बस दुर्घटनामा १२ जनाको मृत्यु

काठमाडौंबाट वीरगञ्जका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको बस

काठमाडौं । मकवानपुर र रुकुमपूर्वमा बिहीबार भएको छुट्टाछुट्टै बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

काठमाडौंबाट वीरगञ्जका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको स्थानीयले जनाएका छन् । स्थानीय प्रहरीका अनुसार, ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्किएको छ । घाइतेहरूको हेटौंडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी रुकुमपूर्वको भूमे गाउँपालिका–३ क्याङ्सी बगरमा बिहीबार भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । काठमाडौंबाट रुकुमकोट जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै पाँच जनाको मृत्यु भएको जानकारी जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दिए ।

मृतकको सनाखत हुन बाँकी छ । बसमा सवार रहेका १७ मध्ये १३ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले बस दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । उनले रूकुमपूर्व बस दुर्घटनामा परेका घाइतेहरूको उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिए । गृहमन्त्री खाँणले रूकुमपूर्वका प्रहरी र प्रशासन प्रमुखलाई फोन गरेर घाइतेको उद्धार गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया