चुनावी सुरक्षादेखि फोहोरसम्मको चर्चा

केन्द्रीय सुरक्षा समिति बैठक

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सोमबार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बेठक राखे । निर्धारित मधेस प्रदेशको सुरक्षा गोष्ठीलाई समेत थाति राखेर प्रहरी प्रमुख धीरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याल उक्त बैठकमा सहभागी भए । गृहमन्त्री खाँणले बैठकको सुरुमै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई कसरी विवादरहित र शान्तिपूर्ण तवरले सम्पन्न गर्न सकिन्छ, त्यसबारे योजना बनाएर काम गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक सिंहले चुनावमा प्रहरीलाई आवश्यक पर्ने स्रोध साधनको बारेमा गृह मन्त्रालय संवेदनशील हुनुपर्ने सुझाव दिए । खाँणले अर्थ मन्त्रालयमा गाडी खरिदको फाइल पुगे पनि स्वीकृत नभइसकेकाले यसै भन्न नसकिने जवाफ महानिरीक्षक सिंहलाई फर्काए ।

त्यसपछि महानिरीक्षक सिंहले समयमै अर्थको जवाफ आएमा खरिद गर्ने वा भाडामा लगाउने सम्बन्धमा प्रहरी मुख्यालयलाई निक्र्यौलमा पुग्न सजिलो हुने जवाफ दिएका थिए । चुनावमा सम्भावित सुरक्षा चुनौतीका सम्बन्धमा जिल्लागत प्रतिवेदन माग गरिसकिएको र सोही मागअनुसार प्रहरी मुख्यालयको निर्वाचन केन्द्रीय निर्वाचन सेलले योजना बनाउने जानकारी सिंहले बैठकमा गराए ।

महानिरीक्षक सिंहले काठमाडौं उपत्यकामा फोहोरको डंगुर थुप्रिएको विषयमा राजनीति भएको जानकारी पनि गराएका थिए । उनले सत्ता पक्षकै वडा अध्यक्षहरूले फोहोरमा राजनीति गरेकाले यसको दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए ।

यस विषयमा गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी भइरहेको र समयमै यसको समाधानका उपाय खोजिने जवाफ दिए । महानिरीक्षक सिंहले कुमारी आमा नेहारिका राजपुतका सम्बन्धमा सरकारले आफ्नो स्पष्ट धारणा बनाउनुपर्ने सुझाव पनि दिए ।

यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संसदीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी दृढ रहेको विषय गृहमन्त्री खाँणलाई ब्रिफिङ गरेका थिए । उनले खुला सीमाना भएका कारण सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी) लाई थप सतर्क गराइएको जानकारी बैठकमा गराए ।


चुनावमा हतियार प्रयोगको सम्बन्धमा गृह मन्त्रालय पहिल्यै तत्पर अवस्थामा हुनुपर्ने विषयमा प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षकले गृहमन्त्री खाँणलाई सजग गराए । गएको स्थानीय तह चुनावमा प्रहरीले नेपाली सेनासँग साना हतियार पैंचो लिएको विषय प्रहरी महानिरीक्षक सिंहले गृहमन्त्री खाँणलाई जानकारी गराए ।

प्रहरी र सशस्त्र प्रहरीले हतियार खरिद गर्न लागको सूचना संगठनभित्रैबाट बाहिर चुहाएका कारण सम्भव नभएको विषयमा समेत बैठकमा चर्चा चलेको थियो । बैठकले निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ बनाएको जानकारी गराइएको थियो ।

गृहकै सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने निर्णय पनि बैठकले गरेको छ । चुनावमा सिके राउतको पार्टीले समेत उम्मेदवारी दिएका कारण मधेस प्रदेशमा खासै सुरक्षा चुनौती नरहेको कुरा प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले गृहमन्त्री खाँणलाई ब्रिफिङ गरे ।

नेत्र बिक्रम चन्द ‘विप्लव’ ले चुनावमा भाग लिने विषय अझै अन्यौलमा रहेकाले उनीहरूको पार्टीको आगामी कार्यदिशा हेरेर थप सुरक्षा योजना बनाउने विषयमा प्रहरी महानिरीक्षक सिंहले गृहमन्त्री खाँणलाई जानकारी गराए ।

‘सिके राउतले चुनावमा गठबन्धन गर्ने भइसके । विप्लवले चुनावमा भाग लिने विषय अझै अन्यौलमा छ’, महानिरीक्षक सिंहले गृहमन्त्री खाँणलाई ब्रिफिङ गरेको विषय उल्लेख गर्दै बैठकमा सहभागी एक अधिकारीले भने, ‘चुनावमा दल दर्ता भएपछि थप सुरक्षा योजना बन्छ ।’

गृहमन्त्री खाँणले विगतमा भएका चुनावमा अपनाइएको सुरक्षा विधिलाई समेत ख्याल गरेर सुरक्षा रणनीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका थिए । महानिरीक्षक सिंह र अर्यालले चुनावलाई भयरहित ढंगले सम्पन्न गराउने विषयमा आफूहरू दृढ रहेको आश्वासन गृहमन्त्रीलाई दिए ।

निर्वाचन अयोगले पूर्वी तराई र काठमाडौं उपत्यकामा मतदान केन्द्र थपिने जानकारी यसअघि नै सरकारलाई गराइसकेको छ । खासगरी झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा मतदान केन्द्र थपिने बताइएको छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा २१ हजार ७ सय ५६ मतदान केन्द्र थियो । संसदीय चुनावमा २२ हजार ३ सय मतदान केन्द्र हुने जानकारी आयोगले गराइसकेको छ । संसदीय चुनावमा १ लाख २० हजार म्यादी प्रहरी खटाउने र पूर्व म्यादीसँगै पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिने विषयमा समेत बैठकमा चर्चा भएको थियो ।

चुनावमा पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् । राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीहरू भने सूचना संयन्त्रका लागि परिचालित हुने बताइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वय गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल’ पनि बनाइने भएको छ । यसैगरी प्रदेश स्तरमा कमान्ड पोस्ट तथा प्रदेश निर्वाचन सेल र जिल्ला स्तरमा जिल्ला कमान्ड पोस्ट तथा जिल्ला निर्वाचन सेल बनाउने पनि निर्णय भएको छ ।

बैठकमा गृहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाका प्रमुख यदुलाल खरेल, मन्त्रालयका प्रशासन तथा सुरक्षा विज्ञ सुनिल खनाल, नेपाल प्रहरीका नायब महानिरीक्षक बसन्त कुँवरलगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया