प्रा.जोशीको सात दशकको अनुभव : अमेरिकाले अकल्पनीय विकास गर्यो

सुरुमा अध्ययन र पछि प्राध्यापन गरी उहाँले अमेरिकामा ५८ वर्ष बिताउनुभयो । सन् १९६४ मा अमेरिका आउनुभएका डा तुलसीराम जोशीले यहाँ आउने नेपालीको पहिलो पुस्ताको प्रतिनिधित्व गर्नुहुन्छ भन्दा फरक नपर्ला । अमेरिकामा अध्ययन अध्यापनमा उहाँका ५८ वर्ष बिते । यसबीचमा अमेरिकाले विकासमा मारेको फड्को कल्पनाबाहिरको रहेको उहाँको अनुभव छ । करिब सात दशकको आफ्नो अनुभव सुनाउँदै उहाँ भन्नहुन्छ, ‘अहिलेको अमेरिकाको सूचना प्रविधिको फड्कोलाई हेर्दा मलाई अचम्म लाग्छ, निकै रोमाञ्चक यात्रामा अहिले पनि अमेरिका ।


कम रोमाञ्चक छैन आफ्नो जन्मस्थल बझाङदेखि अमेरिकाको हवाई राज्यसम्मको उहाँको यात्रा । सात दशकअघिको बझाङ र काठमाडौँकै यात्रा पनि कति कठिन थियो भनेर अनुमान मात्र गर्न सकिन्छ । अनि काठमाडौँबाट अमेरिकाको त झन् कुरै भएन ।’ बझाङबाट काठमाडौँका लागि चालेको पहिलो पाइलाले अमेरिकाको कल्पना सायदै गरेको थियो । तर सम्भव भयो र हवाइको होनोलुलुसम्मको यात्रा तय भयो । त्यो यात्रा यो युगको विज्ञान प्रविधिको विकासका कारण अहिलेको पुस्तालाई त सामान्य लाग्छ । तर उहाँले अहिले आफ्नो भोगाई सुनाउँदा भने यो पुस्तालाई कुनै दन्त्यकथा जस्तै लाग्न सक्छ ।

केही समयअघि उहाँसँग भने मैले उहाँको अमेरिका बसाइका विगत र वर्तमानमा बढी केन्द्रित भएर कुराकानी गरेँ । विश्वलाई ग्लोबल भिलेज भनेर नामाकरण भएको समयावधिमा अमेरिकाले विश्वव्यापी रूपमा आफ्नो आर्थिक, कूटनीतिक र सामरिकरुपमा सदैव उच्च स्थानमा राख्दै महाशक्ति राष्ट्रका रुपमा यसलाई कायम राख्दै आजको अवस्थासम्मलाई प्राध्यापक जोशीले एक साँचो साक्षीका रुपमा नियालिरहनुभएको छ । आफूले यहाँ प्रवेश गरेको सात दशकअघिको त्यो र यो अमेरिकामा के कति फरक आइसक्यो ? अनेकन देखाइ र भोगाइका रोमाञ्चक क्षणहरू छन् उहाँसँग ।
बझाङबाट अमेरिका जान सुरु भएको यहाँको यात्राले ११ दिनजति त पैदल नै थियो । यात्राका क्रममा रुखको फेदमुनि बस्नेदेखि भारतको रक्सौल, अमलेखगञ्ज हुँदै भीमफेदीबाट छिर्नुभयो उहाँ काठमाडौं । कुराकानीको क्रममा जोशीले भन्नुभयो– अहिलेको पुस्तालाई किंवदन्ती जस्तो लाग्ने यात्राका क्रममा अनेकन कष्ट झेल्नुपरेको थियो । काठमाडौं आएपछि तत्कालीन इस्ट वेस्ट सेन्टरले प्रदान गरेको छात्रवृत्तिमा उहाँसहित चार जनाको समूह काठमाडौंबाट कलकत्ता, हङकङ टोकियो हुँदै अमेरिकाको होनोलुलुमा आइपुगेको थियो ।

त्रिभुवन विश्वविद्यालयवाट प्रथम श्रेणीमा प्रथम भई तत्कालीन राजा महेन्द्रबाट स्वर्ण पदक प्राप्त गर्नुभएका जोशीको जीवन यात्रामा अध्ययनले महत्वपूर्ण फड्को मारेको छ । भूगोलमा स्नातकोत्तरको उपाधि युनिभर्सिटी अफ हवाईबाट प्राप्त गरेपछि उहाँले विद्यावारिधी भने पिटस्वर्गबाट गर्नुभयो । तर विद्यावारिधी गर्न पनि त्यो बेलामा त्यति सहज थिएन । पिटस्बर्ग विश्वविद्यालयवाट विद्यावारिधी गरेपछि उहाँले वेस्ट भर्जिनियाको फेरमन्ट विश्वविद्यालयमा अध्यापन सुरु गर्नुभएको थियो ।

जोशीले आफ्ना विगतका अनुभव सुनाउनुभयो– मेरो अमेरिका बसाइको प्रारम्भ र अहिलेको तुलना गर्न निकै कठिन छ । किनकि अहिले सर्वाधिक धनी भएका व्यक्तिहरूको नाम, कम्पनीहरू त्यो वेला जन्मिएका पनि थिएनन । यसबाट तपाईं सहजै अनुमान लगाउन सक्नुहुन्छ विगत २५ वर्षको अवधिमा अमेरिकामा सामाजिक, आर्थिक र सूचना प्रविधिको कसरी रूपान्तरण भयो ।

जोशीले अमेरिकामा आएको परिवर्तनका बारेमा भन्नुभयो– अमेरिकामा कडा मिहिनेत गर्ने मानिसहरूले सफलता हासिल गर्न सक्छन् । यसैले यसलाई अवसरको भूमिको रूपमा लिइन्छ । त्यो बेलाको समयमा नेपालको विकट ग्रामीण भेगमा जन्मिएर अमेरिकाको विश्वविद्यालयमा प्राध्यापक हुन पाउनुमा पनि मिहिनेत र भाग्यको फल हो भन्ने लाग्छ ।

विकासको नाममा भर्खर पहाडी चट्टानहरू खोस्रेर बाटो बनाउन वामे सर्दै गरेको नेपाल र त्यसको एउटा विकट जिल्लाको गाउँबाट झण्डै ६ दशक अगाडि अमेरिका आउनुभएका जोशीले अमेरिकाको पूर्वाधार निर्माण त्यो बेला पनि उस्तै भएको बताउनुहुन्छ । उहाँले विशाल अमेरिका भित्र निर्माण गरिएका फराकिला बाटाहरूको बारेमा टिप्पणी गर्दै भन्नुभयो– हामीले देख्दा पनि फराकिला सडकहरू देखेका थियौँ, अहिले पनि ती सडक र त्यहाँ दौडने गाडीहरू उस्तै गतिमा दौडिरहेका छन् तर सूचना र प्रविधिको फड्कोसँगै यात्रामा धेरै सुविधा आएको छ ।

अमेरिकामा स्थायी रुपमा बसोबास गर्न आउने पहिलो पुस्ताको प्रतिनिधित्व गर्नुहुने जोशी अमेरिकामा स्थापित हुन यसरी सुझाउनुहुन्छ । उहाँको पहिलो सुझाव हो– अमेरिकामा वस्ने भएपछि सानो भए पनि अध्ययनको डिग्री लिन आवश्यक छ । दोस्रो यहाँको सरकारी एकाई र तिनीहरूले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी पाउँदा फाइदा पुग्छ । उहाँकै शब्दमा राम्रो ‘क्रेडिट’ को व्यवस्थापन गर्नसके यहाँ बस्ने नेपालीलाई सहज हुनेछ भने चौथो यहाँको मौसमवारे हरव्यक्ति अभ्यस्त हुनु जरुरी छ ।

जीवन यात्रामा अनेकन आरोह अवरोह भोग्नुभएका जोशीले सन् १९८८ मा नै एएनए छात्रवृत्ति कार्यक्रममार्फत ५० जना जेहेन्दार विद्यार्थीलाई फेरमन्ट विश्वविद्यालयमा ल्याएर पठनपाठनको व्यवस्था गर्नुभएको थियो । उहाँले भन्नुभयो– यो मेरो एउटा सानो प्रयास थियो, यसमार्फत् केही विद्यार्थी भाइबहिनीहरूले पढ्ने मौका पाउनुभयो । तपाईं जहाँ बसे पनि तपाईंसँग उपलब्ध स्रोत र साधनको परिचालनमार्फत् कसैको जीवन परिवर्तन गराउन सक्नुहुन्छ भने त्यो तपाईंको जीवनका उत्तराद्र्धमा पनि सन्तोषपूर्वक जीवन व्यतित गर्न सक्नुहुन्छ । लामो समय प्राध्यापनमा बिताउनुभएका जोशीलाई यही कुराले सदैव प्रेरित गरिरहयो । उहाँ अहिले यहाँ अवकाश जीवनमा हुनुहुन्छ ।

जोशीले अमेरिकाको शिक्षा, पूर्वाधारको विकास र प्राविधिक सीपलाई अंगीकार गरेर त्यसमार्फत् नेपालको वहुआयमिक विकासमा टेवा दिनुपर्ने बताउनुहुन्छ । नेपाल–अमेरिका सम्बन्धको ७५ वर्षको अवसरमा उहाँको धारणा छ– अमेरिकाले नेपाल र नेपालीलाई सदैव मित्रवत व्यवहार गरेको पाएको छु । एक प्राध्यापक भएको नाताले मलाई के लाग्छ भने अमेरिकाले शिक्षा क्षेत्रमा हजाराँै नेपाली विद्यार्थीहरूलाई छात्रवृत्तिमार्फत अध्ययनको अवसर दिएको छ भने अर्कातर्फ नेपालको विकासमा पनि अमेरिकाको ठूलो योगदान रहेको छ । अमेरिकी नागरिक र नेपाली नागरिकबीच एक मजबुतसम्बन्ध स्थापित हुन सफल भएको छ । अमेरिकामा रहेका नेपाली संघसंस्थाहरू राम्रो भए पनि उनीहरूको कार्यशैली तलदेखि नै परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ । मपार्इंत्व र दम्भ देखाउनेहरू संस्थामा बसेर गैरनाफामुलक संस्थाको भावना र मर्ममाथि नै प्रहार गरेका छन् जस्तो लाग्छ । जोशीले भन्नुभयो– संगठित हुनु साह्रै राम्रो काम हो तर त्यो सञ्चालन गर्ने फ्रेमवर्क संस्थागत छैन यो चिन्ताको विषय हो । हामी नेपालीहरूमा अझै पनि आफूले कमाएको सम्पत्ति भावी सन्ततिको लागि जम्मा गर्ने प्रवृत्ति छ, त्यो भन्दा मलाई के लाग्छ भने समाजको लागि योगदान गर्नसके त्यसले थप अवसर सिर्जना गर्न सक्छ ।

प्रवासी भूमिमा आफ्नो सम्पूर्ण जीवन व्यतित गरेको भए पनि नेपालको गरिबी र अशिक्षाको लागि सदैव हातेमालो गरेको उहाँ बताउनुहुन्छ । मैले जीवनमा आफ्नो व्यावसायिक रूपमा प्राध्यापन पेसा अँगालेर जति कमाएँ त्यसको महत्वपूर्ण हिस्सा समाजलाई नै समर्पित गरेको छु भन्नुहुन्छ जोशी । मैले प्रारम्भिक दिनहरूमा वार्षिक १० हजार डलरमा काम सुरु गरेको थिएँ, आफ्नो घरायसी खर्च कटाएर भए पनि मैले सामाजिक दायित्व पूरा गरेँ भन्ने लाग्छ । जोशीले आफ्नो विगत सम्झिदै भन्नुभयो– मैले केही गरे भन्दा पनि मेरो कामले प्रभावित हुनु भएकाहरूले मूल्यांकन गर्नुहुनेछ भन्ने लाग्छ ।

