वृन्दावनमा कला संगीत गोष्ठी

काठमाडौं । नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ गर्ने लक्ष्यका साथ भारतको वृन्दावनमा चारदिने कला कार्यशाला सम्पन्न भएको छ । बिपी कोइराला भारत–नेपाल फाउण्डेसन र श्री चैतन्य प्रेम संस्थान वृन्दावनको संयुक्त तत्वावधानमा सोमबारदेखि कार्यशाला सुरु भएको थियो । कार्यशालामा नेपालको तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय, अग्रज पौभा कलाकार लोक चित्रकार, प्रसिद्ध मिथिला कलाकार एससी सुमन र कलाकार सुनिता राणा सहभागी भएका थिए । यसैगरी भारतको तर्फबाट चित्रकार अञ्जनी रेड्डी, अमित कुमार, हेली गोस्वामी, फणीन्द्रनाथ चतुर्वेदी सहभागी थिए । बिहीबार सम्पन्न ‘इन्डो–नेपाल संगीत तथा दृश्य कला गोष्ठी’ मा नेपालबाट शास्त्रीय गायक एवं ललितकला क्याम्पस भोटाहिटीका प्रमुख डा. रमेश पोखरेल र भारतबाट आस्था गोस्वामीले गायन प्रस्तुत गरे ।

सहभागी कलाकार उपाध्यायले गोष्ठीको मूल उद्देश्य नेपाली र भारतीय चित्रकार एवं संगीतकार दुवैलाई एकअर्कासँग अन्तक्र्रिया, विचार आदानप्रदान र वृन्दावनको आध्यात्मिक वातावरणमा रचनात्मक सम्भावना खोज्ने अवसर प्रदान गर्नु रहेको बताइन् । उनका अनुसार चार दिवसीय कला कार्यशालामा नेपाली र भारतीय कलाकारसँग अन्तक्र्रियात्मक सत्रका अतिरिक्त दुवै देशका कलाकारले चित्रसमेत रचना गरेका छन् । बिपी कोइराला भारत–नेपाल फाउण्डेसनका बोर्ड सदस्यसमेत रहेकी रागिनीले कार्यक्रमले नेपाल तथा भारतबीचको सम्बन्धलाई बलियो बनाउने आशा व्यक्त गरिन् । उनले थपिन्, ‘कलाले सम्बन्धलाई जोड्दै देश देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । यही उद्देश्यका साथ कला कार्यशालासँगै सांगीतिक प्रस्तुति गरिएको हो ।’ उनले नेपाल र भारत प्राचीनकालदेखि नै कला र संस्कृतिमा निकै समृद्ध रहेको विचार व्यक्त गरिन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति उपाध्यायले भनिन्, ‘संगीत र भिजुअल आर्ट्सको वृन्दावनमा भएको गोष्ठीले भारत र नेपालको सिर्जनात्मक प्रतिभा प्रदर्शन गर्ने मात्र नभई वर्तमान कला परिदृश्यसँग राम्ररी परिचित कलाकारको हैसियतले दुवै देशका कलाकारबीच आपसी समझदारी निर्माणमा पनि योगदान पु¥याउनेछ ।’

यसैगरी, कार्यशालामा सहभागी मैथिली कलाकार एससी सुमनले कार्यशाला विश्वकलाको परिदृश्यसँगै कलाका विविध आयामलाई बुझ्ने अवसरको रुपमा रहने विचार व्यक्त गरे । उनले भने, ‘वृन्दावनमा श्रीकृष्णका अनेकौ कथाहरु छरिएका छ्न । कृष्णको बाल्यकाल यहाँ व्यतित भएको हो । वृंन्दावन कृष्णको भक्त कवि र कलाकारको कार्यस्थल हो । सँगै यो नगर आफ्नो कला परम्पराको लागि पनि विश्वविख्यात छ ।’

उनले मन्दिरको भित्तामा बनाइएको चित्रकला, ढुंगामा उत्कीर्ण कला तथा लोककला आज पनि कलाकारमाझ परम्परागत रूपले हजारौ वर्षदेखि जीवन्त रहेको बताए । सुमनले थपे, ‘यमुनाघाट कलाकृतिको प्रमुख विषय श्रीकृष्णलीला हो । मिथिला कलामा पनि कृष्णलीला कोरिन्छ । यसरी मिथिला र वृन्दावनको लोककलामा चित्रको मुद्रा अत्यन्त मनोहारी र आकर्षक हुन्छ । ठुल–ठुला आँखा र कृष्णको मनोहर मुस्कान जोकोहीलाई आफूतिर तान्न सक्दछ ।’ उनले यो भ्रमणले नेपाल र भारतका कला परम्परालाई नजिकबाट नियाल्ने र आत्मसात् गर्ने अवसर मिलेको बताए ।

यस्तै, नेपालका अग्रज पौभा कलाकार लोक चित्रकारले कला कार्यशालाले नेपाल र भारतबीचको सदियौंदेखिको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउन मद्दत गर्ने विचार व्यक्त गरे । उनले कलाले सम्बन्धलाई प्रगाढ बनाउनुका साथै मानवीय संवादलाई विनिमय बनाउने बताए । चित्रकारले भने, ‘कलामार्फत मानवीय र सांस्कृतिक मनोभावलाई उद्घाटन गर्दै सम्बन्धलाई मजबुत बनाउने लक्ष्य कार्यशालाको रहेको छ ।’

कार्यशालामा सहभागी भारतीय कलाकार अमित कुमारले सिर्जनात्मक ढंगले दुई देशका कलाकारले सम्बन्धलाई जोड्ने काम गरिरहेको बताए । उनले भने, ‘कलामार्फत संस्कृति, प्रकृति तथा मानवीय संवेगलाई क्यानभासमा उनेर सिर्जनात्मक मनोभावलाई अभिव्यक्त गरिएको छ । यसले सिर्जनाको संसारलाई फराकिलो बनाउन मद्दत पुग्ने आशा राख्न सकिन्छ ।’

प्रतिक्रिया