‘सूर्य चिन्हबाट लड्दा हार्छु’

काठमाडाैं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित हुने भएपछि नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएको बताएका छन् । मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्नेसम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका उनले जित सुनिश्चित भएपछि माओवादीतिर लागेको बताएका हुन् ।


नेता गौतमले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नका लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको दाबी गरे । माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि संसद्मा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रूपमा रहने पनि उनले बताए ।
उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको दाबी पनि गरे । ‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु, त्यसैले जित्नका लागि म यसमा आएको हुँ । जित्ने आधार भनेको गठबन्धन हो । हँसिया हतौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसाबले अरू सबैभन्दा अगाडि छ,’ उनले भने ।


निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीको कुराले सबै कुरा बिग्रिने भन्दै प्रश्न नगर्न आग्रह गरे । केही समयअघि एक कार्यक्रममा उनले प्रधानमन्त्रीको दाबेदार बन्ने थाहा पाएपछि आफ्नो पार्टी नै निर्वाचनमा हराउन गर्न लागिपरेको बताएका थिए ।

प्रतिक्रिया