जीवनमा प्राप्त भएका वस्तु र साधनहरूलाई महत्वपूर्ण मान्दै वास्तविक आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्नु र उनीहरूलाई बाटो देखाउन सक्ने व्यक्ति बन्नु नै सार्थक जीवन हो भन्नुहुन्छ उहाँ । आफ्नो जीवनमा गरेका कामहरूप्रति खुसी हुनुहुन्छ प्राध्यापक जोशी । भन्नुहुन्छ– हामीले मानव चोला लिएर जन्मिएपछि एकपटक अनन्त यात्रामा जानु नै छ, तसर्थ कुनै कुरा आशक्त जीवन भन्दा समाजलाई केही दिन सकौँ भन्ने मेरो धारणा छ ।

आफ्नो जीवनकालमा महत्वपूर्ण अवार्ड प्राप्त गर्नुभएको छ उहाँ । उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सर्भिस अवार्ड, भर्जिनिया राज्यका तीन गभर्नरहरूबाट सम्मान प्राप्त गर्नुभएको छ । जोशीसँग फेरमन्ट युनिभर्सिटीमा ४२ वर्षे प्राध्यापनको जिम्मेवारी पूरा गरेको अनुभव । गतवर्ष मात्र उहाँलाई सोही विश्वविद्यालयले विशेष सम्मान गरेको थियो । यसरी सम्मानित हुने उहाँ एक मात्र नेपाली हुनुहुन्छ । उहाँ र उहाँकी श्रीमती मर्लिनको सम्मानमा फेरमन्ट विश्वविद्यालयले उहाँहरूकै नाममा कार्यालय स्थापना गरेर सम्मान दिएको छ । अमेरिकी विश्वविद्यालयहरूले आफ्ना प्रतिष्ठित प्राध्यापकहरूको नाममा विश्वविद्यालयको भवन र प्रशासनिक कक्षहरूको नामाकरण गरेर सम्मान दिने प्रचलनको सुरुआत गरेको छ ।

उहाँहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सघाउन महत्वपूर्ण सहयोग गरेवापत उक्त सम्मान दिइएको विश्वविद्यालयले जनाएको छ । जोशीले भन्नुभयो– न्यून आम्दानी भएका मेहनती र जेहेन्दार विद्यार्थीहरूले विश्वव्यापी रुपमा आफूलाई प्रतिस्पर्धी बनाउन सकुन् भन्ने अभिप्रायले मैले सहयोग गरेको हुँ, मेरो यो भावनालाई विश्वविद्यालयले कदर गरेको छ, यसमा म खुसी छु । जीवनमा आफूले कमाएको रकम दान गर्दै आउनुभएका जोशीले धनगढीमा दुई वटा विद्यालयलाई रु ७० लाख र बझाङ्गमा रु ३६ लाख गरी १ करोड ४४ लाख भन्दाबढी दान दिईसक्नु भएको छ । जोशीले हालसालै मात्र आफ्नो जन्मस्थल सुदूरपश्चिमका लागि छात्रवृत्ति स्थापनाको लागि रु १४ लाख भन्दा वढी दान दिने घोषणा गर्नुभएको छ । यसैगरी अमेरिकामा आफनो जीवन जोडिएका विश्वविद्यालयहरू फेरमन्ट विश्वविद्यालय र पिटसवर्गलाई समेत गरी करिब ३ लाख ७६ हजार डलर उहाँले दान दिनुभएको छ । आफूले कमाएको रकमबाट पाँच लाख डलर दान दिने नेपालीमध्ये थोरैमा उहाँ पर्नुहुन्छ । विश्वको जुनसुकै देशमा रहे पनि नेपाल र नेपालीको स्मरण सदैव रहने भएकाले हरेकले आफू जन्मिएको गाउँठाउँका लागि सानो भए पनि सहयोग गरौँ भन्ने आह्वान छ उहाँको । सबै नेपालीलाई जो जहाँ रहे या भए पनि आगामी पुस्ताको मार्ग दर्शक बन्न सकौँ भन्ने सुझाव दिनुहुन्छ जोशी । बझाङको छबिस पथिभेरा गाउँपालिका तामाखानीमा विसं १९९५ मा जन्मिनुभएका प्रा.जोशीले त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर गर्नुभएको हो । उहाँले पछि अमेरिकाको युनिभर्सिटी अफ पिटस्बर्गबाट विद्यावारिधी गर्नुभयो । हाल उहाँ अमेरिकाको वेस्ट भर्जिनियामा बस्नुहुन्छ ।

प्रतिक्रिया