चलेन ‘लाल सिंह चड्डा’

मुम्बई । बलिउड अभिनेता आमिर खान अभिनीत चलचित्र ‘लाल सिंह चड्डा’ ले खासै राम्रो व्यापार गर्न सकेको छैन । चलचित्र नै फ्लप भएपछि वितरकहरूले आमिरसँग क्षतिपूर्तिको माग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । १८० करोडको लागतमा बनेको यस चलचित्रले ४ दिनमा ३७ करोड ९६ लाख भारतीय रुपैयाँ कमाएको जनाइएको छ । यो निकै निराशाजनक कमाइ हो ।

अभिनेता आमिरको यसअघिको चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ ले पहिलो दिनमै ५२ करोड भारु कमाएको थियो । चलचित्रको कथा कमजोर भएको भन्दै यो चलचित्र पनि बक्स अफिसमा फ्लप सावित भएको थियो । भारतीय सञ्चार माध्यमका अनुसार लगातार दुई चलचित्र नचलेपछि अभिनेता आमिर स्तब्ध भएका छन ।
हलिउड चलचित्र ‘फरेस्ट गम्प’ को रिमेकका रुपमा ‘लाल सिंह चड्डा’ बनेको छ । भारतमा यो चलचित्र प्रदर्शनमा आउनुअघि नै सामाजिक सञ्जालमा बहिष्कार अभियान चलेको थियो । यसको असरसमेत बक्स अफिसमा देखिएको ।

चलचित्र नचलेपछि वितरकहरूले आमिरसँग क्षतिपूर्ति पाउनुपर्ने माग राखेका छन् । आमिर यस चलचित्रको सह–निर्मातासमेत हुन् । चलचित्रका मुख्य अभिनेता र निर्माता भएकाले असफलताको जिम्मेवारीसमेत आमिरलाई नै बनाइएको छ । अद्वैत चन्दनले निर्देशन गरेको चलचित्रमा आमिरसँगै अभिनेत्री करिना कपुर, मोना सिंह, नागा चैतन्य लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया