एकीकृत समाजवादीले भदौको पहिलो साताभित्र उम्मेदवारको टुंगो लगाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादी चुनावपछि नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी एकता संयोजन समिति बनाउन तयार भएको छ ।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजावदीसँग एकता संयोजन समिति बनाएर जाने संकेत गरेका थिए । त्यसैगरी भदौको पहिलो साताभित्र संघ तथा प्रदेशका सबै उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ ।
‘भदौ पहिलो साताभित्र पार्टीले संघ र प्रदेशका लागि उम्मेदवार तय गरिसक्ने निर्णय गरेको छ’, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकपछि भने ।

बुधबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले यसका लागि छलफल अघि बढाउने निर्णय गरेको प्रमुख खतिवडाले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार एकीकृत समाजवादीसँग एकता गर्न छिट्टै एकता संयोजन समितिको घोषणा हुने बताएका थिए ।

त्यस्तै बैठकले भदौ ९ गते देशभर पार्टी स्थापना दिवस मनाउने निर्णय समेत गरेको छ । नेकपा एमालेबाट विभाजित भएपछि नेकपा एकीकृत समाजवादीले ९ भदौमा नयाँ पार्टी दर्ता गरेको थियो ।

प्रतिक्रिया