असफल हुँदै शून्य कोभिड नीति

बेइजिङ । चीनको शून्य कोभिड नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोना भाइरस संक्रमणलको चपेटामा पर्दै गएका छन् । आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौं पर्यटक अलपत्र परेका छन् । पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ । सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाइएकाले जीविकोपार्जनमा पनि असर गरेको छ । एशियन लाइट इन्टरनेसनलका अनुसार मानिसहरूलाई असहाय बनाउँदै कोरोना भाइरस संक्रमण चीनका नयाँ क्षेत्रमा फैलिरहेको छ ।

आकस्मिक रुपमा गरिएको लकडाउनका कारण अहिले हजारौं पर्यटक अलपत्र परेका छन् । विडम्बनाको कुरा के हो भने सन् २०२१ को सुरुमा चीन कोभिड–१९ बाट मुक्त भएको घोषणा गर्ने पहिलो देश बनेको थियो । तर, पछिल्लो समय चीनकै नयाँ क्षेत्रहरुमा कोभिड—१९ को संक्रमण बढ्दै गएको छ ।

कोभिडका कारण पूर्वी चीनदेखि पश्चिम चीनका विभिन्न क्षेत्रमा लकडाउन घोषणा गरिएको छ । यसअघि पनि चीनले कोभिड—१९ नियन्त्रणका लागि लकडाउनलाई नै प्रमुख अस्त्रको रुपमा प्रयोग गरेको थियो ।

कोभिड–१९ को महामारी चीनबाट सुरु भई विश्वब्यापी रुपमा फैलिएको बताइँदै आएको छ । पछिल्लो समय तिब्बतमा पनि संक्रमण बढ्दै गएको समाचारमा जनाइएको छ । केही दिनअघि तिब्बतले २८ जना नयाँ संक्रमित फेला पारेको जनाएका थियो ।

प्रतिक्रिया