चीनद्वारा दुवै नाका बन्द

काठमाडौं । कोभिड–१९ को संक्रमण बढ्ेको बहानामा चीनले नेपालतर्फको दुवै स्थल नाका बन्द गरेको छ । तिब्बत क्षेत्रमा संक्रमण बढ्दै गएको भन्दै चीनले घोषित रूपमा तातोपानी र रसुवागढी नाका बन्द गरेको नेपाली भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमका अनुसार केही दिनसम्म छिटफुट रूपमा सञ्चालनमा आएको तातोपानी नाका बुधबारदेखि चिनियाँ प्रशासकले बन्द गरेका छन् । रसुवागढी नाकाबाट गत शनिबार र तातोपानी नाकाबाट बुधबारदेखि मालसामान आउन बन्द भएको छ ।

‘आधिकारिक रूपमा हामीलाई कुनै जानकारी दिइएको छैन, कोभिड–१९ को संक्रमण बढेको विषयमा मात्रै जानकारी दिएका छन् । बुधबार तातोपानी नाका बन्द भएको छ’, गौतमले भने, ‘मंगलबारसम्म तातोपानी नाका भएर २÷३ वटा मालबाहक सवारी साधन आए पनि बुधबार भने पूर्ण रूपमा ठप्प छ ।’

तिब्बतमा कोरोना संक्रमण बढ्दै गएका कारण ल्हासाबाट खासातर्फ कुनै पनि प्रकारको सवारी साधन नपठाइएको जानकारी प्राप्त भएको गौतमले बताए । रसुवागढी भन्सार कार्यालयका प्रशासक डा. रामप्रसाद मैनालीका अनुसार रसुवागढी नाका पनि बन्द भएको छ । उनका अनुसार शनिबारदेखि चीनतर्फबाट उक्त नाकामा कुनै पनि प्रकारको सबारी साधन आएको छैन ।

‘तिब्बततर्फ लकडाउन भएको अपुष्ट जानकारी प्राप्त भएको छ । शनिबारदेखि रसुवागढी नाका ठप्प छ’, मैनालीले भने । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले त्यस क्षेत्रमा झण्डै लकडाउनकै अवस्था रहेको मौखिक जानकारी गराएको मैनालीले बताए । तर, नाका बन्दको अग्रिम जानकारी नदिई एक्कासि मालसामानको ढुवानी रोकिएको उनको भनाइ छ ।

नाका बन्द भएपछि व्यापारीहरू पनि सम्पर्कमा नआएको र चीनतर्फ के–कस्ता मालसामान बाटोमा रोकिएका छन् भन्ने यकिन हुन नसकेको रसुवागढी भन्सार कार्यालयले जनाएको छ । यता तातोपानीको खासातर्फ भने कुनै मालवस्तु नरहेको त्यहाँका भन्सार प्रमुख गौतमले बताए । कोभिडको संक्रमण दर बढ्दै गएपछि पहिलो चरणमा चीनतर्फको स्थानीय जिल्लाहरूले आठ दिनका लागि नाका बन्द गर्ने निर्णय गरेको अपुष्ट जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘मलाई आएको अनौपचारिक जानकारीमा कोभिड–१९ ले गर्दा नाका बन्द भएको भन्ने छ, थप हामी बुझ्दैछौँ’, प्रजिअ जैसीले भने । नेपालीको ठूलो चाडपर्व दसैं, तिहार र छठ नजिकिँदै गर्दा ती दुवै चिनियाँ नाका बन्द भएपछि अघिल्लो वर्षजस्तै नेपाली उपभोक्ताले चीनबाट आयातित उपभोग्य सामान प्रयोग गर्न नपाउने व्यवसायीहरूले बताएका छन् ।

प्रतिक्रिया