वीरगञ्ज–ठोरी सडक खण्डमा पर्ने तिलावे पुल उद्घाटन

पर्सा । हुलाकी राजमार्गअन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा बनेकाे पुल उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइले पुल उद्घाटन गरेका हुन् । साढेसात करोड रुपैयाँको लागतमा १०० मीटर लम्बाइ र ७ मीटर चौडाईको पुल निर्माण भएको हो ।

पुल ३ वर्षमा निर्माण सक्ने गरी २०७२ सालमा पुलको ठेक्का लागेको थियो । पप्पु–लुम्बिनी जेभीले पुल निर्माण गरेका हुन् । पुल सञ्चालनमा आएसँगै पर्साको ग्रामीण क्षेत्र र सदरमुकाम वीरगञ्जको आवागमन सहज भएको छ । यो पुल सञ्चालनमा आउनुअघि पुरानो र साँघुरो पुलबाट सवारीका साधन आउजाउ हुने गरेको थियो ।

साँधुरो पुलबाट दैनिक सयौं सवारी साधन आउजाउ हुँदा पुलमै घण्टौं ट्राफिक जाम हुँदै आएकोमा अब पर्साका बासिन्दालाई सो समस्याबाट मुक्ति मिलेको छ । पर्साको मुख्य मार्गको रुपमा रहेको हुलाकी सडकमा निर्मित यो पुल सञ्चालनमा आएसँगै पर्साका बासिन्दा खुशी भएका छन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यतामा भएको पुल उद्घाटन कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रदीप यादव पर्सा क्षेत्र नं। ३ का सांसद हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवलगायतको सहभागिता थियो ।

सम्पर्क सडक र तटबन्धन बर्खापछि


पुलको ९० प्रतिशत काम पूरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले बताएको छ । सम्पर्क सडक र नदी तटबन्धनको कार्य बर्खा सकिएलगत्तै शुरु हुने पनि आयोजनाले जनाएको छ । अहिले सम्पर्क सडक बनाउँदा भर्खरै हालिएको माटो भासिने र नदीमा पानी बढी भएकाले तटबन्धन गर्न नमिल्ने बताइएको छ ।

किन भयो ढिलाई ?

२०७२ जेठ २५ गते पुल निर्माणको सम्झौता भएकोमा आयोजनाले नक्सा स्वीकृतिमै ३ वर्ष समय लगाएको थियो । जब कि ३ वर्षमा पुल निर्माण गरिसक्ने सम्झौता थियो । २०७५ मा काम शुरु भएको थियो ।

पुल निर्माणका लागि साविक पुलबाट आवागमन बन्द गर्नुपर्नेमा डाइभर्सन निर्माणमा पनि ढिलाई भएको थियो । आयोजनाले २०७५ फागुन २३ मात्रै डाइभर्सन निर्माणको कार्यादेश स्वीकृति दिएको थियो ।

डाइभर्सन तयार भएपछि २०७६ बैशाखबाट कामले गति लिएको निर्माण कम्पनीले बताएको छ । यसबीचमा परेको कोरोना महामारी र निर्माण सामग्रीको अभावजस्ता समस्याले पनि पुल निर्माण कार्यको गति प्रभावित भएको आयोजना कार्यालयका प्रमुख दरोगा साहले बताए ।

प्रतिक्रिया