हटाएका सबै खेलाडीलाई समेट्दै राष्ट्रिय टिम घोषणा

काठमाडौं । सुमन लामाबाहेक अब्दुल्लाह अल्मुताइरीले हटाएका सबै खेलाडीलाई समावेश गर्दै नेपाली राष्ट्रिय टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले बिहीबार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्सीय टोलीको घोषणा गरेका छन् । एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको तयारीका क्रममा अल्मुताइरीले ‘छाडेर जा’ भनेको भन्दै सिनियर १० खेलाडीले राष्ट्रिय टोलीको ‘क्याम्प’ छाडेका थिए । त्यसपछि तत्कालीन मुख्य प्रशिक्षक अल्मुताइरीले १० खेलाडीसँगै नियमित कप्तान किरण चेमजोङ र विकेश कुथुलाई टिमबाट बाहिर राखेर एसियन कप छनोटका लागि टिम बनाएका थिए ।

पंकज नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएपछि पहिलो कार्यसमिति बैठकबाटै १० खेलडीलाई राष्ट्रिय टोलीमा समावेश गर्ने निर्णय भएको थियो । कार्यसमितिको उक्त निर्णयले सैद्धान्तिक रूपमा प्रशिक्षकको अधिकारमाथि हस्तक्षेप गरेको थियो । कार्यबाहक मुख्य प्रशिक्षक हुमागाईंले पनि सबै खेलाडीलाई टिमलाई समावेश गरेका छन् । त्यतिबेला क्याम्प छाडेका सुमन लामा भने विदेश रहेका कारण टिममा छैनन् । सुमनबाहेक विशाल श्रेष्ठ, रोहित चन्द, तेज तामाङ, सुजल श्रेष्ठ, विमल घर्तिमगर, विशाल राई, अनन्त तामाङ, दिनेश राजवंशी, अञ्जन विष्ट टिममा अटेका छन् । त्यस्तै नियमित कप्तान किरण र विकेश पनि टिममा समावेश छन् ।

यी १२ खेलाडी टिममा नहुँदा कप्तानको भूमिकामा रहेका फरवार्ड नवयुग श्रेष्ठ भने टिममा छैनन् । प्रशिक्षक हुमागाईंंले फरवार्ड ऋतिक खड्का र आशिष चौधरीलाई टिममा मौका दिएका छन् । दुवैजना पहिलोपटक राष्ट्रिय टिममा परेका हुन् । नेपालले असोज ११ गते दशरथ रंगशालामा बंगालदेशविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाली टिम:

गोलकिपरः– किरण चेमजोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

रक्षकः– रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दीनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल

मिडफिल्डरः– सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदेम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यू ठकुरी, एरिक विष्ट

फरवार्डः– विमल घर्तिमगर, अञ्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी, आशिष चौधरी

प्रतिक्रिया