मुकेश अम्बानीले उत्तराधिकारीमा छोरी

नयाँ दिल्ली । भारतीय अर्बपति मुकेश अम्बानीले आफ्नो कम्पनी रिलायन्सको उत्तराधिकारीको योजनामा छोरीलाई अघि बढाएका छन् । बीबीसीका अनुसार रिलायन्स ग्रुप अफ कम्पनीको वार्षिक साधारणसभामा मुकेशले रिलायन्सको उत्तराधिकारीको रुपमा छोरी ईशा अम्बानीलाई अघि सारेका छन् ।

मुकेशले वार्षिक साधारण सभामा आफ्ना तीन सन्तानमध्ये प्रत्येकका लागि निश्चित भूमिका कोरेका छन् । अम्बानीका जेठा जुम्ल्याहा सन्तान आकाश र इशा अम्बानीले क्रमशः रिलायन्स इन्डष्ट्रिज लिमिटेडको दुरसञ्चार र खुद्रा व्यवसायको नेतृत्व गर्नेछन् जबकी उनका कान्छो छोरा अनन्तलाई नयाँ ऊर्जा सम्हाल्न तयार पारिएको छ ।

बजार मूल्याङ्कनका आधारमा रिलायन्स भारतको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक हो । यसको कुल सम्पत्ति २ सय २० अर्ब अमेरिकी डलर रहेको छ । बुवा धिरुभाइ अम्बानीको निधनपछि आफू र आफ्ना भाइ अनिल अम्बानीबीच सम्पत्तिको विषयमा अत्यधिक झगडा भएका कारण, उनी इतिहास दोहोराउने पक्षमा थिएनन् । त्यसैले पनि उनले आफ्नो समय रहँदा नै सम्पत्तिको किचलो नहोस् भनेर उत्तराधिकारीको स्पष्ट रोडम्याप तयार पारेको धेरैले बताएका छन् ।

प्रतिक्रिया