गाँजा खाने टुरिष्टलाई थाइल्याण्ड नआउन आह्वान

बैंकक । थाइल्याण्डका स्वास्थ्यमन्त्रीले गाँजा खानमात्र आउने पर्यटकहरूलाई आफ्नो देशको भ्रमणमा नआउन आह्वान गरेका छन् । दुई महिनाअघि थाइल्याण्डमा गाँजाको प्रयोगलाई अपराध नमान्ने कानुन आएपछि धेरै पर्यटकहरु गाँजा सेवनकै लागि जाने गरेको पाइएको छ । ‘हामी त्यस्ता पर्यटकलाई स्वागत गर्दैनौँ,’ अनुतिन चर्नभिराकुलले बुधबार पत्रकारहरुसँगको कुराकानीमा भने ।
सन् २०१८ मा थाइल्याण्डले चिकित्सकीय प्रयोगको लागि गाँजाको प्रयोगलाई वैध बनाएको थियो । थाइल्याण्ड कुनै पनि उद्देश्यका लागि गाँजाको प्रयोगलाई वैध बनाउने पहिलो दक्षिणपूर्वी एशियाली मुलुक थियो ।

यो वर्ष जुनमा भने कुनै पनि प्रयोजनको लागि गाँजा सेवन गर्दा कारबाही नहुने कानुन पास गर्यो । सरकारले गाँजाको सेवनलाई वैध बनाएको भएपनि उच्च प्रयोगमा सावधानी अपनाउन आग्रह गरेको छ । सरकारको आग्रहका बाबजुद गाँजा सेवन लोकप्रिय बनेको छ । रेष्टुराहरुमा गाँजा सेवनको लागि अलग कोठाको व्यवस्था गर्न थालिएको छ ।
गाँजाको प्रयोग वैध भएको भए पनि सार्वजनिक स्थानमा सेवन गर्नेहरुलाई तीन महिनाको जेल सजाय वा झण्डै ७०५ अमेरिकी डलर जरिवाना तोकिएको छ ।

प्रतिक्रिया