शिक्षकको पानी पिएको आरोपमा कुटिएका दलित विद्यार्थीको मृत्यु

नयाँ दिल्ली । भारतको राजस्थानमा दलित समुदायका एक बालकको शिक्षकका लागि राखिएको भाँडाबाट पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा मृत्यु भएको छ । ९ वर्षीय बालकको शनिबार मृत्यु भएको हो ।

प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ । उक्त दुःखदायी घटना जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयमा जुलाई २० मा भएको थियो ।

कुटाइबाट आँखा र कानमा गम्भीर चोट लागेका बालकलाई उपचारको लागि करिब ३०० किलोमिटर टाढा अहमदाबाद लगिएको थियो । बालकको उपचारको क्रममा अस्पतालमा शनिबार मृत्यु भएको थियो । द्वन्द्व चर्किने आशंकामा उक्त क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको छ ।

मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

‘पीडित परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिनेछ, मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारु दिइनेछ’, उनले ट्वीट गरेका छन् । मृतक बालकको पोस्टमार्टम गर्न अहमदाबादमा एउटा प्रहरी टिम पठाइएको छ ।

प्रतिक्रिया