रिट्विट गर्दा ३४ वर्ष कैद !

रियाद । साउदी अरेबियामा सरकार विरोधीहरूलाई ट्विटरमा फलो गरेको र रिट्विट गरेको अभियोगमा विद्यावारिधि गर्दै गरेकी ३४ वर्षीया छात्रालाई ३४ वर्ष लामो कारावास सजाय सुनाइएको छ । दि गार्डियनकाअनुसार उनलाई राष्ट्रिय सुरक्षामा आँच पुर्याउन चाहनेहरूलाई ट्विटरमा पछ्याएर उनीहरूलाई सहयोग गरेको अभियोग लगाइएको हो ।

मानव अधिकारवादी समूहहरूले कुनै पनि अभियन्तालाई सुनाइएको यो सबैभन्दा लामो कारवास भएको र यसले साउदी सरकारले सरकार विरोधी अभियन्ताहरूलाई थप दमन गर्न सक्ने संकेत दिएको बताएका छन् ।

बेलायतको लिड्स विश्वविद्यालयमा अध्ययनरत सलमा अल–सिहावलाई सन् २०२० को डिसेम्बरमा बिदामा साउदी अरेबिया गएकोबेला सरकारले पक्राउ गरी छानबिन पश्चात् मुद्दा चलाएको थियो ।

दुई सन्तानकी आमा अल–सिहावलाई सुरुमा वेबसाइट प्रयोग गरी सार्वजनिक अस्थिरता निम्त्याएको र नागरिक तथा राष्ट्रिय सुरक्षामा आँच पुर्याएको भन्दै तीन वर्ष लामो कारावास सजाय सुनाइएको दि गार्डियनले उल्लेख गरेको छ ।

तर, सोमबार एउटा पुनरावेदन आदलतले उनलाई ट्विटर एकाउन्ट दुरुपयोग गरेको नयाँ अभियोगमा सजाय थपेको हो । उनीमाथि अदालतले ३४ वर्ष लामै यात्रा प्रतिबन्ध पनि लगाएको छ ।

दि गार्डियनकाअनुसार उनले साउदी अरेबियामा थुनिएका राजनीतिक बन्दीहरूलाई रिहाइ गर्नुपर्ने भन्दै सरकार विरोधीहरूले गरेको आह्वान रिट्विट गरेकी थिइन् । उनले महिलाहरूलाई सवारी साधन हाँक्ने अधिकार दिनुपर्ने विषयमा पनि आवाज उठाएकी थिइन् ।

प्रतिक्रिया