देशभरका कृष्णमन्दिरमा भक्तजनको घुइँचो (फोटो फिचर)

श्रीकृष्ण जन्माष्टमीका अवसरमा व्यास नगरपालिका–३ स्थित श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक केन्द्रले शुक्रबार बिहान दमौलीमा निकालेको शोभा यात्रामा कृष्ण र राधाको भेषमा सजिएका बालबालिका । तस्बिर : कृष्ण न्यौपाने/रासस

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको उल्लेख्य उपस्थिति छ । यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

राजधानीको मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्ण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति छ। वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना–कुनामा रहेका कृष्ण मन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रुपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवत गीतामा अर्जुनका माध्यमबाट आममानिसलाई शिक्षा दिएका छन् ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । रथयात्रा भने अष्टमीको भोलिपल्ट निकालिन्छ ।

अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुसीयालीमा भाद्र कृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । – रासस

प्रतिक्रिया