सरकार मात्र होइन, संसद पनि काम चलाउ जस्तै

दुइपटक घण्टी बजाँउदा पनि पुगेन संसदमा गणपूरक संख्या

काठमाडौं । मंसिर ४ का लागि चुनाव घोषणा भएपछि सरकाले संसदलाई कुनै गतिलाे ऐजेण्डा दिएको छैन । एजेण्डा हेर्दा लाग्छ सरकार मात्र होइन संसद पनि काम चलाउ भएको छ ।

सांसदहरूको गणपूरक संख्या का कारण आइतबारको प्रतिनिधिसभाको बैठक लगातर दुईपटक स्थगित भएका छन् । सरकारले प्रस्तुत गरेका विधेयक पारित गर्नु सत्तापक्षका सांसदहरुको दायित्व हो । तर, सत्तापक्षकै बैठकमा उपस्थित नभएपछि दुईपटक प्रतिनिधिसभा बैठक स्थगित भयो ।

पहिलो चरणको बैठकमा सभामुखले कार्यसूचीमा रहेका विधेयक अघि बढाउँदा गणपूरक संख्या नपुगेको भन्दै प्रश्न उठ्यो । सचिवालयका कर्मचारीमार्फत गणना गर्दा आवश्यक संख्या ६९ जना सांसद उपस्थित नभएका कारण सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरे ।

अपरान्ह साढे २ बजे पुनः बसेको बैठकमा पनि कार्यसूची अघि बढाउन खोज्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या रहेको वा नरहेको भनी एकपटक गन्न आग्रह गरे ।

उनको आग्रहबमोजिम ३ मिनेट जनाउ घण्टी बजाइयो । तर, सो अवधीभित्र पनि गणपूरक संख्या पुगेन । त्यसपछि सभामुख सापकोटाले साउन ३१ गतेसम्मका लागि बैठक स्थागित गरेका छन् ।

प्रतिक्रिया