भक्तपुरका भ्यागुताहरूलाई भोज !

भक्तपुर । भ्यागुतालाई पनि भोज दियो भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, भक्तपुरमा बिहीबार यस्तै अपत्यारिलो घटना भएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको दिन यहाँ यसरी नै आआफ्नो खेतमा पुगेर किसानहरूले भ्यागुतालाई भोज खुवाउँछन् । यो दिन क्वाँती (विभिन्न गेडागुडीको मिश्रणबाट तयार पारिएको परिकार) बनाएर खाने चलन छ । यस्तो परिकार पहिला भ्यागुतोलाई खुवाइन्छ । भोजको लागि किसानहरू बिहान आआफ्नो खेतमा भोजन लिएर पुग्छन् ।

भ्यागुतालाई भोज खुवाउने भनेपछि भ्यागुतोलाई नै हातमा लिएर खुवाउने हो कि ? भन्ने प्रश्न मनमा आउन सक्छ । तर होइन, भ्यागुताको भोज घरमै तयार गरेर खेतको डिलमा राखेर आउने चलन हो । भ्यागुतालाई भोज खुवाउने परम्परालाई स्थानीय किसानहरू नेपाल भाषामा ‘व्यां चा जानक वानेगू’ अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने भनेर चिन्छन् । जहाँ ‘व्यां’को अर्थ भ्यागुतो र ‘जानक वानेगू’को अर्थ खाना खुवाउन जाने भन्ने हो ।


बिहीबार बिहानैदेखि आआफनो खेतमा पुगेर भ्यागुतालाई भोज खुवाउन जाने किसानहरू जताततै भेटिएका थिए । एकाबिहानै खेतखेतमा पुगेर किसानहरू आफ्ना खेतका भ्यागुतालाई भोज खुवाउन हिँडेका थिए । कोही हिँडेर, कोही साइकलमा त कोही मोटरसाइकलमै चढेर पनि भ्यागुतालाई भोज खुवाउन गएको देखिन्थ्यो ।

बिहानै सूर्यविनायकस्थित नौतेस्थित आफ्नो खेतमा भ्यागुतालाई भोज दिन पुगेकी लक्ष्मी महर्जनले परम्पराअनुसार प्रत्येक वर्ष जस्तै आफ्नो खेतका भ्यागुतालाई भोज खुवाउने हिँडेको बताइन् । परम्पराअनुसार खेतमा पुगेर भ्यागुताको भोज खेतमा छोड्ने चलन छ । भ्यागुताको भोजको परिकारलाई पातमा राखेर आ–आफ्नो खेतमा छोड्ने परम्परा छ ।

भोजका परिकारमा क्वाँती, फलफूल, चामलको भात, सुपारी लगायतका खाद्य सामग्री हुन्छ । खाद्यान्नका साथै किसानले भ्यागुतालाई शृंगारपटारका सामान पनि लिएर जाने परम्परा छ । मुलालाई काटेर सिन्काले चोपेर तयार पारिनुलाई भ्यागुताका लागि ऐना नाम दिँदैँ आएको छ ।

भ्यागुतालाई भोज राखिदिएपछि राख्न जाने किसानले पनि त्यही खेतमै भोज खाएर आउने चलन छ । यसका लागि घरबाट खेत जानु अगाडि नै भ्यागुतालाईसहित आपूmलाई पनि रोटी, क्वाटीसहितको परिकार लिएर खेत जाने चलन अझैसम्म जस्ताको तस्तै छ ।

संस्कृतिविद् डा.वीरेन्द्र कायस्थले किसानको सहयोगीको रूपमा रहेकोले भ्यागुतालाई सम्मानका साथ भोज खुवाउने परम्परा चलिआएको सुनाए । आफ्नो बालीनाली संरक्षणमा सहयोग गरेको कदर गर्दै किसानले भ्यागुतालाई वर्षमा एकपटक भोज खुवाउने परम्परा अहिले पनि जस्ताको तस्तै रहेको इतिहासविद् डा. कायस्थ बताउँछन् ।

प्रतिक्रिया