मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

;fd”lxs ?kdf hg} wf/0f algofgL, @& ;fpg . hg} k”l0f{dfsf] cj;/df eb|k’/–( l:yt xl8of lgGbf3f6df ;fd”lxs hg} wf/0f ul/Fb} . e[s’6L o’jf Snasf] cfof]hgfdf ePsf] sfo{qmddf gu/ If]qsf a|fXd0f–If]qL ;d’bfosf k’¿ifx¿n] ;fd”lxs hg} km]/]sf lyP . t:jL/ M ;Gtf]if zdf{, /f;;

काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व शुक्रबार स्नान गरी नयाँ यज्ञोपवीत–जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई ‘श्रावणी’ स्नान पनि भनिन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा यो पर्व मनाउन सुुरु गरिएको हो ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वध्यक्ष प्रा. रामचन्द्र गौतमले बताए ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको नाडीमा बाँधिदिएका छन् । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिएको छ ।

सप्तऋषिहरु काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ । ऋषिलाई तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ ।

वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोका रुपमा मानिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ । अर्को डोराको तीनवटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा लिइन्छ ।

एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारी क्वाँटी बनाएर खाने गरिन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

नेपालको तराईक्षेत्रमा भने दिदीबहिनीले दाजुभाईलाई राखी बाँधेर मनाइएको छ । यसबाट दिदीबहिनी र दाजुभाईकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । यसअवसरमा काठमाडाँैको पशुपति, गोकर्णेश्वर, डोलेश्वर, सन्तानेश्वरलगायत शिवालय, उपत्यकाको उत्तर पूर्वी भेगस्थित मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा मेला लागेको छ ।

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुन्हु पुन्ही भनी मनाएका छन् । विशेषगरी क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि एकथरी संस्कृतिविद्को छ । नेवारी समुदायका मानिसले घण्टाकर्ण राक्षसलाई समाप्त पार्न योगदान गरी मानवीयतालाई बचाउन सहयोग गरेको विश्वासमा भ्यागुतालाई पूजा गरेका छन् ।

बौद्ध दर्शनलाई अँगाल्ने बौद्ध धर्माबलम्वीले भने भगवान् गौतम बुद्धले कामशक्तिमाथि विजय प्राप्त गरेको सम्झनाको दिनका रुपमा मनाउने गर्दछन् । बौद्ध धर्मग्रन्थ ललित बिस्तरमा यससम्बन्धी विस्तृतरुपमा व्याख्या गरिएको छ । यसैकारण स्वयम्भूमा पनि विशेष मेला लागेको छ ।

राजधानीमा गाईजात्राको रौनक

राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ भएको छ ।

विगत दुई वर्षकोभन्दा यसपटक राजधानी सहरमा गाईजात्रा रौनक बढेको देखिन्छ । विगत दुई वर्ष कोरोना महामारीको त्रासका कारण गाईजात्रा भव्य हुन सकेको थिएन । २०७७ र २०७८ सालमा गाईजात्राको विधिमात्र पूरा गरिएको थियो ।

एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ । यसैले वसन्तपुर दरबार क्षेत्रमा गाईजात्राको विशेष उत्सव हुने गर्छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको हो । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

विकृतिका विरुद्ध गाईजात्रा

पञ्चायती व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै २०१७ साल पुस १ गतेको शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशी २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको बताउँछन् ।

हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ । जात्राका क्रममा पाटनमा देखाइने सत्ययुगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ । सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अंक प्रकाशित गरिन्छ ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइन्छ ।

गाईजात्राको दोस्रो दिन भने राजधानीका विभिन्न स्थानमा रोपाइँजात्रा मनाइन्छ । यस वर्ष तिथिको घटबढका कारण रक्षाबन्धन र गाईजात्रा पर्व एकैदिन परेको छ । शुक्रबार बिहान सूर्योदयकालमा पूर्णिमा तिथि र ७ः३० बजेपछि भाद्रकृष्ण प्रतिपदा तिथि लागेकाले दुवै पर्व शुक्रबार नै मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया