गोलरक्षक रुपनाको घर सरकारले बनाइदिने

ढाका । साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट गोलरक्षक घोषित बंगलादेशकी रुपना चक्माको घर सरकारले बनाइदिने भएको छ । बंगलादेशको नानिआर्चर उपजीलाकी बासिन्दा रुपनाको कमजोर स्थितिलाई मध्यनजर गर्दै सरकारले उनलाई घर बनाइदिने भएको हो ।

रुपनाले मंगलबार आफ्नो फेसबुकमा पोस्ट गर्दै सरकारी प्रतिनिधिलाई धन्यवाद दिएकी छिन् । बंगलादेशले सोमबार साफ च्याम्पियनसिपको उपाधि जितेपछि रंगमती जिल्लाका कमिस्नर मोहमद मिजानुर रहमान उपहार र नगद पुरस्कार दिन नानिआर्चर पुगेका थिए । एकै ठाउँका रुपना र ऋतु पुरना चक्मालाई जनही १ लाख ५० हजार टाँका नगद पुरस्कारसहित सरकारी टोली निवास पुगेको थियो ।

तर त्यहाँ पुगेपछि गाउँमा रहेको रुपनाको घरको कमजोर स्थिति देखेपछि सरकारले घर बनाउने रहमानले बताए । उनले स्थानीय अधिकारीलाई घरको अवस्था अध्ययन गरेर त्यहाँसम्म पुग्ने बाटो र पुल पनि निर्माण गर्न निर्देशन दिएको बंगलादेशी संचारमाध्यमले जनाएका छन् ।

बंगलादेशको टोली बुधबार दिउँसो बंगलादेश पुगेको छ । विजयी टोलीलाई ढाकामा भव्य स्वागत तथा सहर परिक्रमा गराउने क्रम जारी छ । विजयी टोलीलाई बंगलादेश क्रिकेट बोर्डले नगद पुरस्कार दिने चर्चा छ । केन्द्रीय सरकारले हालसम्म नगद पुरस्कार घोषणा गरिसकेको छैन ।

प्रतिक्रिया