महिला साफ यू–१५ का लागि खुल्ला छनोट हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न साफ यू–१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गर्ने भएको छ ।
एन्फाले बिहीबार विज्ञप्ति जारी गर्दै खेलाडी छनोट गर्ने जनाएको छ । साफ यू–१५ महिला च्याम्पियनसिप नोभेम्वर १ देखि १२ सम्म बंगलादेशमा आयोजना हुँदैछ ।

एन्फाका अनुसार एन्फामा आबद्ध ४८ जिल्लामा २ देखि १० भदौंसम्म खुल्ला छनोटमार्फत खेलाडी छनोट हुनेछ । जिल्लाबाट छनोट भएका खेलाडीबीच सातै प्रदेशको राजधानीमा भदौं १५ देखि १९ गतेसम्म छनोट कार्यक्रम हुनेछ ।
प्रदेशको छनोटपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भदौं २३ देखि २८ गतेसम्म छनोट कार्यक्रम हुनेछ । त्यसपछि एन्फाले भदौं ३० मा पहिलो चरणमा ४० जनालाई छनोट गर्नेछ । भदौं ३१ बट प्रशिक्षण सुरु हुनेछ ।

प्रशिक्षण पश्चात असोज ७ मा एन्फाले दोस्रो चरणमा २५ खेलाडी छनोट गर्दै प्रशिक्षण असोज १५ सम्म हुनेछ । असोज १६ देखि २२ गतेसम्म दशै विदा असोज २३ पछि पुनः प्रशिक्षण प्रारम्भ गरिने एन्फाले जनाएको छ ।

प्रतिक्रिया