बाबुरामको पार्टी चुनाव चिन्ह खोज्दै ‘घरदैलो’ कार्यक्रममा

नेसपालाई हँसिया हथौडा चुनाव चिन्ह दिन माओवादीको हरियो बत्ती

काठमाडौं । नेपालका राजनिितक पार्टीहरुमा यसबेला सबैभन्दा ब्यस्त कुन पार्टी र नेता होलान ? यो प्रश्नको सजिलै उत्तर पाईने गरेको छ – जनता समाजवादी पार्टीबाट अलग भई गठन भएको नेपाल समाजवादी र यसका नेताहरु डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादव । उनीहरु चुनावको मुखमा आएर जनता समाजवादी पार्टीबाट त सजिलै अलग भए तर आगामी मंसिरमा हुने प्रदेश तथा संघको चुनावमा उपस्थिति र शाख जोगाउन कठिन हुने भएको छ ।

यो कठिनाईलाई केही पार पाउन सकिन्छ कि भनेर त्यस पार्टीका नेताहरु अरुपार्टीसंग चुनाव चिन्ह पैचो माग्न घरदैलो कार्यक्रममा ब्यस्त बनेका छन् । उनीहरु यस अघि चुनाव चिन्ह माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोट पुगेका थिए। आफै रनभुल्लमा परेका ओलीले उनीहरुलाई मुन्टो हल्लाएर जवाफ त दिए, तर त्यो जवाफले हुन्छ वा हुदैन के भनेको भन्ने कुनै संकेत दिएन । उनीहरु पनि चिन्ताकैबीच फेरि चुनाव चिन्ह माग्न घरदैलो कार्यक्रम गर्ने योजना अनुसार अहिले बिभिन्न पार्टीका नेताहरुको दैलोमा पुगेका छन् ।

उनीहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न चुनाव चिन्ह पैचो माग गर्दै प्रचण्डको निवास पुगेका छन् । यसक्रममा आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको छ ।

नेसपाका अध्यक्ष यादवका अनुसार समाजवादी गठबन्धन बनाउने र एउटै चुनाव चिह्न लिएर संयुक्त रुपमा जान दुबै दल सहमत भएका छन् । यसबारे आ–आफ्नो दलका छलफल गरेर निर्णयमा पुग्ने सहमति उनीहरुले गरेका छन् ।
माओवादी नेताहरुका अनुसार नेसपाका नेताहरुले प्रतिनिधिसभामा केही सिट निश्चित गर्नुपर्ने बताएका छन् ।

नेसपाका अध्यक्ष भट्टराई गोरखा क्षेत्र नम्बर २ र यादव सर्लाही ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । जसपामा असन्तुष्ट रहेका कतिपय सांसद पनि आफूहरुको सम्पर्कमा रहेका नेसपाका नेताहरु बताउँछन् । यस बिषयमा चाँडै लिखित सहमति हुने नेसपाका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया