सलमान रुस्दीले आँखा गुमाउन सक्ने

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा शुक्रवार आयोजित एक कार्यक्रममा छुरा प्रहार भएपछि चर्चित लेखक सलमान रुस्दीबारे ’जानकारी सुखद नरहेको’ उनका प्रतिनिधिले बताएका छन् । उनलाई एक साहित्यिक कार्यक्रममा भाग लिइरहेको अवस्थामा एक व्यक्तिले मञ्चमा उक्लिएर चक्कुले प्रहार गरेका थिए । अहिले उनी भेन्टिलेटरमा रहेको र बोल्न नसक्ने अवस्थामा रहेको एन्ड्रिउ वाइलीले एक विज्ञप्तिमा जनाएका छन् ।

उनले रुस्दीले एउटा आँखा गुमाउन सक्ने समेत बताए । सन् १९८८ मा द सेटनिक भर्सेस पुस्तक लेखेयता रुस्दीले इस्लामिक अतिवादीहरूबाट हत्याको धम्की खेपिरहेका छन् । प्रहरीले न्यूजर्सीका हादी मतर नाम गरेका २४ वर्षीय सन्दिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । ती सन्दिग्ध व्यक्तिले रुस्दी र उनीसँग प्रश्न सोधिरहेका व्यक्तिलाई पश्चिमी न्यूयोर्कस्थित शटोक्वा इन्स्टिच्यूशनमा हमला गरेको प्रहरीले जनाएको छ ।

‘सलमानले एउटा आँखा गुमाउन सक्ने देखिन्छ; उनको हातका नशाहरूमा नराम्ररी असर पुगेको छ र उनको कलेजोमा छुरा रोपिएको कारण त्यसले काम गरिरहेको छैन,’ उनका एजेन्ट वायलीले भनेका छन् । प्रहरीले अझै हमलाको उद्देश्य र अभियोगहरू पुष्टि गरेको छैन । प्रहरीले हमला भएको केन्द्रमा पाएका विद्युतीय उपकरण र झोलाबारे अनुसन्धान गर्न छापा मार्ने आदेशका लागि प्रक्रिया थालेको छ ।

रुस्दीलाई घाँटी र पेटमा छुरा प्रहार गरिएको अधिकारीहरूले बताएका छन् । उनलाई हेलिकोप्टरमा अस्पताल लगिएको थियो । भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ को मिडनाइट्स चिल्ड्रेन पुस्तकबाट चर्चामा आएका थिए जुन पुस्तक यूकेमा मात्र दश लाखभन्दा धेरै सङ्ख्यामा विक्री भएको थियो ।
तर उनको चौथो पुस्तक सन् १९८८ मा छापिएको द सेटनिक भर्सेसले उनलाई झण्डै दश वर्ष लुकेर बस्न बाध्य पार्यो ।

हमलाकारी को हुन् ?

पेट र गर्धनमा चक्कु प्रहार गरेका रुस्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हमलाकारी न्यू जर्सीका हादी मतरको उमेर २४ वर्षको छ ।

नाइट उपाधि र विवाद

रुस्दीलाई ब्रिटिश महारानीले सन् २००७ मा नाइट उपाधि दिएका बेला पाकिस्तान र इरानमा विरोध प्रदर्शन भएको थियो र महारानीको सम्मानले ‘आत्मघाती आक्रमण हुन योग्य’ भनेका थिए ।

रुस्दी सहभागी हुने कैयौँ कार्यक्रमहरू कैयौँले बहिस्कार गर्थे र खतराको जोखिममा पर्थे तर उनले निरन्तर रूपमा लेखिरहेका छन् । उनको अर्को उपन्यास ’भिक्ट्री’ सिटी सन् २०२३ को फेब्रुअरीमा प्रकाशित हुने तय भएको छ ।
रुस्दीलाई आक्रमण भएपछि कसले के भने ?

यूकेका प्रधानमन्त्री बोरिस जोन्सनले ट्वीटमा भनेका छन्ः ‘हामीले जहिले पनि बचाउ गर्न पछि पर्न नहुने अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गरिरहेका बेला सर सलमान रुस्दीमाथि आक्रमण भएको देख्दा गहिरो झट्का लागेको छ ।’

फ्रेञ्च राष्ट्रपति एमानुअल म्याक्रोँले लेखेका छन्,‘स्वतन्त्रताका पक्षधर र प्रगतिवादी रुस्दीमाथि क्रूर र घृणावादीले आक्रमण’ गरेका छन् । लेखक तथा ग्राफिक उपन्यास सर्जक नील गेइम्यानले आफ्ना मित्र तथा लेखक रुस्दीमाथि भएको आक्रमणबाट आफू ‘स्तब्ध र आक्रोशित’ भएको बताएका छन् ।

पेङ्गुइन र्यान्डम हाउसमा रुस्दीका प्रकाशकहरूले एक विज्ञप्ति जारी गर्दै ‘हामी यो हिंसात्मक आक्रमणको विरोध गर्छौँ र यो दुखको घडीमा हामी उनका परिवारजनसँगै छौँ’ भनेका छन् ।

लेखाइकै कारण बाङ्लादेश छोडी भारतमा उनीजस्तै लुकेर बस्न बाध्य अर्की लेखक तस्लिम नसरिनले रुस्दीमाथिको आक्रमणपछि आफूलाई पनि सुरक्षाको त्रास पैदा भएको लेखेकी छन् ।

प्रतिक्रिया