प्रहरीद्वारा हवाई फायर

फोहोर व्यवस्थापनमा अवरोध

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न गएको सवारी साधनलाई मंगलबार बञ्चरेडाँडामा स्थानीयले अवरोध गरेका छन् । स्थानीयको अवरोधपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । स्थानीयवासीले ढुंगामुढा र गुलेली प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड अश्रु ग्यास र हवाई फायर गर्नुपरेको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले दिए । उनका अनुसार, स्थानीयले प्रहरी र महानगरका कर्मचारीलाई घेरा होलेर ढुंगासँगै गुलेली प्रहार गरेका थिए ।

स्थानीयले आन्दोलनका कार्यक्रम स्थगित गरेको सूचना पाएपछि फोहोरको गाडी बञ्चरेडाँडा पुगेका थिए । तर, एकाएक स्थानीयले अवरोध सिर्जना गरेका थिए । प्रहरीले मकैबारी र धान खेतमा रहेका प्रदर्शनकारीलाई लखेटेर लौरो हानेपछि स्थानीयले प्रहरी दमन रोक्न गुलेली प्रहार गरेको जानकारी धुनिवेँशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङले दिए ।

काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्लेले फोहोर विसर्जन गर्नेबेला स्थानीयले अवरोध गरेपछि प्रहरीसँग झडप भएको बताए । उनले भने, ‘पूर्वसहमति अनुसार नै फोहोर फाल्न लगिएको थियो । तर, स्थानीय कसैको भड्काउमा आएर आन्दोलन गर्न थाले । स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको हो ।’

खासगरी सत्तापक्षकै जनप्रतिनिधिहरूले फोहोर फाल्न नदिने घोषणा अनुरूप विज्ञप्ति जारी गर्दै स्थानीयलाई हौसाएका थिए । जनप्रतिनिधिकै उक्साहटमा लागेर स्थानीयले फोहोर फाल्न अवरोध गरेको बुझाइ महानगरपालिकाको छ । तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रहरी परिचालन गरेर भए पनि फोहोर फाल्न अड्डी लिँदै मंगलबार फोहोरको गाडी बञ्चरे डाँडा लगेका थिए ।

मेयर शाहले फोहोरमा राजनीति भएको आशंका गर्दै दुईपटकसम्म सामाजिक सञ्जालमा आफ्नो धारणा पनि राखेका थिए । सोमबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत फोहोर व्यवस्थापनका सम्बन्धमा छलफल भएको थियो । सुरक्षाकर्मी परिचालन गरेरै भए पनि राजधानीको फोहोर उठाउने निक्र्यौलमा बैठक पुगेपछि मंगलबार फोहोर बोक्ने गाडीलाई स्कटिङ गर्दै प्रहरी बञ्चरे डाँडा पुगेको थियो ।

प्रतिक्रिया