साफ च्याम्पियनसिपका लागि टिकट दर तय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना हुने महिला साफ च्याम्पियनसिपका लागि टिकट दर निर्धारण गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी बैठकले दशरथ रंगशालामा भदौ २१ गते देखि असोज ३ गते सम्म हुने साफ च्याम्पिनसिपका लागि भिआइपीतर्फ ५ सय र साधारणतर्फ ३ सय रुपैयाँ तोकेको एन्फाका एक पदाधिकारीले जानकारी दिए ।

साफ च्याम्पियनसिपमा दक्षिणा एसियाका सातैं राष्ट्रका टोलीको सहभागिता रहनेछ । नेपालसहित श्रीलंका र भुटान समूह ‘बी’ मा छन् । समूह एमा साविक विजेता भारत, बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन् ।

कुमार थापा मुख्य प्रशिक्षक रहेको टोलीले दोस्रो चरणको ३५ खेलाडीलाई छनोट गरेको छ । यसअघि साफ च्याम्पियनसिपको पाँचौं संस्करण विराटनगरमा भएको थियो । त्यसको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । ५ संस्करणमा नेपाल ४ पटक फाइनलमा भारतसँग नै पराजित भएको थियो । सन् २०१५ मा भने नेपाल भारतसँग सेमिफाइनलमा रोकिएको थियो ।

प्रतिक्रिया