काठमाडौं २ मा युवा नेता अधिकारीकाे स्वतन्त्र उम्मेदवारी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट स्वतन्त्र रूपमा युवा नेता प्रकाश अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । उम्मेदवारी घोषणा गर्दै अधिकारीले हालको राजनीतिक व्यवस्थामा चुनौतीको चाङमा रहेको बताए । कानुन व्यवसायी समेत रहेका उनले आफूमा नयाँ व्यवस्थाबारेको भिजन, मिसन र एक्सन रहेको बताए । मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा उनले गरेका हुन् ।

यसै क्षेत्रका स्थानीय बासिन्दा समेत रहेका उनी तार्किक, बौद्धिक तथा स्पष्ट वक्ता मानिन्छन् । समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेका उनी समाजसेवी तथा शिक्षाप्रेमीका रुपमा पनि चिनिन्छन् । उनले त्रिविबाटै ‘Artificial intelligence and employment’ भन्ने शीर्षकमा विद्यावारिधी (पिएचडी) गरिरहेका छन् ।

संसद लगायत राज्यको नीति निर्माण तहमा प्रभावकारी तरिकाले काम गर्नसक्ने युवाको खडेरी रहेको अवस्थामा आफ्नो उम्मेदवारीले वर्तमान संसदीय व्यवस्था भित्रका विकृतीका बारेमा विरोध गर्ने बताए । राज्यको नीति निर्माणको तहमा कानुनी ज्ञान भएको व्यक्ति आवश्यक पर्ने उनी बताउँछन् ।

चुनावमा अन्य राजनीतिक दलहरुबीच कसलाई उम्मेदवार बनाउने बहस भइरहँदा उनको यस्तो घोषणाले शुभचिन्तक पनि आश्चार्यमा परेका छन् । उनले आफनो उम्मेदवारी राजनीतिकभन्दा पनि विकासका लागि भएको बताउँदै आएका छन् । ‘व्यवस्था फेरिए, व्यक्ति फेरिए तर जनताको अवस्था फेरिएको छैन,’ त्यसैले मैले उम्मेदवारीको घोषणा गरे अधिकारीले बताए । ‘पार्टीको टिकटमा उठ्नु र जित्नु भनेको नुनको सोझो गर्नु हो’ उनले भने, ‘स्वतन्त्र भएर गएपछि कार्यकर्ता भन्दा जनताप्रति उत्तरदायी हुनका लागि उम्मेदवारी घोषणा गरेकाे हुँ ।’

प्रतिक्रिया