आहा ! अकबरे

काठमाडौं । केही समयअघि बजारमा ‘पुनर्जन्म’ चलचित्रको ‘पिरोपिरो अकबरे खुर्सानी…’ भन्ने बोलको गीतले निकै धुम मचाएको थियो । नेपाली जनजिब्रोको भाषामा लोकप्रिय मानिएको र खाँदा पनि निकै पिरो मानिएको अकबरे खुर्सानी शब्दलाई ढालेर उक्त गीत बनाइएको हो । यो गीत त्यतिकै बनाइएको होइन, अकबरे खुर्सानीले पछिल्लो समयमा कमाउँदै गरेको ख्यातीका कारण गीतमा ढालिएको हो ।

औषधीय गुणले भरिपूर्ण अकबरे खुर्सानीको बारेमा बुझ्ने र जान्ने भने निकै कम छन् । कहाँसम्म भने ‘बालकमा हरियो, तन्नेरीमा रातो, मानिसले खायो भने जान्छ, उसको सातो’ भन्ने वाक्यांश पनि यतिखेर गाउँघरमा निकै प्रख्यात बनेको छ ।

हेर्दा डल्ले, गोलो, चुच्चे, लामो चुच्चे, झोले, अकाशे, धेंडे, ठाडो, ज्यानमारा, बयेरे, राँगेलगायतका जेजस्तो नामबाट चिनिने भए पनि यसको सक्कली नाम भने अकबरे खुर्सानी नै हो । विभिन्न जनश्रुतिअनुसार एउटा सिंगो राँगालाई एउटै अकबरे खुर्सानीको पीरोले पुग्छ भनेर राँगे खुर्सानी नामाकरण गरिएको हो ।

यसैगरी पौराणिक कथाहरूका अनुसार राजा अकबर निकै कडा मिजाज र दह्रो राजा मानिन्छन् । त्यही भएर उनकै नामबाट यो खुर्सानीको नामाकरण गरिएको भन्ने पनि गाउँघरमा जनश्रुति पाइन्छ । ‘अकबरे सुनलाई कसी लाउनु पर्दैन’ भन्ने उखानजस्तै यो खुर्सानीलाई दोष लगाउने ठाउँ छैन् । खाँदा मुखै पिरो बनाउने तर, अन्य खुर्सानीले जस्तो पेट नपोल्ने विशेषताको धनी यो खुर्सानीलाई मानिन्छ ।
खुर्सानीमध्ये अकबरे खुर्सानीलाई माथिल्लो बीसभित्र राखिएको छ । धेरै क्याप्सिसिन (पिरोको अत्यधिक मात्रा) को मात्रा भएकाले यो खुर्सानीलाई औषधीय गुणले भरिपूर्ण मानिएको छ । यो खुर्सानीको भने हालसम्म वैज्ञानिक नामकरण गरिएको छैन ।

बिस्तारै बजार छप्पकै छोप्न लागेको अकबरे खुर्सानीको विस्तृत जानकारी, वैज्ञानिक अवस्था, निर्यात, यसमा पाइने विशेष प्रकारका मौलिक गुणहरूको बारेमा भने राज्य मौन छ । पूर्वी नेपालका केही पहाडी जिल्लाका नगदे बालीको रूपमा चिनिएको यसको बारेमा भने हालसम्म सरकारी तवरबाट कुनै अध्ययन र अनुसन्धान गरिएको छैन ।

अकबरे खुर्सानीभित्र पाइने तत्व क्याप्सिसिनका कारण यसलाई प्रशोधन गरेर तयार पारिएको औषधि मानसिक असन्तुलन, मोटोपना, पिनास, थकाइ लाग्ने, हाड तथा जोर्नी दुःखाइ, मधुमेह, अल्सर, ग्यास्टिक लगायतका रोगीका लागि निकै लाभदायक मानिन्छ । यसका साथै क्याप्सिसिनका कारण क्यान्सरको तन्तु मरेको अध्ययनले पुष्टि गरेको छ ।

यति मात्रै होइन, यसको विशेषता । यसको फल धेरै पिरो हुने हुँदा यसको मिठो बास्नाले खानाको रुची पनि बढाउने गर्छ । नेपाल र भारतीय क्षेत्रमा मसलाको रूपमा प्रयोग हुनुका साथै पाकेको फल तोरीको तेल, नुन वा भेनेगारमा डुबाएर मुखै रसाउने गरी स्वादिलो अचार बनाएर घरमा सजाएर राख्ने चलन पनि सुरु भएको छ ।

धुलो बनाएर आवश्यकताअनुसार तरकारीमा हाल्ने पनि त्यतिकै चलन छ । पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवायुवतीहरूले कोसेलीको रूपमा अकबरे खुर्सानीको अचार आपूmसँगै नलगि हुन्न । मुलुककै सबैभन्दा ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारबाट मात्रै साताको एकपटक बैंकक र अमेरिका पनि हरियो अकबरे खुर्सानी ५० देखि ६० किलोसम्म असंगठित रूपमा निर्यात हुँदै आएको छ । अन्य स्थानबाट पनि सोही परिमाणमा विभिन्न मुलुक निर्यात भए पनि कुनै निकायसँग आधिकारिक तथ्यांक भने छैन ।

अकबरे खुर्सानीको लहर भने पछिल्लो १४÷१५ वर्ष यतादेखि सुरु भएको कृषि विज्ञहरूको भनाइ छ । ‘पछिल्लो १५ वर्षदेखि यसले गज्जब तरिकाले बजार पाएको छ’, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का मसला बालीसम्बन्धी विज्ञ दीपा सिंहले भनिन्, ‘यसको मुख्य विशेषता औषधीय गुण नै हो । यसको नियमित सेवनका कारण ग्यास्ट्रिक नहुने जनविश्वासका कारण पछिल्लो समयमा गाउँदेखि सहरसम्म यसको व्यापकता छाएको छ । कतिसम्म भने घरको करेसाबारी, कौसी र गमलामा पनि यसको बोट मज्जाले देख्न सकिन्छ ।’

बिस्तारै बजार छपक्कै छोप्न लागेको अकबरे खुर्सानीको विस्तृत जानकारी, वैज्ञानिक अवस्था, निर्यात, यसका पाइने विशेष प्रकारका मौलिक गुणहरूको बारेमा भने राज्य मौन छ । पूर्वी नेपालका केही पहाडी जिल्लाका नगदे बालीको रूपमा चिनिएको यसको बारेमा भने हालसम्म सरकारी तवरबाट कुनै अध्ययन र अनुसन्धान गरिएको छैन ।

‘अहिलेसम्म यसको बारेमा कुनै अध्ययन भएको छैन’, सिंहले भनिन्, ‘परम्पराकालदेखि यसको खेती भएको पाइए पनि कहिलेदेखि र कसको पालादेखि यसको खेतीको सुरुआत भएको हो भन्ने बारेमा कुनै अध्ययन प्रतिवेदन छैन ।’ तर, विश्वभरमै बिछट्टै प्रकारको पिरोपना भएको अकबरे खुर्सानीको बारेमा भने निकट समयमै नार्कले विस्तृत अध्ययन गर्ने तयारी गरेको छ । हाल नार्कले १ सय ५५ प्रकारको अकबरे खुर्सानीको नमुना संकलन गरेको छ ।

अकबरे खुर्सानीकै विषयमा विद्यावारिधी गरेकी सिंहका अनुसार यो खुर्सानीको स्थल पूर्वी नेपालको इलाम जिल्ला मानिए पनि हालसम्म ठोस प्रमाण भेटिएको छैन । उनका अनुसार करिब एक दर्जनको संख्यामा यसको नामकरण गरिए पनि इलाममा पाइने अकबरे खुर्सानीको जस्तो अन्य स्थानको अकबरे खुर्सानीको स्वाद र वास्ना पाइँदैन ।

अकबरे खुर्सानी नेपालको मौलिक बाली भएको जानकारहरू बताए पनि हालसम्म यससम्बन्धी पनि कुनै तथ्य भेटिएको छैन । ‘अकबरेमा पनि इलामकै मिठो मानिन्छ’, उनले भनिन्, ‘इलामको हावापानीमा हुर्केको अकबरेजस्तो अन्य स्थानको अकबरेमा स्वाद पाइँदैन ।’

१३ सय मिटरदेखि १९ सय मिटरसम्मको उचाइमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सकिने सुझाव दिँदै सिंहले उच्च पहाडदेखि तराई क्षेत्रसम्म समय मिलाएर यसको खेती गर्न सकिने जानकारी दिइन् । तुसारो नपर्ने र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा तल नजाने स्थानमा हिउँदे बालीको रूपमा अकबरेको खेती गर्न सकिन्छ ।

‘अहिलेसम्म समग्र तरकारी र मसला बालीमा यसलाई सम्बोधन गरिएको छ’, उनले भने । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको ४३ जिल्लामा ८ सय ५४ हेक्टरमा ४ हजार २ सय ७८ टन अकबरे खुर्सानी उत्पादन हुन्छ ।

बजारको अवस्था

अकबरे खुर्सानी बजारमा अहिले न्यूनतम २ सयदेखि ६ सय रुपैयाँ प्रतिकिलोसम्म पाइन्छ । अकबरे खुर्सानी बिक्री गर्ने व्यापारीको तथ्यांकलाई आधार मान्ने हो भने न्यूनतम मूल्य अनुसार उपत्यकामा दैनिक तीन लाख मूल्य बराबरको डेढ हजार किलो र कालिमाटी बजारमा दैनिक १ लाख ४० हजार मूल्य बराबरको सात सय किलो अकबरे खुर्सानीको कारोबार हुन्छ ।

धरानस्थित कृषि बजारबाट १२ वर्षको अवधिमा १ हजार ३ सय ४५ मेट्रिक टन अकबरे खुर्सानी बिक्री भएको थियो । अनौपचारिक रूपमा भारत, अमेरिका, बैंककमा अकबरे खुर्सानीको पाउडर, हरियो खुर्सानी र अचार बनाएर निर्यात गरिए पनि यथार्थ विवरण भने पाइँदैन ।

कालिमाटीस्थित अकबरे खुर्सानीका थोक बिक्रेता सन्तोष अधिकारीका अनुसार कालिमाटी बजारमा मुख्य गरी धादिङ, कुलेखानी, दक्षिणकाली, फर्पिङ, झापा, काभ्रेपलाञ्चोक लगायतका स्थानबाट अकबरे खुर्सानी आयात हुन्छ । सुरुआतको समयमा इलामबाट ल्याएर बिक्री गरिए पनि ढुवानी खर्च बढी भएर बिक्रि मूल्य अत्यधिक भएर उपभोक्ताले लिन त्यति नरुचाउँदा अहिले नजिकैको स्थानबाट आयात गर्दै आएको अधिकारीले जानकारी दिए ।

सुरुमा अकबरे खुर्सानीको पाँच किलोबाट व्यापार सुरु गरेका अधिकारीले अहिले दैनिक डेढसयदेखि पाँच सय किलोसम्म बिक्रि गर्दै आएका छन् । अकबरे खुर्सानीको कुल मागमध्ये ९० प्रतिशत कालिमाटी बजारबाट बिक्री भइरहेको बताउँदै अधिकारीले सातामा एकपटक १२ हजार मूल्य बराबरको ५० देखि ६० किलोसम्म हरियो अकबरे खुर्सानी अमेरिका र बैंकक निर्यात भइरहेको जानकारी दिए ।

‘यसको गुणका कारण पछिल्लो समयमा अकबरे खुर्सानीको बजार निकै फराकिलो भएको छ’, अधिकारीले भने । अकबरे खुर्सानीको अचार पनि त्यति नै बढी परिमाणमा विभिन्न मुलुक निर्यात हुने क्रम बढेको छ । आमाको अचार, डुक, नवरस लगायतका नाम चलेका र साना उद्योगहरूले पनि यसको विभिन्न स्वादमा अचार बनाएर स्वदेशी तथा विदेशी बजारमा निर्यात गर्दै आएका छन् ।

आमाको अचार उद्योगकी अध्यक्ष संगीता पाण्डेयका अनुसार वार्षिक करिब ९० लाख रुपैयाँ मूल्य बराबरको अचारको मात्रै कारोबार हुन्छ । पाण्डेयले आपैmँ वार्षिक रूपमा २२ लाख मूल्य बराबरको २० हजार बोतलसम्म विभिन्न प्रकारको अकबरे खुर्सानीको अचार युके, अस्ट्रेलिया र युएसए निर्यात गर्दै आएकी छन् ।

पाण्डेयले डल्लो पेस्ट अचार, डल्ले मसला अचार, तामा डल्ले अचार र ब्राइन डल्ले अचार बनाएर स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्दै आएकी छन् । यस्तो अचारको मूल्य २ सय ३० देखि २ सय ५५ रुपैयाँ तोकिएको छ । स्वदेशी बजारमा भने वार्षिक तीन लाख रुपैयाँसम्मको बिक्री गर्छिन् । ‘स्वास्थ्यप्रति बढी सचेत भएका वर्गले पछिल्लो समयमा निक्कै रुचाएका कारण यसको बजार प्रसस्त मात्रामा फैलिएको छ’, उनले भनिन् ।

मानव स्वास्थ्यमा प्रभाव

० क्याप्सिसिनको कारण क्यान्सरको तन्तु मरेको अध्ययनमा भेटिएको ।

० ग्यास्ट्रिक तथा अल्सरका बिरामीलाई उपयोगी मानिएको ।

० मोटोपना घटाउन सहयोग गर्ने ।

० रगतमा चिनीको मात्रा घटाउने ।

० पिनासका बिरामीलाई लाभदायक ।

० हाडजोर्नी दुःखाइ र अन्य दुःखाइ कम गर्न सहयोग ।

० खुर्सानी मिसाइको परिकारमा किटाणुको संक्रमण कम गराउने ।

० थकाइ मेटाउने ।

प्रतिक्रिया