपुरासुर मार्न, इन्द्रले वृत्रासुर मार्न र विष्णुले मधु दैत्यलाई मार्न बसेका थिए ।

पहिले प्रकृतिका बारेमा नबुझी दुर्गालाई बुझ्न सकिन्न । दुर्गालाई नबुझी दुर्गापूजाका बारेमा बुझ्न सकिने कुरो पनि भएन । सृष्टि दुई तत्वले हुन्छ, चल्छ र नासिन्छ । ती दुई तत्व प्रकृति र पुरुष हुन् । प्रकृति एउटै हुन्छ तर पुरुषहरू भिन्न रूपमा देखिन्छन् । प्रकृतिलाई अर्को शब्दमा शक्ति भनिएको छ । शक्ति दुर्गाको पनि अर्को नाम हो । शक्ति दुई किसिमको हुन्छ । हानिकारक र लाभदायक । मोह, लोभ, डाह, मदान्धता, दम्भ, रिस, मात्सर्य आदि हानिकारक शक्ति हुन् भने धैर्यता, नरिसाउनु, लोभ नगर्नु, डाह नगर्नु आदि लाभदायक शक्ति हुन् । यी दुबै शक्तिको सञ्चालन प्रकृति (वा माया) अर्थात् दुर्गाबाट भएको हुन्छ र यसबाट सृष्टिमा कोही पनि अछुतो हुन सक्दैन । शिव, विष्णु, ब्रह्मा, इन्द्र आदि देवतासमेत प्रकृतिको हानिकारक शक्तिले भ्रमित भएका कथाहरू पाइन्छन् ।

दुर्गापूजाको एक मात्र उद्देश्य दुर्गालाई हानिकारक शक्ति फिर्ता लिन लगाई (मायाजालबाट मुक्त गरी) लाभदायक शक्ति पाउनका लागि हो । देवीका विभिन्न रूप जो नवरात्रमा पूजिने गरिन्छन् ती सबैमा पनि दुबै थरी शक्ति रहेको हुन्छ । मोह दिने वा नाश गर्ने, लोभी बनाउने वा लोभ नाश गर्ने, रिसाउने बनाउने वा नरिसाउने बनाउने आदि जस्ता शक्ति तिनमा हुन्छ । मेरो वा हाम्रो शरीरमा भएको नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जाले प्रतिस्थापन गरोस् भन्ने माग राख्न र उपलब्धी हासिल गर्न नै दुर्गापूजाको प्रचलन चलेको देखिन्छ ।

बलि दिनुको एक अर्थ त्याग्नु पनि हुन्छ । आफूमा रहेको नकारात्मक ऊर्जालाई पशुपंक्षीमा सारी त्यस्तो ऊर्जाको असरबाट आफू जोगिन बलि दिने प्रचलन चलेको देखिन्छ । नकारात्मक ऊर्जाले एकपटक जीवलाई समाएपछि कुनै हानी नगरी त्यो जीवलाई छाड्दैन । गलत कुरा गलत कुराले नै र असल कुरा असल कुराले नै वृद्धि हुन्छ । दुबैथरी ऊर्जाको वृद्धि र ह्रास पनि यही नियमानुसार हुने गर्दछ । शक्तिको नकारात्मक ऊर्जाले सबभन्दा पहिले जीवको शरीरमा भएको रगतलाई सोस्ने गर्दछ, यसबाट जोगिन बलि दिने चलन चलाइएको हो । बलि पछि मांसभक्षणको विधि दोस्रो प्राथमिकतामा राखिएको पाइन्छ ।

दुर्गा पूजा गर्नेले दुई कुरा विशेष ध्यान दिन योग्य हुन्छ । एउटा आफूमा भएको कुन गलत स्वभाव त्याग्ने हो त्यो यकिन हुनुपर्दछ भने अर्को कसको कुन गलत स्वभावलाई परास्त गर्न शक्ति चाहिएको हो त्यो यकिन हुनुपर्दछ । कसैको मनमा लोभ छ र उ दुर्गा पूजा गर्दै छ भने उसमा अझ लोभ बढ्दछ । सबै नकारात्मक ऊर्जामा यही नियम लागू हुन्छ । संसारमा दिनप्रतिदिन नकारात्मक ऊर्जा बढिरहनुको प्रमुख कारण यही हो, अर्थात् मन र गरिने कर्मका बीचमा भिन्नता हुनु नै हो ।

देवी को हुन् र किन मान्ने ? मानिस अलमलिएलान् भनेर स्वयं देवीले शिवमहापुरणमा भन्नुभएको छ ः

हे मानव ! संसार मायामय छ, त्यसलाई के, किन, कसरी भनेर केलाउन थाल्यौ भने तिमी त्यसको छेउपुच्छर केहीको पनि भेउ कहिल्यै पाउन सक्ने छैनौ । स्वयं शिव, विष्णु आदिसमेत यसको रहस्य थाहा पाउन खोज्दा आफैँ हराउने गर्दछन् भने अरूका के कुरा गर्नु । यति मात्र बुझ कि सनातनरूपमा चलेर आएको प्रकृति भनेकी नै मै हुँ । त्यसैले सबै शंका हटाएर तन, मन र धनले मेरो भजन गर अर्थात मलाई संरक्षण गर ।

देवीको नाम दुर्गा कसरी रो ?

दुर्गमाख्यो महादैत्यो हतो यस्मात्ततः शिवे ।

दुर्गां भवर्ती भद्रां व्याहष्यिन्ति मानवा ः ।।

अर्थात् हे शिवे ! हजुरले दुर्गम नामक महादैत्यलाई मार्नु भएको छ । त्यसैले मानिस हजुरलाई दुर्गा भगवती भनी पूजा गर्नेछन् ।

नववर्षा भवेद् दुर्गा ः (नौ वर्षकी कुमारी दुर्गा हुन्छिन्)

दुःखदारिद्य्रनाशाय संग्रामे विजयाय च ।

क्रूरशत्रुविनाशार्थं तथोग्रकम्र्मसाधने ।।

दुर्गाश्च पूजयेद्भक्त्या परलोकसुखाय च ।

अर्थात ः दुःख र दरिद्र नाश गर्न, युद्धमा विजय प्राप्त गर्न, निष्ठू्र शत्रु नाश गर्न, परलोकमा सुख प्राप्त गर्न तथा उग्रकर्म साधना गर्न भक्तिपूर्वक दुर्गाको पूजा गर्नू । (देवी भागवत)

देवीको शरद ऋतुमा गरिने पूजा तीन किसिमको हुन्छ । सात्विक, राजसी र तामसी । जप, यज्ञ, नैवेद्य, पुराण पठन, होम आदिले गर्ने मांसरहित पूजा सात्विक पूजा हो । बलिदान गरी मांससहित समन्त्र गरिने पूजा राजसी पूजा हो । जप, यज्ञ आदि नगरी सुरा, मासु आदि चढाइर विनामन्त्र गरिने पूजा राजसी पूजा हो । जप, यज्ञा आदि नगरी सुरा, मासु आदि चढाएर विनामन्त्र गरिने पूजा तामसी पूजा हो । तापसी पूजा किराँतहरूले गर्नु उपयुक्त हुन्छ । चारै वर्णका व्यक्ति वर्णच्यूत व्यक्ति, डाँका वा अरूहरूले पनि देवीको पूजा गर्नू । पृथ्वीवासीका लागि देवी प्रकृति हुन् र आआफ्ना प्रचलन वा नामअनुसार सबैले प्रकृतिको पूजा गर्न सक्दछन् । कसैलाई निषेध छैन । (ब्रम्हवैवर्तपुराण एवं देवी भागवत)

घटस्थापनाको विधि संक्षेपमा

विहान नित्यकर्म सकी पत्नीसहित जमरा राख्न तयार पारिएको स्थलमा पवित्र आसनमा पूर्व वा उत्तर फर्केर बस्नु । आचमन र प्राणायाम गर्नु । गणेशलाई फूल चढाउनु । विधिपूर्वक अर्घको स्थापना गरी पूजा गर्नु र सूर्यलाई अर्घ दिनु । अनि संकल्प गर्नु । त्यसपछि क्रमशः दियो, कलश र गणेशको आवाहन, पूजा र प्रार्थना गर्नु ।

त्यसपछि दुर्गा पूजार्थ तयार पारिएको वेदीमा सर्वतोभद्र बनाउनु । त्यसमाथि जौ चढाउनु । त्यहाँ सुन, चाँदी, तामा, वा माटाको कलशको स्थापना गर्नु । त्यसमा तीर्थको जल हाल्नु । कलशमा चन्दन, सर्वौषधि (वा बेसार), दुबो, पञ्चपल्लव र सप्तमृत्तिका हाल्नु । फलफूल चढाउनु । पंचरत्न र सुनको प्रतिमा हाल्नु । रातो र सेतो वा एक जोर कपडाले कलशको घाँटीलाई बेर्नु (बस्त्र चढाउनु) । कलशमाथि पूर्णपात्र स्थापना गर्नु । वरुण देवताको आवाहन र पूजा गर्नु । कलशमा तीर्थको आवाहन गर्नु । कलशलाई अभिमन्त्रण गर्नु । प्रार्थना गर्नु । कलशमा गणेश आदि वनस्पति देवताको आवाहन गरी पूजा गर्नु ।

नवदुर्गाको प्रतिष्ठा

त्यो कलशमाथि थालीको बीच भागमा स्थापना गरिएको नयाँ वा पुरानो सुन वा चाँदीको प्रतिमामा वा सुपारीमा दुर्गाको आवाहन गर्नु । ध्यान गर्नु । पूजा गर्नु । धूप, दीप, गरी कुभिण्डोको बलि दिनु । इशान भागमा जमरा राख्न लेराइएको शुद्ध स्थलको माटो वा बालुवा आवश्यकता र स्थानको उपलब्धताअनुसार आयताकार हुनेगरी फिँजाई चलनअनुसार मकै, गहुँ वा जौ छर्नु र त्यसमाथि बाँकी रहेको माटो वा बालुवा हलुकासँग छर्नु ।
त्यसपछि नवरात्रभर कहिल्यै ननिभ्ने गरी ठूलो दियोमा बत्ती बाल्नु (अखण्ड द्वीप) ।

यति गरिसकेपछि दुर्गा भवानीलाई खुसी पार्न गच्छेअनुसार मन्त्र जप गर्नु । देवीका तीन वटै सूक्तरहस्यको पाठ गर्नु । त्यसपछि सम्भव भएसम्म चण्डी पाठ गर्नु । जति सकिन्छ त्यती पाठ गर्नु तर एकाग्र भई शुद्धसँग पाठ गर्नु । कसैलाई ब्राह्मणमार्फत चण्ठी पाठ गराउने मन छ भने पनि विधि यतिखेर र यसरी नै हो ।

नवदुर्गामध्येको दोश्रो रूप ब्रह्मचारिणी

ब्रह्मचारिणीको अर्थ दिँदै लेखिएको छ, ‘वेदअनुसार आचरण गर्ने वा ब्रह्मचर्य व्रत धारण गर्ने स्त्री ।’ मनुले ‘आजन्म आत्मसंयम र धैर्यता अपनाई एकपतिको एकपत्नी भई धर्माचरण गर्दै रहन सक्ने स्त्रीलाई ब्रह्मचारिणी स्त्री’ भनी लेखेका छन् । पार्वतीको जुन रूपले शिवलाई पतिकारूपमा पाउन अल्पआहार, अल्पवस्त्र, अल्पनिद्रा एवं अल्पसंगतीसहित कामदेवलाई भष्म गरिएकै स्थलमा घोर तपस्या गरेको थियो त्यो रूपलाई ब्रह्मचारिणी भनिएको पाइन्छ । पतिलाई आफ्नी पत्नीप्रति र पत्नीलाई आफ्ना पतिप्रति विकाररहित एवं इमानदार सान्निध्यता र सामिप्यता निरन्तर प्राप्त भइरहोस् र एकभक्ति होस् भन्ने अभिप्रायले देवी ब्रह्मचारिणीको पूजा आराधना गर्ने गरिन्छ ।

दधाना करपद्माभ्यामक्षमालाकमण्डलू ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।

भाव– एक हातमा रुद्राक्षको माला र अर्को हातमा कमण्डलु लिएकी ब्रह्मचारिणी देवीले मलाई उत्तम वर प्रदान गरुन् ।

नवदुर्गामध्येको तेश्रो रूप चन्द्रघण्टा

तेस्रो दिन देवीको चन्द्रघण्टा रूपको ध्यान र पूजा गर्नु पर्दछ । चन्द्रघण्टा नाम रहनुमा विभिन्न कारणहरू दिइएका छन् । हातमा चन्द्राकार घण्ट समाएकी हुनाले, चन्द्रमा समान शीतलता प्रदान गर्ने आवाज सबैलाई दिने घण्ट समाएकी हुनाले, चन्द्रमाले भन्दा पनि बढी आनन्द दिने हुनाले, शीवकी अर्धांगिनीकीरूपमा शिवकै आधार शरीर भई शीरमा शिवलेझैं चन्द्रमा धारण गर्ने हुनाले, निधारमा घण्टको आकारको अर्धचन्द्र भएकी हुनाले आदि कुरा लेखिएका छन् । सबभन्दा उत्तम अर्थ चन्द्रमाभन्दा बढी शीतलता दिने भएकीले भन्ने नै देखिन्छ । जे अर्थ भए पनि निम्न मन्त्रले चन्द्रघण्टा देवीको तेस्रोरूपको पूजा गर्न सकिन्छ ।

