पुस्तक प्रदर्शनीमा बढ्दो चासो

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक गरेको पुस्तक प्रदर्शनीमा कलापारखी, लेखक, इतिहासकार तथा अनुसन्धानकर्ताको भीड बढिरहेको छ । प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक, पत्रपत्रिका, क्याटलग, प्रतिवेदन लगायतका सामग्री राखिएको छ । नाफा–पुस्तक प्रदर्शनी व्यवस्थापन समितिका संयोजक प्राज्ञ रमेशनाथ खनालका अनुसार कलाकार र कलापारखी, कलाअनुरागी, साहित्यकार, नाट्यकर्मी, छायांकार, लोककलाकार, मूर्तिकार एवं संस्कृतिकर्मीले विशेष चासोका साथ अवलोकन गर्दै विभिन्न पुस्तक संकलन गरेका छन् ।

प्राज्ञ खनालले भने, ‘नेपाली कलालाई आममानिससम्म पु¥याउने लिखित सामग्रीको प्रदर्शनीमा पाठक तथा कलापारखीको बढ्दो रुचिले हामीमा उत्साह भरेको छ ।’ ‘साठी प्रतिशतसम्म छुटमा ललितकलासम्बन्धी पुस्तकहरु संकलन गर्ने अवसर पाएँ धेरै खुसी लागेको छ । बजारमा ललितकलाका विषयमा छापिएका पुस्तक निकै कम पाइन्छन् । प्रतिष्ठानको यो पुस्तक प्रदर्शनी हाम्रो लागि महत्वपूर्ण सावित भएको छ,’ विद्यार्थी चन्द्रिका महर्जनले भनिन् ।

कला समाजको दर्पण भए पनि नेपालको बहुआयामलाई बुझ्ने कृतिको प्रदर्शनीमा रहेको नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले बताए । उनले भने, ‘प्रतिष्ठानले आयोजना गरेको ललितकला पुस्तक प्रदर्शनी धेरै अर्थमा सार्थक भएको छ । विद्यार्थीदेखि सर्वसाधारणले प्रशस्तै लाभ उठाइरहेको मैले पाएँ ।’ खनालले नेपाली कलाका विविध आयाम र चिन्तनलाई बुझ्ने कृति प्रदर्शनीमा राखिएको जनाउँदै कलालाई समाजसँग जोड्न लेखनले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खोज अनुसन्धानसँगै कृति प्रकाशनमा समेत प्रतिष्ठानले विशेष ध्यान दिन जरुरी छ ।’

प्रदर्शनीमा बारम्बार गरिरहनुपर्ने विचार राख्दै कलाकार जया शर्माले प्रतिष्ठानले प्रकाशन गरेका महत्वपूर्ण कृति आमपाठकसम्म पुर्याउनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘प्रतिष्ठानले बेलाबेलामा यस्ता प्रदर्शनी गरिरहनु पर्दछ । प्रकाशित भएका पुस्तकहरु विद्यार्थी एवं सर्वसाधारणसम्म पु¥याउन अझै प्रचार प्रसार गर्नु आवश्यक छ । यहाँ धेरै महत्वपूर्ण पुस्तक साठी प्रतिशत छुटमा मैले खरिदसमेत गरेँ ।’

प्रदर्शनी व्यवस्थापन समितिका संयोजक प्राज्ञ खनालले दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनी सञ्चालन भइरहेको जनाए । उनका अनुसार अहिलेसम्म तीन हजार बढीले प्रदर्शनी अवलोकन गरिसकेका छन् । उनले भने, ‘यस पटकको पुस्तक प्रदर्शनी हाम्रो पहिलो अनुभव हो । यहाँ बिक्री भएको रेकर्डले हामीलाई धेरै उत्साहित बनाएको छ । आगामी दिनमा ललितकला पुस्तक प्रदर्शनी पटक पटक आयोजना गर्नुपर्ने बोधसमेत भएको छ ।’

प्रतिष्ठानका कुलपति केके कर्माचार्यले पुस्तक प्रदर्शनीमार्फत नेपालको ललितकला क्षेत्रलाई आममानिस समक्ष लैजाने अभियान थालिएको बताए । उनले नेपाली कलालाई बुझ्न र समाजमा यसको प्रभावलाई व्यापक बनाउन पनि प्रदर्शनी निकै सफल भएको धारणा व्यक्त गरे । कुलपति कर्माचार्यले भने, ‘कला प्रदर्शनी बारम्बार भइरहन्छन तर कलासम्बन्धी प्रकाशनमा आएका कृतिलाई पनि आमपाठक समक्ष पु¥याउने ध्येयका साथ प्रदर्शनी गरिएको हो ।
आमपाठकको अभिरुचि हेर्दा कलाप्रतिको चासो र अभिरुचि निकै बढेको अनुभूत गर्न सकिन्छ ।’ ‘ललितकलासम्बन्धी पुस्तकहरु अनुसन्धानमा नपाइने हुँदा खोज अनुसन्धानमा लाग्ने जोकोहीलाई धेरै नै गाह्रो हुन्थ्यो । प्रतिष्ठानले पुस्तक प्रदर्शनीमार्फत वातावरण सहज बनाइदिएको छ । त्यसका लागि हामी प्रतिष्ठानप्रति अनुगृहित छौँ,’ अनुसन्धानकर्ता कलाकार गणेश जिसीले भने ।

प्रदर्शनीका संयोजक प्राज्ञ खनालले प्रतिष्ठानले पुस्तक प्रदर्शनी व्यवस्थापन गर्न एक समिति बनाएको बताए । उनका अनुसार समितिमा प्राज्ञ मिथिला देवी, बुद्धिबहादुर गुरुङ, प्राज्ञसभा सदस्य गजेन्द्रमान श्रेष्ठ, प्राज्ञसभा सदस्य सञ्जय वान्तवा, कर्मचारी कमलमणि काफ्ले, पुरुषोत्तम न्यौपाने, सविना पोखरेल, दुर्गा गोतामे र सरस्वती शाही ठकुरी सदस्य रहेका छन् । साउन १५ गतेदेखि सुरु भएको उक्त प्रदर्शनी ४ भदौसम्म रहने प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया