निर्वाचन आयोगमा ७६ दल दर्ता

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा ७६ वटा दल दर्ता भएका छन् । आगामी ४ मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले ३१ साउनसम्मको समय निर्धारण गरेको थियो ।

सोहीअनुसार निर्वाचन प्रयोजनका लागि अन्तिम दिन मंगलबारसम्म ७६ वटा दल दर्ता भएको आयोगले जनाएको छ । आयोगमा यसअघि नै दलहरू दर्ता रहेका हुन्छन् । तर, निर्वाचनमा भाग लिन पुनः दल दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।

‘आयोगको सूचनाअनुसार दल दर्ता गर्ने समय आजसम्म हो । मंगलबार ५ बजेसम्म आयोगमा ७६ वटा दल दर्ता भएका छन्,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि अन्तिम दिन मंगलबार नै आयोगमा दल दर्ता गराएको छ ।

निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता गराउने पहिलो दल भने सिके राउत नेतृत्वको जनमत पार्टी हो । जनमत पार्टी आयोगले दल दर्ताको सूचना जारी गरेको पहिलो दिन नै दर्ता भएको थियो । सत्ता गठबन्धनमा आबद्ध अन्य दल र प्रमुख प्रतिपक्षी दल पनि यसअघि नै आयोगमा दर्ता भइसकेका छन् ।

यसैबीच, आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर, चुनावी खर्च विवरण नबुझाएका एक लाख २३ हजार सात सय ८३ जना उम्मेदवारमाथि कारबाही प्रक्रिया सुरू गरेको छ ।

आयोगका प्रवक्ता पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गरी खर्च विवरण नबुझाउने उम्मेदवारको कारबाही प्रक्रिया प्रारम्भ भएको जानकारी दिए । निर्वाचनमा भएको सम्पूर्ण खर्चको विवरण तोकिए बमोजिमको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने प्रावधान रहेको छ ।

‘खर्च विवरण नबुझाउने उम्मेदवारहरुलाई तोकिएको समयावधिभित्र के कति कारणले विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाइँहरुलाई निर्वाचन आयोग ऐन—२०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ?’ भनी सोधिएको जानकारी पवक्ता पौडेलले दिए ।

सोधिएका प्रश्नहरुको जवाफसहित आफ्नो स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न आयोगले आदेश दिइएको छ । आयोगका अनुसार २१ हजार दुई सय ३० जना उम्मेदवारले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण पेश गरेका थिए ।

प्रतिक्रिया