पिण्डज प्रवरारूढा चण्डकोपास्त्रकैर्युता ।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।।

नवरात्रको चौथो दिन

दुर्गा भवानीको चौथो कूष्माण्डारूपको पूजा गर्ने दिन । कुभिण्डोको बलि मन पराउने हुनाले देवीको योरूपको नाम कूष्माण्डी रहेको भनेर कतैकतै लेखिएको पाइन्छ । संसार पहिला अण्डमय थियो र त्यो अण्डबाट सृष्टि गर्ने (विग व्यांग) देवी कूष्माण्डा हुन् भनेर पनि लेखिएको छ । आज पनि नित्यकर्म सकी पूर्ववत् जमराघरको पूजा गर्नु पर्दछ । स्तोत्र र मन्त्र एवं चण्डीको जपपाठ गर्नुपर्दछ ।

नवरात्रको पाँचौँ दिन

माया वा प्रकृति वा देवीको स्कन्दमातारूपले प्राणी मात्रको कल्याण गरुन् । गणेश र कुमारमध्ये अयोनिज कुमारलाई मातृवत् काखमा लिई स्तनपान गराउँदा उनको मातृसुख देखेर सबै देवताले उनको नाम स्कन्दमाता राखेका जस्ता वृत्तान्तहरू पुराणहरूमा पाइन्छन् । शिवको वीर्य अग्नि, वृक्ष, गंगा हुँदै, सखरखण्डको झालमा पुगेर बालकको रूपमा परिणत भएको थियो । षडकृत्तिका समेत उनलाई मातृस्नेह दिएका थिए ।

नवरात्रको छैटौँ दिन

कत नामका महर्षिका कात्य नामका पुत्रको गोत्रमा जन्मेका कात्यायन ऋषिले घोर तपस्या गरी दानव (मती बिग्रेको अत्यन्त शक्तिशाली मानव पनि त दानव नै हो) को संहारका लागि देवीलाई पुत्रीकारूपमा जन्माएका थिए । यिनको नाम नै कात्यायनी भनी प्रसिद्ध भयो । जसले मन्दिरमा रहेका देवीको मूर्ति वा घरमा रहेकी कुमारी कन्यालाई आज कात्यायनीका रूपमा पूजा गर्न चाहन्छन् तिनले बेसार वा चामलको सानो टीका लगाइदिनु, घिउमा भिजाएका बत्तीले आरती गर्नु र नैवेद्यका लागि मह चटाइदिनु ।

देवी हजूरको मायाका कारण शिवको लिंगसमेत पतन हुन पुग्यो, हजूरकै श्रापका कारण विष्णुले समेत बिनाटाउको लामोसमय भौंतारिनु प¥यो अनि हजूर नै ब्रह्माले टाउको कटाउनु पर्नाको पनि कारण हुनुहुन्थ्यो । त्यसैले हजूरको माया बयान गर्न र रहस्य जान्न म असमर्थ छु । म हजूरको मायाजालबाट कम प्रभावित बन्न सकुँ, बस यति वरदान बक्सियोस् । शरणागत दीनार्त परित्राण परायणे । सर्वस्यार्ति हरे देवि नारायणि नमोऽस्तु ते । (सदा) शरणमा आएका दुःखी एवं पीडितहरूको रक्षामा संलग्न रहने तथा सबैको पीडा हटाउने हे नारायणी देवी हजूरलाई नमस्कार छ ।)

नवरात्रको सातौँ दिन, फूलपाति भित्र्याउने दिन

आज देवीको अत्यन्त कठोर र अत्यन्त भयानक रूपको पूजा गरिन्छ । जब ब्रह्माको दिन सकिन्छ र रात सुरु हुन्छ तब पूरै ब्रह्माण्ड (युनिभर्स) अन्धकारमय हुन्छ । कतै कुनै उज्यालो भन्ने कुराको नामो निशान हुँदैन । त्यो अत्यन्त भयानक रातको नाम नै कालरात्रि हो । कालरात्रिका बेलामा दुर्गाले जुन स्वरूप लिनुहुन्छ त्यसलाई महाकाली भनिन्छ । काली मात्र भन्दा दैत्य बध गर्न लिएको दुर्गाको कालो रूप भन्ने पनि बुझिन्छ ।


कालका पनि काल अर्थात् प्रलयकालमा यमराजलाई समेत संहार गर्ने हुनाले शिवलाई महाकाल भनिन्छ । तिनकी पत्नी अर्थात शक्तिलाई महाकाली भनिन्छ । उनका पाँच मुख र आठ हात हुन्छन् । देवी भागवतमा देवीको सात्विक रूपलाई महालक्ष्मी, राजसी रूपलाई सरस्वती र तामसी रूपलाई महाकाली भनिएको छ ।

कलनात् सर्वभूतानां महाकालः प्रकीत्र्तितः ।
महाकालस्य कलनात् त्वमाद्या कालिका परा ।।

सारा संसारलाई समेट्नेलाई महाकाल भनिन्छ र महाकाललाई पनि समेट्ने हुनाले उनलाई महाकाली (कालिका) भनिन्छ । तर महाप्रलय भएको रात भने आश्विन शुक्ल अष्टमीको रात हो र त्यो रातलाई कालरात्रि भनिन्छ । म दुर्गाको त्यो कालरात्रि रूपलाई नमन गर्दछु । अब फूलपाती का विषयमा केही कुरा गरौँ । साँझ नवदुर्गाको पूजा गर्नेहरूले परम्परा अनुसार फूलपाती घरघरमा भित्र्याउनु पर्दछ । फूलपाती भन्नाले नौ थरीका पातलाई बुझाउँछ । केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्तीका पातहरू जोर फलसहित वा पात मात्रलाई पवित्र भाँडामा शुद्ध जल वा अबिर अक्षता छर्केर घरभित्र हुल्ने परपरागत विधिलाई फूलपाती भित्र्याउने भनिन्छ । उपत्यकामा बस्ने सर्वसाधारणलाई यी कुरा जोरजाम गर्न कठिन हुन्छ भनेर हनुमानढोकाबाट यी कुरा बाँडिन्थे । अहिले ब्वाइलर धर्म र परम्पराको जमाना छ, के गरिन्छ थाहा छैन । राजतन्त्र हुँदासम्म गोरखाबाट फूलपाती लेराइन्थ्यो । अब के गरिन्छ भन्न सक्दिनँ ।

नवरात्रको आठौँ र नवौ दिन,

नवदुर्गाको आठौँ दिन महागौरीको पूजा आराधना गरिन्छ भने नवौँ दिन सिद्धिदात्री रूपको पूजा गरिन्छ । नौ वटा कुमारीहरू जम्मा गरेर पनि आजै पूजा हुन्छ । अब यो नामको अर्थतिर लागौँ । सिद्धि भनेको के हो त ? पुरानो नेपाली बृहत् शब्दकोशको सहयोग लिन चाहेँ । योग वा तपस्याद्वारा प्राप्त हुने अलौकिक शक्ति । अष्ट सिद्धि । सफलता । मोक्ष । थालेको कर्मको निर्विघ्न समाप्ति । निपुणता । दात्रीको अर्थ प्रदान गर्ने स्त्री हो । देवी भागवतमा सिद्धिदात्रीले सधैँ अभय दिन्छिन् भनिएको छ । आज कुमारीको पनि पूजा गरिन्छ । काठमाडौंमा रहेको तुलजा भवानीको मन्दिर आज मात्र दर्शनार्थीका लागि खुला हुन्छ ।

नवदुर्गामध्येको दशौँ दिन प्रसाद तथा आशीर्वाद ग्रहण

दसैँमा शक्ति पूजाको चरण सकिएपछि जमरा र टीका थाप्दै आशीर्वाद लिने क्रम सुरु हुन्छ । अरू गन्थन पछि गरौँला पहिले आशीर्वाद दिन प्रयोग गरिने श्लोकहरूलाई केलाउँ ।

(क)

