बिद्युतीय उर्जाको प्रयोग बढाउनु पर्छ : उर्जा मन्त्री

काठमाडौं । उर्जा मन्त्री पम्फा भुसालले सरकार, निजी क्षेत्र र आम नागरिकले बिद्युतीइ उर्जाको प्रयोग बढाउनुपर्ने बताएकी छिन । बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७ औँ वार्षिकोत्सवको अवसमरा मन्त्री भुषालले विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले विद्युतीय गाडी मात्र खरिद गर्नुपर्ने बताउदै उनले सरकारका सबै मन्त्रालयले बिद्युतीय उर्जाको प्रयोग बढाउुनपर्नेमा जोड दिएकी हुन ।

भुसालले प्राधिकरणले विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने योजनालाई प्रभावकारी ढंगबाट अघि बढाउनुपर्ने भन्दै विद्युत खपत बढाउन विद्युतीय सवारी साधन खरिद गर्नुका साथै चार्जिङ स्टेशनको निर्माणलाई तिव्रता दिनुपर्ने बताइन ।

मन्त्री भुसालले मिटर जोड्न महिनौं लगाउने प्राधिकरणका कर्मचारीहरुलाई कारबाही गर्न पनि निर्देशन दिइन् । उनले मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत खपत बढाउन अनुरोध गर्दै मिटर जोड्ने कामलाई महिनौ लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिइन ।

उर्जा मन्त्री भुषाले निजी क्षेत्रले भोगेका समस्यामा सरकार गम्भीर रहेको भन्दै सरकार विद्युत उत्पादनको क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढेको बताइन । प्राधिकरणले विद्युत सम्झौता गरेका ३ हजार २ सय मेगावट जलविद्युत निर्माणधिन अवस्थामा रहेको भन्दै सरकारसँग सम्झौता गरेर विद्युत उत्पादन नगरी खोला नदी ओगट्ने कम्पनी निषेध गर्ने नीति राज्यले लिएको उनको भनाई थियो ।

प्राधिकरणलाई उत्कृष्ठ बनाउने दावी

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन । प्राधिकरणले विद्युत निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताउँदै उनले आर्थिक सुधार गर्न सरकार समेत लागेको जानकारी गराएका थिए । उनले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवा र उर्जामन्त्री भुसालको आगमनसँगै प्राधिकरणले विद्युत व्यापार गर्न सफल भएको हो’ ।

घिसिङले प्रत्येक वर्ष २० देखि २५ प्रतिशतले विद्युत खपत बढाएर उर्जा क्षेत्रको ठूलो फड्को मारेको बताए । घिसिङले विद्युत प्राधिकरणले ३७ वर्षको इतिहासमा सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख खुद नाफा आर्जन गर्न सफल भएको उनको भनाई थियो । उनले विद्युत खपतमा भएको वृद्धि,विद्युत चुहावट नियन्त्रण,प्राधिकरणको विद्युत गृहबाट उत्पादित विद्युत परिणाममा भएको वृद्धि, ४५७ मेगावाट माथिल्लो तामाकोशी जलविद्युतको सञ्चालन, विद्युत आयातमा कमी, निर्यातमा भएको वृद्धि र अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रणका कारणले नाफा आर्जन सम्भव भएकोमा पनि जोड दिए ।

नेपालका ९३ प्रतिशत जनताले विद्युत सुविधा पुगेको बताउदै घिसिङले वैकल्पिक उर्जा समेत गरेर करिव ९६ प्रतिशत जनताले विद्युत सुविधा पाएको दाबी गरे । उनले अहिलेसम्म ४२ जिल्ला पूर्णविद्युतीकरण भएको र आगामी दुई वर्षभित्र शतप्रतिशत जनता सामु विद्युत पहुँच पुर्याउने सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले सम्पूर्ण साधन, स्रोत परिचालन गरेको जानकारी दिए ।

प्रतिक्रिया