प्रहरी प्रशासनकै आडमा तस्करी

सिराहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हुने गरेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो ।

तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी, भन्सार प्रमुखलगायतका कर्मचारी मोटो रकम दिई (महिनावारीकै रुपमा घुसबापतको अवैध रकम तिरी) दिनभरि नाकाको वरिपरि भण्डारण गर्ने र रातभरि तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन् । सीमानाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोशाकमा खटाइएका प्रहरीहरू दिनभरि तस्करीको सामान नियन्त्रण गर्नुभन्दा पनि संरक्षणगरि तस्करको गोदामसम्म पु¥याउने गरेको आरोप छ ।

‘प्रहरी प्रशासन मिलेपछि यहाँ जे पनि सीमा नाकाबाट वारपार गर्न सम्भव छ । प्रहरीको आँखा अगाडिबाटै सीमानाकाको विभिन्न बाटो प्रयोग गरि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार हुने गरेको छ,’ स्थानीय दिपेन्द्र यादवले बताए ।

उनले थपे, ‘सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, लौकहाठाडी, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट अहिले दिनदहाडै तस्करले यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भित्र्याइन्छ र वारि (नेपाल) बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारि (भारतीय बजार ) पुर्याइन्छ ।’

वरियारपट्टिका स्थानीय अरविन्द यादवका अनुसार यो नाकाबाट रातभरि (भारतीय बजार )पारिबाट सामान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिरहाको ठूलो बजार लहान, गोलबजार, मिर्चैयालगायतका बजारसम्म ढुवानी हुन्छ ।

‘सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ । सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्,’ सडक छेउमै घर भएका उनले भने ।
गत बुधबार माडर भन्सार नाकाबाटै करिब एक लाख बराबरको भन्सार छलीको कपडाको बोराले भरिएको बिआर ०१ बिएन ९३५७ नम्बरको कार सिरहा–चोहर्वा सडक खण्ड हुँदै चोहर्वातर्फ गइरहेको बेला साइलक यात्रीलाई ठक्कर दिएको थियो ।

साइकलमा सवार सिरहा नगरपालिका–२२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छाडेर तस्कर फरार भए । दुर्घटनाको खबर पाएपछि घटना स्थल पुगेका विष्णुपुर प्रहरी चौकीले कारभित्रबाट तीनवटा बोरामा रहेको कपडा बरामद गरेका थिए । प्रहरीले बरामद गरेको कपडाको मूल्य ७६ हजार ६०० र कारको १५ लाख गरी १५ लाख ७६ हतजार रुपैयाँसहितको मुल्यांकन प्रतिवेदन भन्सारलाई बुझाएको छ ।

तस्कर भइरहेको विषयमा जानकारी लिन खोज्दा सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिम्लिसिनाले भने, ‘थोरै सामान बरामद भएकाले धेरै खोतल्नुपर्ने आवश्यकता छैन ।’

प्रतिक्रिया