आयुद्र्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे,

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।

शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,

विज्ञानं विदुरे भवन्तु भवतां कीतिश्च नारायणे ।

अर्थात हजूरको आयु द्रोणाचार्यका छोरा अश्वत्थामाको जति होस् । शोभा भगवान् राचन्द्रका पिता राजा दशरथको जस्तो होस् । हजुरका शत्रुहरू भगवान् रामचन्द्रका शत्रु नासिएझैँ नासियुन् । हजुरको श्रीसम्पत्ति सहितको प्रभुत्व राजा नहुषको जस्तो होस् । हजुरको गति पवन (मन्द वायु एवं प्राणीको प्राण) को जस्तो होस् । हजुरको मानसम्मान (अन्य स्वभाव होइन) पनि राजा दुर्योधनको जस्तो होस् । हजुरको पराक्रम भीष्म पितामहको जस्तो होस् । हजुरको बल श्रीकृष्णका दाजु हलो बोक्ने बलरामको जस्तो होस् । हजूरको सत्यता पनि धर्मराज युधिष्ठिरको जस्तो होस् । हजुरको महात्मा विदुरको जस्तो ज्ञान होस् र हजुरको यश नारायण भगवान्को जस्तो होस् ।

(ख)

लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठदेशे,

वद्र्धन्तां बन्धुवर्गाः सकलरिपुगणा यान्तु पातालमूले ।

देशेदेशे च कीत्र्तिः प्रसरतु भवतां कुन्दपुष्पेन्दुशुभ्रा,

जीव त्वं पुत्त्रपौत्त्रैः सकलसुखवृतैर्हायनानां शतञ्च ।

अर्थात, हजुरका घरमा कमलनयनी लक्ष्मीको र कण्ठमा देवी सरस्वतीको वास होस् । नाताकुटुम्ब बढुन् । सम्पूर्ण शत्रुहरू जरैसहित पाताल भासियुन् । कुन्दपुष्पको बास्ना र चन्द्रमाको किरण फैलिए जसरी हजूरको देशविदेशमा कीर्ति फैलियोस् । सबै खालका सुख एवं छोरानातीले सहित भई हजुरकोआयु पनि सय वर्षको होस् ।

(ग)

स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु,

गोबाजिहस्तिधनधान्य समृद्धिरस्तु ।

ऐश्वर्यमस्तु बलमस्तु रिपुक्षयस्तु,

सन्तानसुखसहिता हरिभक्तिरस्तु ।

हजुरको सबै थोक राम्रो होस् । कुशलमंगल होस् । लामो आयु होस् । गाई, घोडा, हात्ती, धन र धान्यले परिपूर्ण होस् । ऐश्वर्य होस् । बल होस् । शत्रु नष्ट हुन् । सन्तान वृद्धिका साथै भगवान्मा भक्ति रहोस् ।

स्त्रीका लागि

(घ) जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।

दुर्गाक्षमा शिवाधात्री स्वाहा स्वधा नमोऽस्तु ते ।।

जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा (नामले प्रसिद्ध) हे दुर्गे हजूरलाई नमस्कार छ ।

अन्त्यमा, बाटो बिराएको एउटा कुनै अगुवा एवं बाटो हगुवा आशीर्वादमा पनि विभेद भो भन्छ । नारी पुरुषलाई एउटै आशीर्वाद किन नदिएको भन्छ । समाज उसैका पछि प्रतिध्वनी बन्दै कुद्ने गर्दछ । जुन नारीलाई आद्या शक्ति र प्रकृति मान्दै नौ दिन पूजा गरिन्छ ती नारीलाई फेरी पनि ऊ होच्याउँदै आफूभन्दा होची ठान्दै आशीर्वाद दिन खोज्दछ । परम्पराले यसो नगर भन्दछ ।

शास्त्रले माया, ममता, शान्ति, दया, बुद्धि आदि सबै भाव र शक्तिकी प्रतिक हरेक स्त्रीहरू हुन् त्यसैले तिनलाई दुर्गा समान मान र कम से कम दसैँमा भए पनि स्तुति गर भन्दछ । जुन दुर्गालाई सकल देवताको तेजले जन्मायो त्यो तेजको प्रतिबिम्ब स्त्रीलाई मानिस स्तुति गर्नुको साटो आफैँ ठूलो भएर आशीर्वाद दिन खोज्दछ । १२ वर्ष रामायण पढायो भोलिपल्ट ‘साँच्ची सीता कसकी छोरी ?’ भनेर सोद्धछ । दसैँमा स्त्रीहरूलाई आशीर्वाद दिइन्न, उनीहरूको स्तुति गरिन्छ र उनीहरूबाट आशीर्वाद लिइन्छ । उपरोक्त टीका लगाउँदा प्रयोग हुने श्लोकहरूको मूल मर्म यही नै हो ।

प्रतिक्रिया