इरानमा पाँचौँ दिन पनि हिजाब आन्दोलन जारी

तेहरान । महसा अमिनी नामक महिलाको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा सुरु भएको विरोध प्रदर्शन रोकिने छाँटकाँट छैन । इरानका विभिन्न सहरमा लगातार पाँचौँ दिन पनि प्रदर्शन जारी छ । बीबीसीले तेहरान, तालेश, मशाद, जेहेदान, अहवाज, सिर्जन, अमोल, केशम र नौशहर लगायतका शहरहरूबाट भिडियोहरू प्राप्त गरेको छ ।

यी आन्दोलनमा ‘तानाशाहको मृत्यु होस्’ लगायतका नारा लगाइँदैछन् । यो नारा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको लागि लगाइएको थियो । पाँचौं दिन पनि जारी आन्दोलनमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । यससँगै इरानका धेरै भागहरूमा इन्स्टाग्राम र व्हाट्सएप जस्ता सामाजिक सञ्जाल एपहरू प्रतिबन्धित छन् ।

महिलाहरुले लगातार पाँचौ दिन पनि विभिन्न स्थानमा हिजाब जलाएर विरोध प्रदर्शन जारी राखेका छन् । महसा अमिनी नामकी युवतीको प्रहरी हिरासतमा मृत्यु भएपछि इरानमा पछिल्लो समय प्रदर्शन सुरु भएको छ ।

इरानको कुर्दिस्तान प्रान्तकी २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएको हो । उनलाई गत हप्ता तेहरानमा ‘हिजाब नियम पालना नगरेको आरोपमा’ गिरफ्तार गरिएको थियो ।
तेहरानको नैतिकता पुलिसका अनुसार इरानमा ‘सार्वजनिक रूपमा कपाल ढाक्ने र खुकुला लुगा लगाउने’ नियमलाई कडा रुपमा लागू गर्ने सिलसिलामा केही महिलालाई हिरासतमा लिइएको थियो । महसा तीमध्ये एक थिइन् ।

तेहरान प्रहरीका कमान्डर हुसैन रहिमीले सोमबार दिएको जानकारी अनुसार प्रहरीविरुद्ध ‘कायरतापूर्ण आरोप’ लगाइँदैछ । उनले भने, ‘महसामाथि कुनै हिंसा भएको थियो र प्रहरीले उनलाई जिउँदो राख्न जे जति गर्न सक्थ्यो, त्यो सबै गर्यो ।’

प्रतिक्रिया