यी क्षेत्रमा हुन्छ आज वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आगामी २४ घण्टा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन–यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी र लुम्विनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम २१ दशमलव छ डिग्री र अधिकतम तापक्रम ३० दशमलव दुई डिग्री सेल्सियस छ ।

प्रतिक्रिया