भारतले मनायो स्वतन्त्रता दिवस

नयाँ दिल्ली । भारतले आज ७५ औं स्वतन्त्रता दिवस मनाएको छ । उक्त अवसरमा दिल्लीस्थित लालकिलाबाट सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचार र परिवारवाद देशको सबैभन्दा ठूलो चुनौती भएको बताएका भारतीय समाचार इण्डियन एक्स्प्रेसले जनाएको छ ।
‘देशका लागि दुई ठूलो चुनौती छन् ।

पहिलो भ्रष्टाचार र दोस्रो चुनौती भाइ भतिजा, परिवारवाद हो,’ मोदीले भने । स्वतन्त्रता दिवसको दिन भारतीय प्रधानमन्त्रीले लालकिलामा झण्डोतोलन गर्नुका साथै देशको नाममा सम्बोधन गर्ने चलन छ । त्यसअवसरमा प्रधानमन्त्रीले आफ्नो योजना, उपलब्धी, चुनौती र समस्याको बारेमा सम्बोधन गर्ने गर्छन् ।

आफ्नो एकघन्टा २३ मिनेटको सम्बोधनमा उनले आगामी २५ वर्षका लागि देशका लागि पाँचवटा संकल्पको घोषणा पनि गरेका थिए । जसलाई उनले ‘अमृत काल’ भनेर व्याख्या गरेका थिए ।

यता, काठमाडौंस्थित भारतीय दूतावासले विभिन्न कार्यक्रम आयोजना गरेर सोमबार स्वतन्त्रता दिवस मनाएको छ । सो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले अघि सारेको आजादीको अमृत महोत्सवको एक हिस्साको रुपमा रहेको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया