निलम्बनसँगै भारत साफको प्रतियोगिताबाट बाहिरियो

नयाँ दिल्लीं । फिफाको निलम्बनसँगै भारतले अर्को महिना हुने साफको दुई प्रतियोगिता तथा फुकुवा नहुँदासम्म अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने भएको छ । नेपालमा अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसिपमा अब ६ टोलीबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । दक्षिण एसियाका सबै ७ राष्ट्रको सहभागिता रहने भनिएको प्रतियोगितामा फिफाले भारतलाई सोमबार निलम्बन गरेपछि अब ६ राष्ट्रको मात्र सहभागिता रहने भएको हो ।


भदौ २१ देखि असोज २३ गते सम्म दशरथ रंगशालामा हुने साफ च्याम्पिनसिपका लागि दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले यसअघि नै समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको थियो । च्याम्पियनसिपको छैटौं संस्करणमा आयोजक नेपालसँगै श्रीलंका र भुटान छन् । नेपालले हालसम्म साफ च्याम्पियनसिपमा श्रीलंका र भुटानविरुद्ध सबै खेलमा जित्दै आएको छ । भारत बाहिरिएपछि समूह ए मा अब बंगलादेश, माल्दिभ्स र पाकिस्तान रहने छन् ।


हालसम्म ५ संस्करणमध्ये नेपाल ४ पटक फाइनलमा भारतसँग पराजित भएको छ । सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो । भारत नहुँदा नेपाल टोली च्याम्पियन बन्ने सम्भावना बलियो भएको छ । त्यस्तै श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपमा पनि अब भारतले सहभागिता जनाउने छैन । उक्त प्रतियोगितामा नेपाल र भारत एकै समूहमा थिए । भारत नखेल्ने भएसँगै अब प्रतियोगिता राउन्ड रोबिन पद्दतिमा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंका, नेपाल, माल्दिभ्स, बंगलादेश र भुटान खेल्नेछन् । प्रतियोगिता ५ देखि १४ सेप्टेम्बरमा हुने तय थियो ।


भारत किन निलम्बनमा पर्यो ?


बाहिरी शक्ति हावी भएको उल्लेख गर्दै फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) लाई निलम्बन गरेको हो । फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि भारतमा विधान विपरित काम हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसो नगर्न चेतावनी दिएको थियो । तर फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले निलम्बन गरेको हो ।


फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने पाउने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । भारतले अक्टोबरमा आयोजना गर्ने तयारी गरेको यू–१७ महिला विश्वकप पनि अब अन्यत्र सर्ने भएको छ । फिफाका अनुसार अब एआइएफएफमा आफ्नै कमिटीले कार्यसम्पादन सुरु गरेपछि मात्र निलम्बन फुकुवाको प्रक्रिया सुरु हुनेछ ।

प्रतिक्रिया