विकासको नमुना बन्दै बागमती नगरपालिका

सर्लाही । मधेस प्रदेशका अधिकांश स्थानीय तहहरू आन्तरिक विवादका कारण अत्यन्त जर्जर बनिरहेका बेला सर्लाहीको बागमती नगरपालिकाको अवस्था भने निकै फरक छ । नगरको दिगो विकास र समृद्धिका लागि महत्वपूर्ण योजनाहरू कार्यान्वयन गर्ने कार्यमा जनप्रतिनिधि सक्रिय रूपमा लागि परेको छ । पहिलोपटक निर्वाचित भएलगत्तै तलब भत्ता नलिने शपथ खाएका र आफ्नो लागि गाडी किन्न छुट्याइएको बजेटबाट जनताका लागि पानी ढुवानी गर्न ट्यांकर किनेर चर्चामा आएका नगरप्रमुख भरतकुमार थापाको नगर विकासको योजनाले यतिबेला सबैको मन जितेको छ । नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित उनले आफ्नो कार्यकालमा नगरलाई देशकै नमुना पालिका बनाउने योजनाका साथ अगाडि बढेको बताए ।

नगरप्रमुखमा आफू निर्वाचित भएर आएपछि नगरको चौतर्फी विकासमा ठूलो सम्भावना र चुनौती देखेको नगरप्रमुख थापाले बताए । ‘नगर विकासको महत्वपूर्ण पाटो आन्तरिक आयस्रोत भए पनि हामीसँग त्यस्तो केही थिएन’, उनले भने, ‘त्यसैले मेरो पहिलो प्राथमिकता नै नगरको दिगो विकास, सुन्दरता परेको होे ।’ यस नगरलाई प्रदेशकै सुन्दर र रमणीय पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख थापाले बताए ।

‘अरू पालिकाको जस्तो बेच्ने सामान वा उद्योगधन्दा केही हामीसँग छैन्’, नगरप्रमुख थापाले भने, ‘हामी पवित्र बागमतीको काखमा छौँ, उत्तरमा चुरे शृंखला छ, यसैलाई सिँगारेर नगरको आम्दानी गर्ने योजना बनाएका हौंँ ।’ बागमती नगरपालिकाका नगरप्रमुख थापाले कोरोना भाइरसको विषम परिस्थितिमा समेत नागरिकको साथ बटुल्दै नागरिकको समस्या समाधान तथा राहत वितरणमा समेत माना पाथी अभियान सञ्चालन गरेका थिए ।
यस नगरपालिकाले पहिलो कार्यकालमा सडक, शिक्षा र नगरको राष्ट्रिय गौरवको आयोजनामा समेत उल्लेख्य काम गरेको छ । अघिल्लो कार्यकालमा करिब दुई सय किलोमिटर सडक कालोपत्र गरिसकेको छ । नगरका अधिकांश सडकको स्तरोन्नतिपछि धुलो र हिलोमुक्त भएको छ ।

नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा गरेको कायापलटले नगरवासीको मन जितेको छ । बर्थिङ सेन्टरकै कारण सुत्केरीले पाउँदै आएको सास्तीसमेत कम भएको नगरवासी बताउछन् । विद्यालयको भौतिक संरचनाले मुहार फेरेसँगै विद्यार्थीको सिकाइ प्रभावकारी बनेको छ । बालमैत्री वातावरणमा शिक्षण सिकाइ, मन्टेश्वरी विधि र आधुनिक प्रविधिमैत्री शिक्षा बागमती नगरपालिकाको उद्देश्य रहेको नगर शिक्षा शाखाप्रमुख ओमबहादुर कार्कीले बताए । उनका अनुसार नगरपालिकाले दक्ष जनशक्ति उत्पादनलाई जोड दिँदै नगरमै सस्तो सर्वसुलभ ढंगले सिभिल इन्जिनियर, कृषि विज्ञान र पशु विज्ञानजस्तो महत्वपूर्ण प्राविधिक शिक्षासमेत सञ्चालन गरिरहेको छ ।

नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रुपमा सुरु गरेको गौरवको आयोजना पोखरीको निर्माण कार्यको दुई चरण सम्पन्न गरिसकेको छ । कतिपय पोखरीको वरपर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको छ भने केही पोखरीमा पानी भरेर ढुंगा सञ्चालनसमेत भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताए । दीर्घकालीन रूपमा नगरको आयस्रोतका रूपमा समेत प्रयोग गर्न सकिने गरी पोखरीको परिकल्पना गरिएको उनले सुनाए ।

नगरपालिका–४ स्थित बागमतीको किनारमा निर्माण गरिएको पोखरी देशकै नमुना बन्नेछ । झन्डै १ सय २१ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको यो पोखरीमा माछापालनसँगै पर्यटकीय आकर्षणको थलो बनाइने लक्ष्य रहेको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन् ।

यस्तै नगरपालिकाले २८ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न फनपार्क पनि निर्माण गर्न लागेको उनले जानकारी दिइन् । यस क्षेत्रमा मात्र नभएर यस प्रदेशमै नभएको सुविधा सहितको फनपार्क बागमती नगरपालिकाले निर्माण आरम्भ गरेको छ । बागमती सिँचाइको ब्यारेज उत्तर हरिहर क्षेत्रमा करिब ६७ रोपनी क्षेत्रफलमा निर्माण हुने फनपार्कको पनि निर्माणको करिब ५० प्रतिशत काम सम्पन्न भइसकेको प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताए । फनपार्कमा सुविधा सम्पन्न अतिथि गृहदेखि स्विमिङ पुल, पार्कभित्र बालबालिकाका लागि खेल्ने सामग्रीसहितको चिल्ड्रेन पार्क, वनभोज स्थल, आकर्षक झर्ना, रेस्टुरेन्ट तथा बागमती किनारमा नदी सयरको समेत व्यवस्था रहनेछ ।

विकासलाई रोजगारमुखी बनाउने अभियानअन्तर्गत नगरपालिकाले वडा–३, ४ र ११ मा १ सय ८० बिघा क्षेत्रमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेको छ । बगैँचा निर्माणले नगरको पर्यावरणसमेत सन्तुलित रहने अपेक्षा गरिएको छ । यसैगरी कृषि, पशु, बजार लगायतको व्यवस्थापनमा समेत नगरले मुख्य रूपमा ध्यान दिइरहेको उपप्रमुख मोक्तानले बताइन् । नगरपालिकाले थालनी गरेको विकासका कार्यहरूप्रति आमजनतासँगै राजनीतिक पार्टीका नेता, कार्यकर्ताहरूले पनि खुलेर प्रशंसा गरेका छन् ।

प्रतिक्रिया