सरकारी जागिर छाडेर बाख्रापालन

मेलम्ची । ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ’ गायक पशुपति शर्माको यो गीतलाई इन्द्रावतीका एक युवाले चरितार्थ बनाएका छन् । जागिर छाडेर पशुपालनमा लाग्ने रहर थोरैलाई मात्र लाग्ने गर्छ । ती थोरैमध्येका एक हुन्, रविन्द्रविक्रम थापा । सशस्त्र प्रहरीको जागिर चटक्कै छाडेर उनले अहिले पशुपालन तथा कृषि फार्म दर्ता गरेर सञ्चालन गरिरहेका छन् ।

इन्द्रावती–४ का रविन्द्र विक्रम थापाको दैनिकी आजकल फाममै बित्ने गर्दछ । उनकोे दिनचर्या बिहान ५ बजेदेखि सुरु हुन्छ । उनले आफ्नो फार्ममा भएका भैँसी, बाख्रा र कुखुराको रेखदेख र स्याहारसुसारमै दिन बिताउने गरेका छन् । व्यावसायिकरूपमा सञ्चालित फार्ममा उनले केही सहयोगीहरू राखेका छन् । तैपनि उनलाई सबै ठाउँमा एकपटक भए पनि पुग्नैपर्ने बानी नै लागिसकेको छ । बिहानदेखि साँझसम्म उनलाई फार्ममै भेटिन्छ ।
सशस्त्र प्रहरीमा कार्यरत उनले सेवा अवधि नसकिँदै बीचैमा जागिर छोडे । १३ वर्षमै जागिर छोडेर १८ महिनाअघिदेखि पाल्चोकी कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर बाख्रापालन सुरु गरे उनले । एकपटक वैदेशिक रोजगारमा जान्छु भन्ने सोच नआएको पनि होइन उनलाई तर कोरोना महामारीका कारण विदेश जान पाएनन् । ‘म कसैको मातहतमा रहेर जागिर खान मन नलाग्ने मान्छे । कि आफैँ केही गर्छु, कि एकपटक विदेश गएर आउँछु भन्ने सोच आयो तर जान पाइएन,’ उनले भने ।

वैदेशिक रोजगारीको यात्रा सफल नभएपछि दिदी भिनाजुको सल्लाहबमोजिम नै उनले नेपालमै केही गर्ने सोच बनाए । गाउँमा केही गरौँ भन्ने सोच लिएर कृषि तथा पशुपक्षी फाम दर्ता गरे । सामाजिक सञ्जालमा बढी चाख राख्ने उनी त्यहीँबाट बाख्रापालनका बारेमा सिके ।
गाउँपालिकामार्फत दुईदिने कुखुरापालनको तालिमसमेत लिए । त्यसले पनि उनलाई व्यावसायिक उद्यमतिर लाग्न प्रेरित ग¥यो । सुरुमा १ लाख ८० हजार रुपैयाँमा १२ वटा बाख्रा किनेर फार्मको सुरुआत गरे । उनको फाममा अहिले ३६ वटा बाख्रा छन् । बाख्रासँगै उनले स्थानीय जातका कुखुरा, १ हजार ५ सय ब्रोइलर कुखुरा, तीन वटा भँैसी र एउटा गाई पनि पालेका छन् । व्यावसायिक पशुपालनबाट अहिले मासिक ६०÷७० हजार रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाए ।

करिब १२ रोपनी क्षेत्रफलभित्र रहेको उनको फार्ममा सात वटा टहरा छन् । हालसम्म संरचना निर्माणदेखि पशुपक्षीसम्ममा २४ लाख रुपैयाँ लगानी गरिसकेका छन् । ‘आफ्नो परिश्रमसहित हिसाब गर्ने हो भने ४० लाख रुपैयाँ लगानी भएको छ,’ उनले भने । कतिपय आफैँले गर्नसक्ने कामहरू उनी आफैँ पनि गर्छन् ।

जागिरे जीवन छाडेर व्यावसायिक बाख्रापालन सुरु गरेका थापाको मिहिनेत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेका युवाका लागि उहाँ प्रेरणाको स्रोत बनेका छन् । आफ्नै गाउँमा बसेर पनि केही गर्न सकिन्छ भन्ने उदाहरण उनले दिएका छन् । स्थानीय जातको बाख्रापालनमा विषेश जोड दिएका छन् उनले । धेरैले उन्नत जातको बाख्रापालनलाई प्राथमिकता दिए पनि उनलाई स्थानीय जातकै बाख्रापालन गर्न रहर लागेको बताए । ‘उन्नत जातको भन्दा स्थानीय जातको बाख्रापालन गरेर मैले राम्रो आम्दानी गरिरहेको छु,’ उनले भने । स्थानीय जातको बाख्रापालन गर्दा खर्च पनि कम हुनुका साथै स्थानीय हावापानीमा सुहाउँदो हुने हुनाले पनि स्थानीय जातको बाख्रापालन गरिरहेको उनले सुनाए ।

स्थानीय जातको भनेपछि व्यापारीले घरघरबाटै खसी, बोका लैजाने गरेको उनले सुनाए । बाख्रा सँगसँगै कुखुराबाट पनि उनले राम्रो आम्दानी गरेका छन् । दश पटक ब्रोइलर कुखुरा बेच्दा छ लाख रुपैयाँ फाइदा भएको उनले बताए । १८ महिनाको अवधिमा १३ लाख रुपैयाँ आम्दानी गरिसेका छन् उनले । छोटो समयमा नै यति धेरै प्रगति गरेको देखेर गाउँका कतिपय युवाहरू पनि व्यावसायिक उद्यमतर्फ लाग्न उत्साहित भएका छन् ।
बाख्रा र कुखुराबाट मात्र नभई गाई, भैँसीबाट पनि राम्रो आम्दानी गरिरहेको उनले सुनाए । उनको फार्ममा दुई वटा दुहुनो भैँसी र एउटा दुहुनो गाई छ । दूध बेचेर पनि राम्रो आम्दानी भइरहेको छ । ‘दूध बेचेर मात्रै पनि घरखर्च चलेको छ,’ उनले भने ।

कम्पोष्ट मल प्रयोग गरेर अर्गानिक तरकारीसमेत लगाएका छन् उनले । आफूलाई खान पुग्ने तरकारी आफँै लगाएका छन् । उनको फार्म वरिपरि लटरम्मै फर्सी फलेका छन् । केही समयअघि उनले च्याउखेतीसमेत गरेका थिए । च्याउबाटसमेत ८० हजार रुपैयाँ आम्दानी भएकोे उनले जानकारी दिए । ‘भेन्टा पनि हुकिँदै छन्, गोलभेंडा पनि लगाएको थिएँ, त्यसबाट पनि राम्रो आम्दानी भएको थियो,’ उनले भने ।

मौसमअनुसारको तरकारी पनि फलाउने गरेको उनले बताए । व्यवसायमा उनलाई घर परिवारबाट राम्रो साथ र सहयोग रहेको छ । ‘हामी श्रीमान् श्रीमती मिलेर काम गर्छाैं, एकअर्काको साथ सहयोगले गर्दा यहाँसम्म आएका हौँ,’ उनले भने, ‘म बाख्रा चराउन गएका बेला उनी गाई, भैँसी र कुखुराको स्याहार गर्छिन् ।’ उनीहरूले कुटानीपिसानी मिलसमेत सञ्चालन गरेका छन् । बिहान बेलुकाका समयमा धान कुट्ने, मकै र मसला पिँध्नेसमेत गर्छन् । यसबाट वरिपरिका स्थानीयलाई समेत सहज भएको छ ।

सरकारको यसरी नै गाउँघरमा बसेर काम गरिरहेका युवालाई सहयोग गर्ने हो भने कृषिउपजमा आत्मनिर्भर बन्न सकिने उनको बुझाइ छ । स्थानीय सरकारले कृषिमा अनुदानका कार्यक्रम सँगसँगै आधुनिकीकरण गरेर लैजानुपर्नेमा उनले जोड दिए । खोर व्यवस्थापन, आधुनिक खेती प्रणालीजस्ता कुराको तालिम सरकारले उपलब्ध गराउनसके कृषकहरूमा थप ऊर्जा थपिने थापाले बताए । त्यसो गर्न सकेमा कृषक आफैँ उत्साहित हुने उनको विश्वास छ । ‘कृषिमा युवा नआएसम्म परिवर्तन सम्भव छैन । सरकारले सहयोग गरेन भने हामीले केही गर्न सक्दैनौँ । सरकारी सहयोग नभएमा युवा विदेश जान बाध्य हुनुपर्ने अवस्था छ । सरकारले युवा व्यवसायमैत्री नीति बनाउनसके युवा विदेश पलायन हुनबाट रोकिन्छन् र स्वदेशमै उत्पादन बढ्न जान्छन,’ उनले भने ।

प्रतिक्रिया